Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

राष्ट्रपति बाइडेनले एसिया हेर्न रोजे कूटनीतिज्ञ डोनाल्ड लू

संयुक्त राज्य अमेरिकाले दक्षिण तथा मध्य एसियामा बढ्दो चिनियाँ प्रादुर्भावका बीच यस क्षेत्रलाई विशेष सम्बोधन गर्नका लागि एकजना परिपक्व तथा सफल कूटनीतिज्ञको चयन गरेको छ । 

 

राष्ट्रपति जो बाइडेनले कूटनीतिज्ञ डोनाल्ड लूलाई दक्षिण तथा मध्य एसिया ब्यूरोको जिम्मेबारी दिएका हुन् । उनी यस क्षेत्रको रणनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताका जानकार र अनुभवी कूटनीतिज्ञ हुन् ।

 

डोन लु विगत २५ वर्षदेखि कूटनीतिक क्षेत्रमा कार्यरत छन् । ‘म धेरै खुसी छु कि डोन लु साउथ एण्ड सेन्ट्रल एसिया मामिला ब्युरोका प्रमुख हुनुभएको छ,’ नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले उल्लेख गरेका छन् ।

 

 

दक्षिण तथा मध्य एसिया मामिला ब्युरोका प्रमुखअन्तर्गत अफगानिस्तान, बंगलादेश, भुटान, भारत, किर्गिस्तान, कजाकिस्तान, पाकिस्तान, श्रीलंका,, नेपाल लगायत देशहरु पर्दछन् । ती देशमा अमेरिकाको विदेश नीति र सम्बन्धहरुको जिम्मेवारी उक्त ब्युरोको प्रमुखलाई हुने गरेको छ । 

 

डोनाल्ड लुको जन्म सन् १९६६ मा अमेरिकाको क्यालिफोर्नियामा भएको थियो । उनी भारतको नयाँ दिल्लीको अमेरिकाको दूतावास मिसनका तत्कालीन उपप्रमुख थिए । सन २०१४ देखि २०१८ सम्म उनी अल्बानियमा अमेरिकी राजदूत थिए । यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई २४ मे २०१८ मा किर्गिस्तानको राजदूतको रुपमा नियुक्त गरेका थिए । २३ अप्रिल २०२१ मा उनलाई राष्ट्रपति बाइडेनले दक्षिण तथा मध्य एसिया प्रमुखको रुपमा नियुक्त गरेका हुन् ।

 

डोनाल्ड लुले १९८८ मा प्रिन्सटन विश्वविद्यालयकोप्रिन्सटन स्कुल अफ पब्लिक एन्ड इन्टरनेशनल अफेयर्सबाट मानवतावाद सहयतामा अन्तर्राष्ट्रिय शान्ति व्यवस्थाको भूमिका विषयमा स्नातक गरेका थिए । सन् १९९० मा उनी अमेरिकाको विदेश सेवामा संलग्न भएका थिए । त्यसपछि उनी विभिन्न देश जस्तै, पाकिस्तान, भारत, जर्जिया, किर्गिस्तान, अजरबैजान लगायत देशमा रहेका अमेरिकी विभिन्न निकायमा रही काम गरिसकेका छन् । 

 

 

डोनाल्ड लुको नियुक्तिसँगै अब नेपालमा एमसीसीअन्तर्गतको सहयोग कसरी अघि बढ्छ भन्ने चासो पनि बढेको छ । डोनाल्डलाई अन्य देशमा अमेरिकी नीति प्रभावकारी कार्यान्वयनसँगै नेपालमा एमसीसी सहायता अघि बढाउने चुनौती रहेको छ । 

 

नेपालमा अमेरिकी सहायता एमसीसीको विषयमा लामो समयदेखि विवाद छ । सत्तारुढ गठबन्धन दलहरुमा नै एकमत नहुँदा कारण पनि यो संसदबाट पारित हुनसकेको छैन । तर, अमेरिकाले भने एमसीसी सहायतालाई चाँडो कार्यान्वयन गर्न नेपाललाई ताकेता गर्दै आएको छ । 

 

हालै मात्र एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुनारले नेपाल भ्रमण गरेकी थिइन् । चार दिने आफ्नो भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल लगायत नेताहरुसँग भेट गरेकी थिइन् । 

 

तर, गठबन्धनका दल र विपक्षी दलका नेताहरुले एमसीसीका विषयमा देखिएका आशंका निवारणपछि र सर्वसहमतिबाट पारित गर्न सकिने जवाफ दिएका थिए । त्यसकारण पनि नेपालमा सहजै एमसीसी सहायता कार्यान्वयन हुने देखिँदैन । हाल दक्षिण तथा मध्य एसिया प्रमुख नियुक्त भएका डोनाल्ड लु लाई एमसीसी कार्यान्वयन चुनौती हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै