विदा भए जर्मन राजदूत सेफेर, यी कारणले स्मरणिय रहनेछ कार्यकाल
नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर आफ्नो चार वर्षे कार्यकाल समाप्तिसँगै बिहीबार काठमाडौंबाट विदा भएका छन् । परराष्ट्र सचिव भरतराज पौडेलले मायाँको चिनो दिँदै राजदूत सेफरको विदाई गरेका थिए ।
२०७५ जेठमा तत्कालिन राजदूत माथियस मायर तीनवर्षे कार्यकाल सकेर कारमै स्वदेश फर्किएका थिए । ११ हजार किलोमिटरभन्दा बढी कारयात्रा गर्ने क्रममा नेपालको पश्चिमीनाका महेन्द्रनगर हुँदै भारत, पाकिस्तान, इरान, टर्की, अर्मेनिया, ग्रिस, इटली, स्विजरल्यान्ड हुँदै ह्यामवर्ग, जर्मनीको यात्रा गरेका थिए । लामो यात्राको शौख रहेका मायरको स्थानमा सेफेर राजदूतमा नियुक्त भएका हुन् ।
सेफेरको कार्यकालमा जर्मनीले नेपालीलाई केही ठूलो सहयोगहरु गरेको छ । कार्यकालको अन्तिममा रहेका बेला उनको पहलमा जेठ अन्तिममा जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने घोषणा गरेको थियो ।
जुन उनको कार्यकालको सबैभन्दा स्मरणिय कार्य हुनेछ ।
नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराएको थियो ।
राजदूत सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त सहयोग नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका खर्च हुनेछ ।
त्यसअघि राजदूत सेफेरको पहलमा जर्मन सरकारले नेपाललाई ६२ थान भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।
नेपाललाई जर्मन सरकारले ६२ वटा भेन्टिलेटर, २७ हजार ५ सय एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, एक सय गम बुट, दुई सय बडी ब्याग, पाँच वटा आइसोलेशन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट दिएको थियो ।
त्यसबाहेक राजदूत सेफेरले परराष्ट्र मन्त्रालय तथा नेपाली राजनितिज्ञहरुसँग निकटको सम्बन्ध भएका थिए । उनी विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय हुँदै आएका थिए ।
प्रतिक्रिया