Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

कर्णाली प्रदेशमा शाही भर्सेज कँडेल, तीनवर्षपछि विवाद ज्यूँका त्यूँ 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध उनकै दलका प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव ल्याएपछि केन्द्रमा राजनीतिक दौडधुप बढेको छ । 

 


नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबिच सोमबार भएको बैठकमा समेत यही विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ ।

 

 
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको  वामगठबन्धनबिच भएको सहमति एकाएक कर्णाली प्रदेशमा तोडिएपछि केन्द्रको राजनीतिमा अझै तुस बाँकी रहेको प्रष्ट भएको छ ।

 

 

त्यसबेला संघिय सरकार र प्रदेश सरकार बनाउँदा एमाले र माओवादीबिच भागवण्डा भएको थियो। काठमाडौंमा शीर्ष तहमा भएको सहमतिअनुसार कर्णाली प्रदेशमा  तत्कालीन माओवादीले मुख्यमन्त्रीमा शाहीलाई अघि सारेको थियो । 

 

 

त्यसबेला कर्णाली नाम तय नभइसकेको प्रदेश ६ मा तत्कालीन एमालेले यामलाल कँडेललाई प्रदेशसभा संसदीय दलको नेता चुनिसकेको थियो। कँडेल गठबन्धनका तर्फबाट दलको नेता शाहीलाई छाड्न तयार थिएनन् । पछि केन्द्रको दबाबमा आधा–आधा कार्यकालमा सहमति जुटेपछि कँडेल पछि हटेका थिए । अहिले यही सहमति कार्यन्वयनका लागि कँडेल अघि बढेका छन् । 

 

 

उनकै योजना अनुसार प्रदेशसभामा रहेका नेकपाका १८ जना सदस्यले शाही बिरुद्ध अविश्वास प्रस्ताव ल्याएका छन् । विवाद यही रोकिएको छैन् । आफु बिरुद्ध अविश्वासको प्रस्ताव आएपछि  मुख्यमन्त्री शाहीले संसदीय दलको नेताको हैसियतमा प्रमुख सचेतक गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाए । 

 

 

अविश्वास प्रस्ताव ल्याउने नेकपाका प्रदेश सभा सदस्यहरूमा १५ जना पूर्वएमाले र तीनजना पूर्वमाओवादीतर्फका छन् ।  ४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ सदस्य छन् । जसमध्ये २० जना पूर्वएमाले र १३ जना पूर्वमाओवादीका छन् ।  बाँकी ६ सदस्य नेपाली कांग्रेस र एकजना राप्रपाका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै