प्रहरी पोशाकमा भेटिएको थियो ५० राउण्ड गोली
प्रहरी सेवाबाट केही समयअघि अवकाश भएका नायब निरीक्षक (सई) रामचन्द्र राई (आरसी) को प्रहरी ज्याकेटमा ५० राउण्ड गोली बरामद भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान तर्फ जाँच गर्दा दर्ज्यानी चिन्ह सहित आरसी राई लेखेको प्रहरी ज्याकेटको खल्तीमा सर्ट मेशीन गन (एसएमजी) र पेस्तोलमा प्रयोग हुने नाइन एमएमको गोली बरामद भएको हो ।
विमानस्थल प्रहरीले राईका छोरा झापा मेचीनगर–२ का बद्रीहाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
विमानस्थल प्रहरीका अनुसार राईले छोरा र श्रीमतीलाई काठमाडौंबाट ज्याकेट ल्याईदिन भनेको थिए । उनको ज्याकेटको खल्तीमा एककेश गोली बरामद भएको हो ।
प्रहरी सेवाबाट अवकाश भएका उनीसँग कसरी ठुलो संख्यामा गोली भेटियो भन्ने बिषयमा विमानस्थल प्रहरीले अनुुसन्धान गरिरहेको छ ।
राई झापामा छन् । श्रीमती र छोरा १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए ।
सुरक्षा जाँचको क्रममा उनीबाट ९ एमएम पेस्तोलमा लाग्ने गोली बरामद गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको एसएसपी बास्तोलाले बताए ।
प्रतिक्रिया