Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

मानव बेचबिखन नियन्त्रणमा जिप्रका कैलाली सर्वोत्कृष्ट, मन्त्रालयले गर्यो सम्मान 

जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ।

 

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेकोले आज महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको हो । 

 

पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका माननीय सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयका सचिव याम कुमारी खतिवडाले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई उक्त सम्मान प्रदान गरेका हुन्।

 


१५औं मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा यही भदौ २० गते मन्त्रालयले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा जिप्रका कैलालीले उल्लेखनीय कार्य गरेको मूल्याकंन गर्दै सर्वोत्कृष्ट घोषणा गरेको थियो। 

 


जिप्रका कैलालीले विगत एक वर्षमा मानव बेचबिखन तथा ओसार पसार गरेको कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानब बेचबिखनका साथसाथै जबरजस्ती करणीमा समेत चलाएको थियो । 

 


त्यसैगरी यस अवधिमा जिप्रका कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ वर्षीय बालिकालाई भारतको बैंगलोरबाट उद्धार गरी पारिवारिक पुनर्मिलन गराई दोषी उपर मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीमा मुद्दा चलाएको थियो । 

 


सोही अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न संघ संस्था संगको  सहयोग र समन्वयमा ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १२६ जनालाई सिमा नाकाबाट उद्दार गरी परिवारमा फर्काईएको थियो भने ३ महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई बेवारिसे तथा अलपत्र अवस्थामा फेलापारी निजहरुको उद्दार तथा पारिवारिक पुनर्मिलन गराएको थियो  । 

 


मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतना मूलक कार्यक्रमहरु गर्नुका साथै शान्ति पुनरस्थापना गृह, माइती नेपाल जस्ता संघ संस्थाहरु संग समन्वय तथा सहकार्य गरी सीमा निगरानी, उद्दार, राहत, निशुल्क कानुनी परामर्श जाहेरी लेखन, औषधी उपचार, सुरक्षित आवास, मनोविमर्श, पारिवारिक पुनर्मिलन जस्ता सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै