तातोपानी नाकामा बरामद ‘जंगी पोशाक’ ले खुलायो ठेक्काभित्रका रहस्य
नेपाल–चीन सीमा सिन्धुुपाल्चोकको तातोपानी नाकामा भन्सार कार्यालयले पुसको पहिलो साता नेपाली सेनाले लगाउने पोशाकसँग मिल्दोजुल्दो कपडा बरामद गर्यो । भन्सारले ब्यापारीले मगाएको कपडा सेनासँग मिल्दो देखिएपछि उसले त्यसको भन्सार पास दिन मानेन । कपडा आफ्नै रोहबरमा राखेर सोधखोज अघि बढायो ।
सेनाकै पोशाकसँग मिल्दोजुल्दो कपडा चीनबाट आयात हुन लागेपछि यस विषयमा तातोपानी भन्सार कार्यालयले गृह मन्त्रालयदेखि नेपाली सेनासम्मलाई परिपत्र गरेको थियो । तातोपानीका प्रमुख भन्सार अधिकृत नारदप्रसाद गौतमले गृह मन्त्रालयलाई पत्र लेखेर सोधखोज गरे ।
उनका अनुसार सेनाको ड्रेससँग मिल्ने २९ सय मिटर कपडा नाकामा आइपुगेको हो । ‘यस्तो कपडा सेनाबाहेक अन्यले आयात गर्न नमिल्ने भएकाले जाँचपास रोकेका छौं,’ गौतमले भने, ‘गृह मन्त्रालयलाई परिपत्र गरेका छौं ।’
उक्त कपडा सतिदेवी इन्टरप्राइजेज गोंगबुले आयात गरेको उनले जानकारी दिए । आयातकर्ताले कुन प्रयोजनका लागि कपडा आयात गरेको भनी खुलाएका छैनन् ।
सेनाको ड्रेससँग मिल्ने कपडा आयात अन्य व्यक्तिले गर्न पाउँदैनन् । त्यसका लागि सेनाले निश्चित ठेकेदारलाई जिम्मा दिएको हुन्छ । हाल ठेकेदार कम्पनीले सेनाका लागि यस्तो कपडा कोरियाबाट आयात गर्दै आएको सैनिक स्रोतले जानकारी दिएको छ ।
यसबारेमा नेपाली सेनालाई पनि भन्सार कार्यालयले परिपत्र गरेपछि सेनाले आफ्नो तरिकाले अनुसन्धान थाल्यो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले भन्सार कार्यालयबाट उक्त कपडा सैनिक ड्रेससँग मिल्ने–नमिल्ने स्पष्ट पारिदिन भन्दै पत्र आएको त्यहीबेला पर्दाफासलाई पुष्टि गरेको थियो । सेनाले कपडाको नमुना लिएर सभ्भारथी विभागमा दियो । विभागले तातोपानी नाकामा रोकिएको कपडा सेनाको क्यामोफ्ल्यागसँग नमिल्ने रिपोर्ट दिएको छ ।
सेनाले आफ्ना कपडा आयातका क्रममा व्यहोरा खुलाएर इजाजत पत्र दिने गरेको छ । त्यही आधारमा ठेकेदार कम्पनीले भन्सार जाँचपास गराएर कपडा भित्र्याउँछन् । तर, तातोपानी नाकाबाट भित्र्याउन लागिएको कपडाका लागि सेनाले कुनै इजाजत पत्र नदिएकाले कुन प्रयोजनका लागि नेपाल भित्रिँदै थियो भन्ने प्रश्न उठेको हो ।
यस्तो कपडाको दुरुपयोग पनि हुनसक्ने भएकाले यसतर्फ पनि सेनाले जाँच थालेको सैनिक स्रोतको भनाइ छ । अर्कोतर्फ यस्तो कपडा आयातमा कतै सेनाले नै जिम्मेवारी दिएको ठेकेदार कम्पनीको संलग्नता छैन भन्ने आशंका पनि बढेको छ ।
सेनाले निश्चित गुणस्तरको कपडा आयातका लागि ठेक्का दिएको छ । तर, मिलेमतोमा कम गुणस्तरको कपडा अन्यत्रबाट आयात गरेर सेनालाई दिने गरी चलखेल भएको हुनसक्ने आशंका पनि बढाएको छ ।
नेपाली सेना र सशस्त्र प्रहरी बलले पोशाकका लागि ठेकेदार चयन गरेको पत्र
ठेकेदारमाथि पहिलो आशंका
नेपाली सेनाका लागि यस वर्षभित्र १८ करोड १० लाख रुपैयाँ बराबरको क्यामोफ्ल्याग कपडा आपूर्तिको ठेक्का जयसलिना र एडी सप्लायर्स जेभीले पाएको छ । यो कम्पनीले नेपाली सेनाका लागि आवश्यक पर्ने चुस्ता (क्यामोफ्ल्याग) नेपालमै उत्पादन गर्ने भनेर ठेक्का लिएका थिए । सरकारको नीतिअनुसार नेपालकै उत्पादन भए ठेक्कामा सहुलियत सहित १५ प्रतिशतसम्म कबोल रकममा बढेर ठेक्का दिने अधिकार कानूनमा छ ।
जयसलिना र एडी सप्लायर्सले उक्त चुस्ता नेपालकै वीरगन्जमा रहेको कोहिनुर टेक्सटाइल उद्योगमा उत्पादन गर्ने भनेर १० प्रतिशत महंगो दरमा ठेक्का पाएका थिए । चुस्ता उत्पादन गर्ने कोहिनुरको सहमति र टेक्सटाइलको उद्योग भ्रमणपछि नेपालमै उत्पादन हुने राय दिएपछि जयसलिना र एडी सप्लायर्र्सलाई ठेक्का दिएको थियो ।
यस्तै यही कम्पनीलाई सशस्त्र प्रहरी बल नेपालले समेत १६ करोड नौ लाख ३४ हजार रुपैयाँ बराबरको चुस्ता (क्यामोफ्ल्याग) को ठेक्का सेना अघि दिएको थियो । र सशस्त्रका लागि पनि नेपाली उत्पादनका नाममा सेनाले जस्तै वीरगञ्जकै कोहिनुर टेक्सटाइल उद्योगमा उत्पादन हुने भनिएको थियो ।
‘नेपालमा रहेको उद्योगले वार्षिक १० लाख मिटर कपडा उत्पादन गर्छ भन्ने विश्वास गर्न कठिन छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले पर्दाफाससँग भने, ‘अहिलेको घटनामा यो समूहको संलग्नता नरहे पनि उत्पादनमा मिसावट हुने सम्भावना बढी छ, हामी सूक्ष्मरुपमा हेर्दै छौं ।’
ती अधिकारीका अनुसार सरकारले लिएको सुविधाको नीतिमा ठेकेदारहरुले खेल्नसक्ने सम्भावना छ । र उनीहरुले उत्पादनको गुणस्तरदेखि उद्गम स्थलसम्ममा खेलिरहेका छन् ।
‘यसअघि प्रहरीले दिएको ठेक्कामा क्राउन टेक्सटाइलबाट समेत यस्तै घटना भएको हो,’ स्रोतले पर्दाफाससँग भन्यो, ‘त्यसबेला पीताम्बर मुन्का र नरेन्द्रनाथ पौडेल पक्राउ परे, नेपालको उद्योग देखाउने अनि माल भारत र चीनबाट ल्याउने घटना भइरहेका छन् । ’
सैनिक पोशाक प्रयोगसम्बन्धमा गृह मन्त्रालयले जारी गरेको निर्देशन
दोस्रो आशंका भूमिगत समूह
तातोपानी भन्सारले गृह मन्त्रालय र सेनालाई पत्र लेखेपछि यतिबेला प्रहरीको र सेनाको बेग्लाबेग्लै टोलीले नाकामा बरामद जंगी पोशाकको विषयमा अन्ुसन्धान गरिरहेका छन् ।
प्रहरीको उच्च स्रोतका अनुसार अहिलेसम्म त्यस्तो कुनै पुष्टि हुन सकेको छैन । चुस्ताको क्यारिङ गर्ने सतिदेवी इन्टरप्राइजेज गोंगबुका सञ्चालक ईश्वर न्यौपानेसँग प्रहरीले गरेको सोधपुछमा उनले त्यो कपडा काठमाडौंका ब्यापारीले मगाएको बताएका छन् ।
‘सरकारले २०७६ मै जंगी पोशाक आधिकारिक बाहेकले ल्याउन र लगाउन रोक लगाएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘यसरी अवैध रुपमा किन भित्राउन खोजियो भन्ने आशंकापछि अनुसन्धान गरिरहेका छौं ।’
गृह मन्त्रालयले १३ साउन २०७६ मा सुरक्षाकर्मीसँग मिल्दोजुल्दो पोशाक लगाएर आपराधिक गतिविधिमा संलग्न हुने घटना बढेपछि सेनाको आग्रहमा रोक लगाएको थियो । गृहको पत्रमा सेनासँग मिल्दो कपडा सुरक्षा गार्डदेखि सर्वसाधारणसम्मले लगाउन थालेको भन्दै सेनाले पत्र लेखेको थियो ।
प्रतिक्रिया