१० ग्राम* ब्राउनसुगरसहित झापाबाट पक्राउ परे श्रीमानश्रीमती
झापाको मेचिनगर नगरपालिका–१३ चारआली बजारबाट प्रहरीले बुधबार लागूऔषध कारोबारमा संलग्न श्रीमान र श्रीमतीलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेचिनगर–१ बाहुनडाँगीका २१ वर्षीय सुजन राजपुत र उनकी श्रीमती १८ वर्षीय पूजा राजपुत रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।
उनीहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो कलरको लिसाईलो पदार्थ १० ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, झापाकै बुद्धशान्ति गाउँपालिका–३ स्थित बुधबारे चोकबाट ईलाका प्रहरी कार्यालय बुधबारे र लागूऔषध नियन्त्रण व्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका ४१ वर्षीय दिनेश कुमाललाई पक्राउ गरेको छ ।
कुमालको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरोरंगको लिसाईलो पदार्थ ४ ग्राम र नगद ४ हजार बरामद गरिएको छ । सोही स्थानका ४३ वर्षीय शेषराज सापकोटालाई ब्राउन सुगर जस्तो देखिने खैरो कलरको लिसाईलो पदार्थ १० ग्राम, कोडिन ३ बोतल, नाईट्रोजन २० चक्की, डिजिटल तराजु थान १ र मोवाइल थान २ सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
(यसअघि गल्तीवश शीर्षकमा १० किलो उल्लेख भएकाले सच्याइएको छ)
प्रतिक्रिया