Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

गोर्खा प्रहरीद्वारा एकै दिन १८ फरार अभियुक्त पक्राउ, ६ महिनामा ९४ जना समातिए

जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाइ फरार हँुदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल उपर गरिएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । 

 

पक्राउ परेका अभियुक्तमध्ये चार जनालाई अदालतको फैसला बमोजिम कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताए । खनालका अनुसार बैंकिङ कसूर शीर्षकमा मुद्दा फैसला गरी सजाय सुनाइएका गण्डकी गाउँपालिका–४ का लोकबहादुर भट्ट, सरकारी कागजात किर्तेशीर्षक मुद्दामा सजाय सुनाइएका शहीद लखन–७, का अनिल तिवारीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

 

त्यस्तै लागुऔषध मुद्दा सजाय सुनाइएका शहीद लखन गाउँपालिका–६ का नारायण योगी र गोरखा नगरपालिका–९ का रवीन खत्रीलाई पनि पक्राउ गरी जेलचलान गरिएको उनले बताए । पक्राउ परेका अन्य अभियुक्तलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइ जरिवाना असुल उपर गरी छोडिएको खनालले जानकारी दिए । 

 

एसपी खनालका अनुसार पछिल्लो ६ महिनामा फरार प्रतिवादी अभियुक्त पक्राउ अभियानअन्तर्गत ९४  जना पक्राउ परेका छन् । यस अवधिमा १४ वर्ष ८ महिना १५ दिन कैद र १२ लाख ३० हजार ३ सय ९४ रुपैयाँ जरिवाना असुल गरिएको छ । ‘फैसला कार्यान्वयनका लागि अभियान नै चलाएर फरार प्रतिवादी पक्राउ गरेका छौं,’ उनले भने । 

 

यसका साथै, प्रहरीले अपराध न्यूनीकरणका लागि अन्य सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिरहेको खनालले जानकारी दिए । जिल्लामा अन्य घटनाका तुलनामा आत्महत्या, जबर्जस्ती करणीका मुद्दा धेरै भएकाले त्यस्ता घटना रोक्न अभियान सञ्चालन गरिएको बताए । 

 

पछिल्लो समय निषेधाज्ञाका कारण युवा समुदाय विद्यालय आउन नपाउँदा यस्तो अभियान रोकिए पनि पुनः सञ्चालन गर्न लागिएको उनको भनाइ छ । यस्तै, सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको र प्रभावकारी देखिएको उनको भनाइ छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै