Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

बंगलादेशबाट १४ रोहिंग्या शरणार्थी नेपाल भित्रिए, ओसार्न गिरोह नै सक्रिय  

नेपालमा केही दिनयता रोहिंग्या शरणार्थी अनाधिकृत रुपमा भित्रिएको फेला परेको छ । बच्चासहित १४ जना रोहिंग्या शरणार्थी अवैध रुपमा नेपालमा भित्रिएको प्रहरीले फेला पारेको हो । 


महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार उनीहरु बंगलादेशस्थित रोहिंग्या शरणाथी क्याम्पबाट भारत हुँदै काकडभित्ता नाकाबाट नेपाल भित्रिएका हुन् । उनीहरु नेपाल भित्रिएपछि काठमाडौंस्थित कपनमा रहेको रोहिंग्या शरणार्थीको शिविरमा आइपुगेका थिए । 

 


उनीहरुलाई नेपाल ल्याउन रोहिंग्या शरणार्थीका व्यक्तिहरु नै संलग्न भएको पाइएको छ । बौद्ध वृत्तका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार उनीहरुलाई नेपाल भित्र्याउन सहयोग गरेको आशंकामा नुरा आमिन नाम गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । उनी हाल प्रहरी हिरासतमा छन् । 

 

‘बंगलादेश, भारत हुँदै काकडभित्ता नाकाबाट उनीहरु नेपाल प्रवेश गरेका रहेका छन् । अनधिकृत रुपमा नेपाल प्रवेश गर्ने रोहिंग्या शरणार्थीमा साना बच्चासहितका व्यक्ति छन्,’ डीएसपी न्यौपानेले पर्दाफासलाई भने, ‘उनीहरुलाई हामीले आइतबार नियन्त्रणमा लिएका हौं ।’

 

 

स्रोतका अनुसार ती व्यक्तिहरुलाई नेपाल भित्र्याउन आमिनको समूहले २ लाख ५० हजार रुपैयाँ असुलेको सूचना प्रहरीकोमा पुगेपछि घटना बाहिर आएको हो । प्रहरीले सुरुमा केही व्यक्तिहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

 

 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले अवैध रुपमा नेपाल भित्रिएका ती व्यक्तिहरुलाई अध्यागमन विभागको जिम्मा लगाइएको पर्दाफासलाई जानकारी दिए । ‘रोहिंग्या शरणार्थी अनधिकृत रुपमा नेपालमा प्रवेश गरेको पाइयो, त्यसकारण उनीहरुलाई नियन्त्रणमा लिएर हामीले थप कारबाहीका लागि अध्यागमन विभागलाई सोमबार बुझाएका छौं,’ एसएसपी सिंहले भने, ‘अब विभागले नै यस विषयमा थप कारबाही अघि बढाउनेछ ।’

 

 

अध्यागमन विभागका प्रमुख महानिर्देशक नारायणप्रसाद भट्टराईले यस विषयमा गृह मन्त्रालयले आन्तरिक रुपमा छानबिन गरिरहेको पर्दाफासलाई बताए । ‘उक्त संख्यामा रोहिंग्या शरणार्थी कसरी नेपाल प्रवेश गरे, अब उनीहरुलाई के गर्ने भन्ने विषयमा मन्त्रालयले आन्तरिक रुपमा छानबिन गरेपछि निर्णय हुनेछ,’ उनले भने । 

 

 

म्यानमारबाट विस्थापित भएका मुस्लिम समुदायका रोहिंग्याहरु बंगलादेश, भारत हुँदै नेपालको काठमाडौंको कपनमा आएर करिब १ दशकदेखि शरणार्थीको रुपमा बसोबास गर्दै आएका छन् । 

 

 

कपनस्थित बालुवाखानीमा अस्थायी टहरा बनाएर रोहिंग्याहरु बसिरहेका छन् । यहाँको रामटार, लक्ष्मणनगरका दुईवटा क्याम्पमा गरी ७७ परिवार छन् । ३५५ जनाको संख्यामा रहेका उनीहरूमध्ये ८६ जना बालबालिका छन् ।

 

 

नेपालमा शरण लिने शरणार्थीको संख्या पछिल्लो समय बढ्दै गएको छ । सुरुवातमा एक सयको हाराहारीमा रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेका थिए । तर, त्यसपछि लगातार उनीहरुको संख्या बढ्दै गए पनि सरकारले नियन्त्रणका लागि खासै ध्यान दिएको छैन । 

 

 

यो घटनाले गुपचुप रुपमा नेपालमा रोहिंग्या शरणार्थी भित्रिरहेको तथ्यलाई थप बल मिलेको छ । प्रहरीका अनुसार रोहिंग्या शरणार्थी शिविरकै केही व्यक्तिहरुले रोहिंग्याहरुलाई नेपालमा बसोबास गर्न सहज छ भन्दै पैसा लिएर भित्र्याउने धन्दा सञ्चालन गरिरहेका छन् । पक्राउ परेका आमिनले पनि त्यही आश्वासन दिएर नेपाल भित्र्याएको प्रहरी स्रोतको भनाइ छ । 

 

 

विज्ञहरुले भने रोहिंग्याहरुलाई नेपालले तत्काल डिपोर्ट गर्नुपर्ने सुझाव सरकारलाई दिँदै आएका छन् । यसरी शरण दिँदा नेपाल शरणार्थीका लागि सेफ हेभन बन्ने पुग्ने विज्ञहरुको भनाइ छ । साथै नेपालको सामाजिक, आर्थिक र सुरक्षा क्षेत्रमा पनि असर पुग्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

 


 
रोहिंग्यालाई राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालयबाट खाद्यान्न सहयोग हुँदै आएको छ । 

 

 

रोहिंग्याहरु आफूलाई म्यानमारको रखाइन प्रान्तका आदिवासी मुस्लिम दाबी गर्छन । म्यानमारमा उनीहरु आफूलाई कानुन िरुपमा नागरिक स्विकार्न, परिचयपत्र दिन तथा मताधिकारको समेत व्यवस्था गर्न मागद गर्दै आन्दोलित छन् । तर, त्यहाँको सरकारले रोहिंग्यालाई आफ्नो नागरिक मान्न अस्वीकार गर्दै बंगलादेशबाट छिरेका नागरिक ठान्छ । त्यसकारण म्यानमारमा उनीहरुमाथि दमन हुँदा बंगलादेश नेपालसम्म शरणार्थीको रुपमा शरण लिन आइपुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै