सरकार ! अफगानिस्तानमा फसेका हजारौं नेपालीको छिटो उद्धार गर
अफगानिस्तानमा एकपछि अर्काे गरी यहाँका सहरहरु कब्जा गरिरहेको तालिबान लडाकुहरुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहारमा पनि शुक्रबार कब्जा गरेको छ । अब तालिवानीहरु राजधानी काबुलतर्फ अगाडि बढेका छन् ।
बढ्दो हिंसा र तालिवानले अफगानिस्तान कब्जामा लिएपछि हुने सम्भावित घटनाहरुलाई ध्यानमा राख्दै त्यहाँ रहेका विदेशीहरु धमाधम आफ्नो देश फर्किंदै गरेका छन् । साथै अफगानिस्तानकै ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् ।
अफगानिस्तान नेपालीहरु पनि कार्यरत रहेको मुलुक हो । त्यसैले यहाँको द्वन्द्वको चपेटामा नेपालीहरु पनि परेका छन् । विश्वका अन्य मुलुकहरुले आफ्ना नागरिकहरुलाई फर्काउन थाले पनि नेपाल सरकारले भने नेपालीहरुको वास्ता नै गरेको छैन ।
नेपालीका लागि वैधानिक रोजगारीको गन्तव्य रहेको अफगानिस्तानमा १४ हजार ५ सय ६५ जना नेपाली कार्यरत रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सले जनाएको छ । त्यसबाहेक पनि श्रमस्वीकृतिविना नै त्यहाँ पुगेका नेपालीको संख्या पनि धेरै छ ।
उनीहरु सबै संकटमा परे पनि उद्धारका लािग सरकारले अहिलेसम्म कुनै योजना तय गरिरहेको छैनन् । मन्त्रालयले हालसम्म छलफल मात्र गरिरहेको जनाएको छ, जब कि नेपालीका लागि खतराको घन्टी बजिसकेको छ । त्यसैले सरकारले छिटोभन्दा छिटो नेपालीहरुको उद्धार गर्नुपर्ने आवश्यक छ ।
दशौं हजार नागरिक विस्थापित
संयुक्त राष्ट्रसंघले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ ।
संयुक्त राष्ट्रसंघले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा सुरु गरेपछि सर्वसाधारण उक्त संख्यामा विस्तापित भएका हुन् ।
अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किने समाचारहरु आएसँगै तालिबानीले यहाँका विभिन्न शहरमा कब्जा जमाउन थालेको थियो । जसका कारण यहाँ दिन प्रतिदिन हिंसा जारी छ । यहाँका नागरिक अफगान र तालिबान सेनाको चेपुवामा परेकोले उनीहरु भाग्न बाध्य भएका छन् ।
यो वर्षमात्र हिंसामा परेर करिब चार लाख नागरिक विस्थापित भई उनीहरु देशभित्रै आन्तरिक शरणार्थीरुपमा बस्न बाध्य भएका छन् । अहिले यहाँका विस्थापित नागरिकहरु आफ्ना बालबालिकासहित राजधानी काबुलमा शरण लिन थालेका छन् ।
यहाँ कतिपय सहायता एजेन्सीले उनीहरुलाई आवश्यक खाने र बस्ने प्रबन्ध मिलाइरहेको समाचार आएसँगै दिनहुँ ठूलो संख्यामा विस्थापित भएर विभिन्न शहरमा पुगेको हुँदा व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको बताइएको छ ।
एक करोड ८४ लाखलाई सहयोग आवश्यक
अफगानिस्तानको झण्डै चार करोड जनसंख्यामध्ये एक करोड ८४ लाखलाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले बताएको छ ।
देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्यांकन गरिएको राष्ट्रसंघका मानवीय सहयोगमामिला अधिकारीले बताएका हुन् ।
संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए) ले भनेको छ, ‘द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठूला शहरहरूमा आइपुगेका छन् ।’
यस्तै, विस्थापित, द्वन्द्व, बाढी, लिङ्गसम्बन्धी मुद्दा र सुरक्षा निगरानीमा ध्यान केन्द्रित गर्दै मानवीय आवश्यकता र तत्काल आवश्यक प्रतिक्रियाबारे कार्यक्रम निर्धारण गर्न राष्ट्रसंघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संगठनहरूबीच आन्तरिक मूल्याङ्कन भइरहेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका मुख्य प्रवक्ता स्टेफन डुजारिकले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा अफगानिस्तानकोसंयुक्त राष्ट्र संघ र गैरसरकारी संस्था दुवैको मानवीय सहयोग समूह अफगानिस्तानमा रहन र उद्धार गर्न समर्पित रहेको पनि सुरक्षा वातावरण अत्यन्त जटिल र चुनौतीपूर्ण रहेको बताएका थिए ।
‘संयुक्त राष्ट्र संघमा अफगानिस्तानका झण्डै तीन हजार ४०० राष्ट्रिय कर्मचारी र करिब ३०० अन्तर्राष्ट्रिय कर्मचारी रहेका भएपनि अहिले उनीहरूमध्ये अधिकांश कोभिड–१९ को महामारीका कारण अफगानिस्तान बाहिर रहनुपरेको छ । हामी द्वन्द्वरत सबै पक्षहरूसँग सम्पर्कमा छौँ,’ उनले भने ।
हिंसा अन्त्य गर्न तालिबानलाई प्रस्ताव
अफगान सरकारी वार्ता सदस्यहरुले देशमा भएको लडाइँ अन्त्यका लागि तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन् ।
कतारमा सरकारी वार्ता स्रोतले बिहीबार एएफपीलाई जानकारी गराएअनुसार तालिवान आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो ।
‘सरकारले कतारको मध्यस्थतामा एक प्रस्ताव पेश गरेको छ । यो प्रस्तावले देशमा हिंसा रोक्न, शान्ति स्थापना गर्न तालिबानलाई सत्ता सहकार्यका लागि आह्वान गरेको छ,’ त्यहाँका सरकारी अधिकारीले भनेका छन् ।
तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये धेरै शहरलाई नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ ।
प्रतिक्रिया