Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

निर्वाचनमा ३७ ठाउँमा झडप, उदयपुरमा गोली लागी एकको मृत्यु

झडपमा घाइते भएका तनहुँस्थित व्यासका मेयर उम्मेदवार

स्थानीय तह निर्वाचन २०७९ शुक्रबार सम्पन्न भए पनि शान्तिपूर्ण भने हुने सकेन । देशभरका विभिन्न पालिकामा झडप, विवाद, मतपेटिका लुट्नेदेखि गोली चल्नेसम्मका घटना भएका छन् । 

 

शुक्रबार निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्द्रमा दुई पक्षबीच दोहोरो झडप हुँदा नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्दा एकको घटनास्थलमानै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

 

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलुकी मतदान सम्पन्न भएपछि कालिका मतदान केन्द्रमा मतपेटिकाहरु राजनीतिक दलहरुको सर्वदलीय बैठक बसेर सिल गरेपछि दोहोरो विवाद भएको थियो । दोहोरो विवादका क्रममा झडप हुँदा प्रहरीले नियन्त्रण गर्न चार राउन्ड हवाई फायर गरेको र सो क्रममा कटारी–१० का स्थानीय १९ वर्षीय नवीन कटुवाललाई गोली लाग्दा कटुवालको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का स्थानीय १४ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

 

घटनास्थल कटारी बजारदेखि १० कोस उत्तर पश्चिमी पहाडी क्षेत्रमा रहेको थियो । 

 

यस्तै, सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित ‘क’ केन्द्रका मतदान अधिकृत विपिन यादवमाथि स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका तोडफोड गरेका छन् । त्यसपछि बसेको सर्वदलीय बैठकले उत्पन्न कुटपिट र तोडफोडपछि स्थगित भएको मतदान कार्य आइतबार गर्ने निर्णय भएको थियो । 

 

अशक्त महिला मतदाताले इच्छाएको जसपाको चुनाव चिह्नमा छाप लगाउनुपर्नेमा मतदान अधिकृत यादवले कांग्रेसको चुनाव चिह्नमा छाप लगाएको भन्दै स्थानीयवासीले यादवलाई कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको थियो ।

 

मतदान अधिकृतलाई प्रहरीले जोगाउन खोज्दा स्थानीयवासीले मतपेटिका तोडफोड गर्दै मतपत्र च्यातेर छरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । 

 

हुम्ला र धनगढीमा घाइते र बिरामीलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पु¥याइएको छ । हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा खटिएका कार्यालय सहयोगी ५२ वर्षीय काला रोकायालाई हेलिकप्टरबाट सुर्खेत ल्याइएको हो । मतदान केन्द्रमा भएको झडपमा परी टाउकामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत ल्याइएको थियो । 

 

सेनाको हेलिकप्टरमार्फत नै हृदयघात भई ज्यान जोखिममा रहेका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापालाई समेत धनगढी रङ्गशालाबाट नेपालगञ्जसम्म हेलिकप्टरमार्फत ल्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । 

 

प्रहरीका अनुसार शुक्रबार भएको निर्वाचनमा प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई ठाउँमा गोली चलाएको छ भने ५१ ठाउँमा हवाई फायर गरेको छ । ३७ ठाउँमा झडप भएको थियो ।

 

बाँकेको कोहलपुरमा एमाले र माओवादी कार्यकर्ताबीच खुकुरी हानाहान हुँदा दुई जना घाइते भए । तनहुँको व्यास नगरपालिकामा मेयर उम्मेदवार दीपकराज जोशीमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका थिए । 

 

हुम्लाको खार्पुनाथमा कांग्रेस–माओवादी र एमालेबीच झडप हुँदा १० जना घाइते भएका छन् । रौतहटको यमुनामाई–२ स्थित भेडियाही मतदान केन्द्रबाट दलका कार्यकर्ताले मतपेटिका लुटेका छन् । 

 

दोलखाको बैतेश्वरमा भएको चुनावी झडप रोक्न प्रहरीले १३ राउन्ड हवाई फायर गरेको थियो । यस्तै, हुम्लाको चंखेलीमा स्वतन्त्र र माओवादी उम्मेदवारबीच भएको झडप रोक्न सशस्त्र प्रहरीले ८ राउन्ड हवाई फायर गरेको थियो । यस्तै, सप्तरीको बसबिट्टीमा ५ राउन्ड हवाई फायर गरिएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै