Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

प्रहरीमै ‘चोरलाई चौतारो र साधुलाई शूली’ भइरहेको त होइन ?

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गत ३० साउनमा प्रहरीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको भ्रमणको क्रममा उनले प्रहरीले असल नियत राखी सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । 

 

तर, त्यही प्रदेश २ को रौतहटमा ३२ साउनमा एक पत्रकारको मोटरसाइकलबाट लागूऔषध बरामद भयो, जुन पछि प्रहरीकै संलग्नतामा उनलाई फसाउन राखिएको पुष्टि भयो । पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाउन प्रहरीले लागूऔषध राखेको सीसीटीभीमार्फत खुलेपछि यस प्रकरणमा अहिले त्यहाँका एसपी सिद्धिविक्रम शाह पनि मुछिएका छन् । 

 

उनलाई स्पष्टीकरणका लागि हेडक्वार्टर बोलाइएको छ भने छानबिन गर्न एसएसपी कृष्ण महतको नेतृत्वमा समिति पनि गठन गरिएको छ । 

 

०००

 

केही दिनअघि बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी पनि विवादमा तानिए । उनले स्थानीय क्यासिनो एजेन्ट सुजित तामाङसँग मदिरा र मोबाइल उपहार लिएको आरोप लागेको हो । तामाङले एसपी अधिकारीलाई कार्यकक्षमा नै पुगेर उपहार दिएको तस्बिर सार्वजनिक भएको थियो । 

 

त्यसपछि अधिकारीमाथि आर्थिक लाभ लिएर नेपालगन्जमा क्यासिनो सञ्चालन गर्न दिएको आरोप लाग्यो । तामाङ त्यहाँको सोल्टी होटलस्थित माजोङ क्यासिनोका एजेन्ट हुन् । त्यसकारण अधिकारीमाथि आरोप लाग्नु स्वाभाविक थियो । पछि एसपी अधिकारीले उपहार फिर्ता गरेको स्पष्टीकरण नै दिनुपर्यो । 

 

एसपी अधिकारी र तामाङको परिचय पुरानो थियो । उनी सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ निकट रहेको आधारमा एसपी अधिकारीसँग उनको चिनजान थियो । 

 

तामाङले आफू नेपालगञ्ज भएर काठमाडौं फर्कने तयारी रहेको र भेट्ने इच्छा राखेपछि भेटेको मौखिक जवाफ एसपी अधिकारीले प्रहरी प्रधान कार्यालयमा गराएका छन् । उनले जवाफमा पुरानो चिनजान र कुनै स्वार्थ नभएकाले तामाङले दिएको उपहार स्वीकार गरेको जवाफ मुख्यालयमा दिएको उच्च प्रहरी स्रोतले जानकारी दियो । साथै एसपी अधिकारीले क्यासिनोमा अवैध लगानीगर्ने समूहले यो भेटलाई आफू अनुकुल प्रयोग गरेको आरोप समेत लगाए । 

 

यद्यपि, यो घटनाको निष्पक्ष जाँच भने हुन सकेको छैन । 

 

एसपी अधिकारी अघि कमाण्ड सम्हालेका बाँकेका एसपी ओम रानामाथि रकम लिएर काठ तस्कर भगाएको आरोपमा अनुसन्धान भइरहेको विभिन्न अनलाइन मिडियामा आइरहेका छन् । उनी आजभोलि निलम्बन हुने भनेको महिना दिन बित्न लाग्यो । तर यस विषयमा आधिकारिक रुपमा केही जानकारी बाहिरिएको छैन । 

 

०००

 

गत महिना धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एएफसी होटलको जुवा प्रकरणमा मुछिएका पाँच प्रहरी निलम्बित भए । 
प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानबिनका लागि गठित टोलीको सिफारिसका आधारमा पाँच प्रहरी बिहीबार निलम्बित छन् । 

 

तर, यो घटनामा होटल सञ्चालकका पत्याउन नसकिने दाबीलाई सञ्चारमाध्यमले बढावा दिँदा यसको स्वतन्त्र र निष्पक्ष छानबिन हुन सकेन । 

 

यो घटनामा कोभिडले बन्द अवस्थामा रहेको रेष्टुुरेन्टको घर्रामा ६ लाख र पक्राउ परेका जुवाडेबाट २ लाख लिएर मान्छे भगाएको आरोप लागेको छ । तर, यति ठूलो रकम कहाँ गयो ? बरामद भयो कि भएन । 

 

पीडितले न्याय पाए वा प्रहरी नै पीडित भए प्रहरी मुख्यालयले खुलाएको छैन ।

 

०००

 

गत मंसिरमा कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा घुस लिएको आरोपमा दुई एसपी विमल बस्नेत र रामेश्वर यादव निलम्बनमा नै परे । गैरव्यावसायिक क्रियाकलाप गरेको उजुरी परेपछि उनीहरुलाई निलम्बन गरेर प्रहरी मुख्यालयले छानबिन थालेको थियो । 

 

हाल दुवै प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ । यादवको अपराध अनुसन्धान विभागमा काज सरुवा गरिएको छ । यस्तै, एसपी बस्नेतको प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।  

 

०००

 

केही समयअघि जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा बरामद गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लाग्यो । प्रहरीले गत फागुुनमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो ।     

 

रकम र सुन भारतबाट चोरी गरी ल्याएको आरोपमा स्थानीय ६० वर्षीया काली भुललाई पक्राउ गरिएको थियो । पक्राउ गरिएकी महिलालाई केही दिन हिरासतमा राखी प्रहरीले छाडेको थियो । उक्त सुन र रकम प्रहरीले हिनामिना गरेको भन्दै यहाँका नागरिक प्रहरीप्रति आक्रोशित बनेका थिए । उनीहरुले सुन र पैसाका विषयमा आधारिक जानकारी दिन माग गरेका थिए ।     

 

केआइसिंह–६ भिताणी गाउँबाट कूल एक किलो १०० ग्राम पक्राउ गरिएको सुन र रकमका विषयमा अहिलेसम्म पनि प्रहरीले आधिकारिक खबर सार्वजनिक नगरेको नागरिकको भनाइ थियो । जिल्ला प्रहरी कार्यालयको टोलीले सुन र नगद बरामदसँगै भिताणी गाउँबाट दुई जनालाई पक्राउ गरेको थियो ।     

 

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका तत्कालीन प्रहरी नायब निरीक्षक धर्मानन्द जोशी नेतृत्वको टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट भुललाई पक्राउ गरेको थियो ।     

 

प्रहरीले काली र उनका भतिजालाई एक दिन हिरासतमा राखेर दोस्रो दिन बयानपश्चात् छाडेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पक्राउ गरिएको सुन तथा रकम प्रहरी प्रधान कार्यालयमा बुझाइएको थियो । 

 

प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने भारतीय दूतावास हुँदै हेडक्वाटरमार्फत आफूहरुलाई सूचना आएपछि बरामद गरिएको सुन र नगद प्रहरी प्रधान कार्यालयमार्फत सम्बन्धित धनीलाई बुझाइएको बताए ।    

 

प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुुँवरले भारतबाट चोरी गरेर ल्याएको सुन तथा नगद भारतीय पक्षलाई बुझाएको दाबी गरे । उनको दाबी अनुसार भारतीय पक्षले गरेको आग्रह अनुसार घटनामा संलग्न आरोपी पक्राउ परेका हुन् । ‘हामीले बरामद सामाग्री भारतीय पक्षलाई बुझाएका छौं,’ उनले भने, ‘मुद्दा भारतमा दर्ता रहेकाले उतै बुझाएका हौं ।’ 

 

नेपाल र भारतबीच औपचारिक सुपर्दगी सन्धि छैन । एकअर्कालाई नेपाल र भारत पक्षले अपराध नियन्त्रण तथा आरोपी पक्राउ गरेर सहयोग गरिरहेका छन् । डोटीको घटनामा बरामद सामग्री कसरी कुन आधारमा भारतीय पक्षलाई बुझाइयो भन्ने प्रवक्ता कुँवरले केही खुलाएनन् ।

 

०००

 

यी त केही प्रहरी अधिकारीबाटै भएका पछिल्ला गलत क्रियाकलापका उदाहरण हुन् । यस्ता थुप्रै घटनाहरुमा अहिले प्रहरी अधिकारीहरु नै मुछिन थालेका छन् । 

 

भने, केही प्रहरी अधिकारी स्वार्थ अनुकूल समाचार सम्प्रेषण भइदिँदा त्यसको शिकार बनेका छन् । यहाँ प्रहरी अधिकारी उपर लाग्ने आरोपको स्वतन्त्र छानबिन र त्यसको सत्यतथ्य जानकारी सार्वजनिक गर्ने परिपाटी नहुँदा आरोप लाग्ने, मिडियाले खबर बनाउने तर पछि के भयो त्यो अन्योलमै रहने प्रचलन बनेको छ । 

 

यसले प्रहरी संगठनभित्र खराबले संरक्षण त पाएका छन्, केही निर्दोष समेत बलीको बोको बनेका उदाहरणको संख्या समेत बढ्न थालेको छ । 

 

शान्ति सुरक्षा र अपराध नियन्त्रणको जिम्मेवारी पाएका केही शक्तिशाली  प्रहरी अधिकारी ठूला घटनामा मुछिए पनि मुस्किलले छानबिन हुने गरेको छ । 

 

यस क्रममा कोही कोही निलम्बनमा पनि पर्ने गरेका छन् । तर, कमैले मात्र कारबाही भोग्ने गरेका छन् । उल्टै तिनै अधिकारीले आकर्षक स्थानमा सरुवा तथा बढुवाको उपहार पाउने गरेका छन् । 

 

 

प्रहरीका अवकाशप्राप्त डीआईजी हेमन्त मल्ल राजनीतिक पहुँचका कारण त्यस्ता अधिकारीहरुलाई कारबाही हुन नसकेको बताउँछन् । ‘पञ्चायतको के कुरा गर्नु, बहुदल आएयता प्रहरीमा राजनीतिक हस्तक्षेप बढ्दै गएपछि बद्नाम प्रहरी अधिकारी कारबाहीबाट बच्दै आएका छन्,’ उनले भने, ‘यसले संगठनका अन्य असल अधिकारीहरुको भने मनोबल गिर्दै गएको छ ।’

 

संगठनमा गलत काम गर्नेलाई कारबाही हुनुको साटो उनीहरुले रोजेको स्थानमा सरुवा हुँदा अन्य अधिकारीहरुमा नकारात्मक असर गर्ने मल्ल बताउँछन् । ‘यसले संगठनमा असन्तुष्टि, विवाद र दण्डहीनता मौलाउँदै जान्छ,’ उनले भने, ‘जुुन कुनै पनि दृष्टिकोणबाट संगठनका लागि हितकर हुन सक्दैन ।’

 

 

प्रहरी प्रवक्ता कुँवर भने दोषी प्रहरी अधिकारीलाई संगठनबाट कारबाही भइरहेको दाबी गर्छन् । उनले घटनाका विषयमा सञ्चारमाध्यममा यथेष्ट जानकारी दिने प्रचलनका विषयमा केही खुलाउन चाहेनन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

एक प्रहरी जवान: जसले दुबै मृगौला गुमाएर पनि दुई महानिरीक्षक बिरुद्ध मुद्दा जिते

प्रहरी संगठनमा वर्षेनी हजारौं प्रहरी अधिकृत र जवान उपर विभागिय कारवाही भइरहेको हुन्छ । फौजी संगठनमा अनुशासन र आचरणलाई कडिकडाउका साथ पालना गराउन यो आवश्यक पनि छ । तर कति...

भदौ २८, २०७८