Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

डण्डी उद्योगमा नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन सहयोग:व्यवसायी 

नेपाल स्टील रोलिङ मिल्स एशोसिएसनले सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्न गरेको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन र देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग गर्ने जनाएको छ ।

 

एशोसिएसनले आज विज्ञप्ति जारी गर्दै स्वदेशभित्रै बिलेट उत्पादन गर्न कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शुन्यमा झार्नु स्वागत योग्य कदम भएको जनाएको हो । 

 

‘यसले देशभित्रै कच्चा पदार्थ मार्फत विलेट उत्पादन गर्न र सो बिलेटमार्फत स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने र यसले देशभित्रै लगानी बिस्तार गर्न, भविश्यमा निर्यातको वातावरण बनाउन र स्वदेशमा नै रोजगारी सिर्जना गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।


बजेटमा आएका नयाँ व्यवस्थाले स्वदेशी पूँजी र सिपमार्फत देशभित्र थप ६ अर्बको लगानी रोलिङ्ग मिल्स तथा डण्डी उद्योगमा थप हुने विज्ञप्तिमा उल्लेख छ ।

 

कोभिड १९ बाट शिथिल रहेको स्वदेशी अर्थतन्त्रलाई यसले चलायमान बनाउन देशमा औद्योगिक वातावरण सिर्जना गर्न, विदेशी मुद्रा बाहिरीनबाट बचाउनुका साथै सरकारलाई समेत राजश्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने एशोसिएसनको ठहर छ ।

 

साथै, देशभित्रै उद्योगहरुले लगानी बिस्तार गरेर बिलेट उत्पादन गर्दै आत्मनिर्भरको बाटोमा अग्रसर हुने जनाइएको छ ।

 

नयाँ व्यवस्थाले स्वदेशभित्र उत्पादन भईरहेको विद्युतको खपतलाई पनि सहयोग गर्ने, डण्डी उद्योगहरुले नयाँ आयोजनाबाट उत्पादन हुने ३ हजार मेगावाट विद्युतलाई खपत गर्न समेत सहयोग पुर्याउने व्यवसायीहरुको भनाइ छ ।

 

हाल स्टील उद्योगमा उपयोग गर्नुपर्ने फर्नेस आयल आयातमा भारत र अन्य मुलुक जाने गरेको करिब ४.५ अर्ब रुपैयाँ समेत स्वदेशभित्रै रहने र यसले अन्य उद्योगहरुमा थप लगानी गर्न सकिने एशोसिएसनले जनाएको छ ।

 

हाल नेपालमा करिब १६ लाख टन वार्षिक विलेट उत्पादनको क्षमता छ र जडित क्षमताको ८० देखि ९५ प्रतिशतसम्म उत्पादन हुनेगरी उद्योग संचालन गर्न सकिनेछ । छिटै नै १० लाख टन बिलेट उत्पादन हुनेगरी उद्योग बिस्तार तथा योजना बनाउन सकिने व्यवसायीले जनाएका छन् ।

 

यसका साथै स्वदेशभित्रै पूर्णरुपमा बिलेट उत्पादन गर्दा सर्वसाधारण ग्राहकहरुले सिधै लाभ पाउने र कच्चा पदार्थ बाहेक समग्र सामग्री स्वदेशभित्रै उत्पादन गर्न सकिएको खण्डमा यसले ग्राहकहरुले किन्ने डण्डीको लागत घट्ने र ग्राहकरुलाई समेत सस्तो पर्ने व्यवसायीहरुको तर्क छ । 

 

स्वदेशमा नै उत्पादन गरिने बिलेटबाट तयार हुने डण्डीहरु उच्च गुणस्तरीय र मजबुत हुने हुँदा यसले नेपाली निर्माण क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने एशोसिएसनले जनाएको छ । 

 

एशोसिएसनले आफ्नो नाममा केही समूह तथा व्यक्तिहरुले अनधिकृतरुपमा पत्रकार सम्मेलन गरी भ्रम सिर्जना गर्ने काम गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । त्यस्ता गतिबिधिहरु नगर्न र कसैले पनि सो बारेमा भ्रामक धारणा नबनाउन अनुरोध समेत गरेको छ । 

 

‘देशभित्र औद्योगिक वातावरण बनाउन र कोभिड १९ ले थला पारेको अर्थतन्त्रलाई उकास्न सरकार र निजी क्षेत्रको सहकार्य गर्नुको विकल्प छैन् । त्यसैले देशभित्रै नयाँ उद्योग निर्माण, उद्योग बिस्तार र रोजगार सिर्जना गर्न सबैले हातेमालो गर्न हार्दिक आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै