भरतपुरमा मतदानपछि ‘रेणुलाई नजिताए देश दुर्घटनामा जाने’ प्रसंगमा यसो भने प्रचण्डले
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका छन् ।
शुक्रबार स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा रहेको मतदानस्थलबाट मत हालेपछि उनले गठबन्धनले चितवनमा जित्नेमा विश्वस्त रहेको बताएका हुन् ।
‘यो गठबन्धन जनता र देशका बुद्धिजीवीहरुले यसको महत्व बुझेका छन् । गठबन्धनको विजयी हुन्छ । मैले धम्की दिएको होइन, जिम्मेवारीका साथ अपिल गरेको छु । काठमाडौंका मुख्य मिडियाबाट तोडमोड गरियो । मैले त्यस्तो भनेको होइन,’ प्रचण्डले भने ।
अध्यक्ष दाहालले चितवनमा आफ्ना मतदातालाई धम्की दिन नसक्ने भन्दै रेणु दाहाललाई नजिताए देश दुर्घटनामा जान्छ भन्ने कुरा झुटो भएको दाबी गरे ।
उनले सबैले मतदाताले स्वतन्त्रतापूर्वक मत हाल्न पाउनुपर्ने बताए । अध्यक्ष दाहालले जितमा अनावश्यक हौसिने र पराजितमा पूरै निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा राखे ।
‘पहिलो कुरा यो निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुपर्दछ । संविधान घोषणापछिको दोस्रो निर्वाचन हो । यो सफल हुनुपर्दछ । सबैले स्वतन्त्रतापूर्वक र आत्मविश्वासको साथ यसमा सहभागी हुनुपर्दछ । मैले आफैँ हुर्केबढेको ठाउँको बुथमा आएर मतदान गर्दा मलाई खुशी लागेको छ । जित्ने र हार्ने कुरा निर्वाचनमा स्वाभाविक मान्नुपर्छ । जित हारकै लागि निर्वाचन हुने हो । जितमा अनावश्यक हौसिने र पराजितमा पूरै निराश हुने मानसिकताबाट लोकतन्त्र सुदृढ हुन सक्दैन,’ उनले भने ।
भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकामा रहेको मतदान स्थलबाट स्थानीय निर्वाचनको मतदान गरेकी छन् ।
मतदान गरेपछि उनले जनताले विगतको कामका मूल्यांकन गरेर आफूलाई जिताउनेमा विश्वस्त रहेको बताइन् । मेयरकी उम्मेदवार उनले आगामी दिनमा भरतपुरको समृद्धिका लागि पनि आफूलाई मतदाताले जिताउने जनाइन् । उनले जितपछि भरतपुरलाई देशकै नमूना शहर बनाउने पनि घोषणा गरिन् ।
दाहाल सत्ता गठबन्धनमा माओवादी केन्द्रको तर्फबाट भरतपुर महानगरपालिकाको लागि प्रमुखमा उम्मेदवार छिन् । उनको मुख्य प्रतिस्पर्धीको रुपमा नेकपा एमालेबाट विजय सुवेदी र स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेल छन् ।
प्रतिक्रिया