Saturday, 18 September 2021 | २०७८ असोज २, शनिवार

बीपी प्रतिष्ठानमा आन्दोलन बन्द गर्न सरकारको आग्रह, दोषी पदाधिकारीलाई सिनेटबाटै कारबाही

सरकारले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोषी पदाधिकारीलाई सिनेटबाटै कारबाही गरिने जनाउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । 

 

मन्त्रालयले चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको बीपी प्रतिष्ठानको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न प्रयास गरिने जनाएको छ । यस्तै, अख्तियारले कागजात अध्ययन गरिरहेको जनाउँदै मन्त्रालयले विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड तय गर्न प्राध्यापक सहितको समिति गठन भएको पनि उल्लेख गरेको छ ।

 

‘हाललाई आन्दोलनरत पक्षले उठान गरेका मागहरू धेरै हदसम्म सम्बोधन भइसकेको र कति सम्बोधनका क्रममा रहेकाले हाल कोभिड महामारी लगायत सबै कुरालाई मध्यनजर गर्दै बिरामी र विद्यार्थीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने एवं स्वास्थ्य सेवा अवरुद्ध हुने किसिमका आन्दोलनका कार्यक्रम फिर्ता लिँदै काममा फर्किन हार्दिक अपिल गर्दछौँ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिष्ठानका पदाधिकारीमाथि औषधि तथा उपकरणमा भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी र डा. मोहनचन्द्र रेग्मी रजिष्ट्रार भएर आएयता बेथिति बढेको यहाँका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित छन् । 

 

प्रतिष्ठानका पदाधिकारीमाथि इन्ट्रा एओर्टिक बेलुन पम्प, कौटरी मेसिन, ड्रिल मेसिन, अप्रेसन थिएटरको टेबल, अप्रेसन थिएटरको लाइट, मोड्युलर अप्रेसन थिएटर, सर्जिकल हेडलाइट मेसिन, हर्ट–लङ मेसिन, क्याथ ल्याब, इकोकार्डियोग्राफी लगायतको खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको आरोप छ ।

 

सोही कारण प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो । अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयको टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । 

 

यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितामा संलग्नमाथि कारवाही कारवाही गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले सिनेट बैठक बोलाएर छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । 

 

उनले सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टैै सिनेटको बैठक बोलाउन लागेको जानकारी पनि गराएका थिए ।

 

‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानवीन समिति गठन गर्नेछ । छानवीन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ,’ उनले भनेका थिए ।

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै