Thursday, 28 October 2021 | २०७८ कार्तिक ११, बिहिबार

बाँके रेडक्रसको एम्बुलेन्स जब मध्यराती ठमेलमा बतिँदै गरेको भेटियो........

शनिबार राती, समय करिब साढे १० बजेको थियो । ठमेल चोकमा खटिएको ट्राफिक प्रहरी चेकिङ सिफ्ट सक्याएर फर्कने तरखरमा थियो । 

 

ठिक त्यहीबेला वन वेमा एउटा एम्बुुलेन्स साइरन बजाउँदै आयो । डिउटीमा खटिएका ट्राफिक प्रहरीले केही आपतकालिन अवस्था रहेको अनुमान गरे । तर नजिक आएपछि हेर्दा एम्बुलेन्समा बिरामी थिएनन् । चालक र अर्का एकजना थिए । 

 

महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट ठमेल क्षेत्रमा खटिएको टोलीले चालकसँग सोधपुछ गर्यो । उनको मुखबाट ह्वास्स रक्सीको गन्ध आयो । उनीसँगै रहेका अर्का साथी समेत मापसेले मस्त थिए । 

 

ट्राफिक प्रहरीले चालक अशोक केसी र उनले हाँकेको भे १ च १७२२ नम्बर नेपाल रेडक्रस सोसाइटी बाँके उपशाखा कोहलपुरको जीप तत्काल नियन्त्रणमा लियो । चालक केसीले आफु बाँकेबाट बिरामी छोडन आएको र साथी भेटन ठमेल आएको बताएका छन् । 

 

तर डिउटीमा रहेका ट्राफिक प्रहरीका अनुसार उनीहरु गल्कोपाखबाट वनवेमा साइरन बजाँउदैं आएका थिए ।

 

‘हामीलाई एम्बुलेन्सको समेत विशेष चेकजाँचको निर्देशन थियो,’ डीउटीमा रहेका एक प्रहरीले पर्दाफाससँग गरे, ‘टाढैबाट हेर्दा एम्बुलेन्सको हकाई शंकास्पद थियो ।’ 

 

पर्दाफासको सम्पर्कमा आएका चालक केसीले आफूहरु पुरै सचेत अवस्थामा रहेको तर हल्का मापसे गरेको बताए । उनले आफूहरु साइरन बजाउँदै नआएको र बाटो सोध्न ट्राफिकको सम्पर्कमा गएको दाबी गरे । उनले आफू नियमित चालक नभइ आपतकालिन अवस्था भएकाले र मन्त्रालयमा नविकरणको काम समेत लिएर आएको बताए । 

 

‘म आफूपनि पत्रकारिता फिल्डको मान्छे हुँ,’ केसीले पर्दाफाससँग भने, ‘साइरन बजाएको भए ट्राफिकले रोक्ने हिम्मत कहाँ गर्थे, हामीले नै बाटो सोध्न सम्पर्क गरेको हौं।’ 

 

ट्राफिक प्रहरीले चालक केसीलाई तत्काल कोही सवारीचालक अनुुमति पत्र भएका ब्यक्ति बोलाएर एम्बुलेन्स लैजान समेत भने । तर उनले बोलाउन नसकेपछि एम्बुलेन्सलाई नियनत्रणमा लिएर प्रहरीले राखेको छ । 

 

पछिल्लो समय देशमा आपतकालिन बाहनको श्रेणीमा रहेको एम्बुलेन्स मार्फत अवैध गतिविधी, तस्करी र चालकले मापसे गरेको घटना बढेपछि महाशाखाले यसमा कडिकडाउ गर्न थालेको छ । 

 

(यो समाचारमा चालक अशोक केसी सम्पर्कमा आएपछि उनको भनाई अद्यावधिक गरिएको हो, यसअघि सम्बन्धित निकायसँग सम्पर्क गर्दा हुन सकेको थिएन–सम्पादक) 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै