निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत
अर्थ मन्त्रालयले निर्वाचनमा खटिने सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता बापतको रकम स्वीकृत गरेको छ । साथै, यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडिए) मा मिलान गर्न पाउने व्यवस्था गरिएको पनि छ ।
स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि पाँच अर्ब ६३ करोड विनियोजन गरेको छ । दुवै सुरक्षा निकायले यो रकम निर्वाचनका लागि आवश्यक सामग्री, सवारीसाधन, हतियार र भत्ता लगायतमा खर्च गर्नेछन् ।
यो रकम प्रहरीको भत्ता र म्यादी प्रहरीको सेवा सुविधामा प्रयोग खर्च गरिनेछ । यस्तै, निर्वाचनकै लागि भर्ना गरिएका एक लाख म्यादी प्रहरीका चार अर्ब ३४ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ ।
म्यादी प्रहरी निर्वाचन अघि–पछि गरेर ४० दिनसम्म खटिनेछन् । उनीहरुले सेवा सुविधाका लागि प्रतिव्यक्ति ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७२ सय र पोसाक भत्ता ६ हजार रुपैयाँ तोकिएको छ । सेवा अवधिमा निधन भएमा २० लाख रुपैयाँ राहतस्वरुप परिवारलाई दिइने सरकारले निर्णय गरिसकेको छ ।
नेपाली सेना र राष्ट्रिय अनुसन्धान केन्द्रका लागि पनि दुई अर्ब २९ करोडभन्दा बढी रकम छुट्याइएको छ ।
प्रतिक्रिया