प्रहरीले करोडौं खर्चेको सीम लोकेटर कवाडीसरह, १ महिनाभित्र नचले ठेक्का रद्दको तयारी
नेपाल प्रहरीले गत वर्ष अनुसन्धान र शंकास्पदलाई पक्राउमा सहयोगी हुने भनेर करोडौं खर्चेर किनेको सीम लोकेटर (मोबाइल सर्विलेन्स डिभाइस) हालसम्म सञ्चालन हुन सकेको छैन । खरिद गरेको झण्डै १ वर्ष पुग्न लाग्दा पनि ठेकेदार कम्पनीले जडान, सञ्चालन र तालिम नगराउँदा उक्त मेसिन कवाडी सरह थन्किएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमार्फत खरिद गरिएको उक्त उपकरणका लागि करिब सात करोड खर्च भएको छ । मेसिन ब्युरोमा आइपुगेको पनि करिब १ वर्ष पुग्न लागिसकेको छ ।
तर, कमिसन र व्यक्तिगत रिलेसनका आधारमा किनेको उक्त सीम लोकेटर ब्युरोमै थन्किएको छ । ब्यूरोका तत्कालीन प्रमुख एआईजी सहकुुलबहादुर थापा (तत्कालीन डीआइजी) को कार्यकालमा स्विडेन सीम लोकेटर ल्याइएको हो ।
ठेकेदार कम्पनी नियोटेरिक नेपाल प्रालिले उक्त मेसिन ल्याएको हो । यो कम्पनी गोल्छा समूहको भगिनी संस्था हो, जसका सञ्चालक एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाका भाइ सञ्जय गोल्छा हुन् ।
स्रोतका अनुसार एआईजी थापाले कमिशनको लोभ र एकजना निकट व्यक्तिको सम्बन्धका कारण गोल्छा समूहको नियोटेरिक नेपालमार्फत खरिद गरेको उपकरण अहिले ‘कवाडी’ सरह बनेको छ । नेपाल टेलिकममा प्रभाव राख्ने ती चिनियाँ कम्पनीका नेपाली कामदारको डिजाइनअनुसार यो उपकरण खरिद भएको हो ।
ब्यूरोमा थापा अघिका प्रमुख एआईजी निरजबहादुर शाहीले दुई पटकसम्म लगाउन नसकेको ठेक्का एआईजी थापाले आफू आएपछि सञ्जय गोल्छा सञ्चालक रहेको कम्पनीलाई दिएका थिए । यसका लागि पूर्वयोजना अनुसार नेपाल टेलिकमले स्पेसिफिकेशन बनाउने काम गरेको थियो ।
आम नागरिकको समेत मोबाइलमार्फत निगरानी गर्नसक्ने उपकरण खरिदअघि सञ्चार मन्त्रालय र गृह मन्त्रालयले सहमति जनाएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीकालमा अति शक्तिशाली रहेका एआईजी थापाले आफू निकट व्यक्तिले भनेकै भरमा त्यसका विविध पाटोको अध्ययन नै नगरी ठेक्का दिएकाले समस्या आएको ब्यूरोकै अधिकारी बताउँछन् ।
उनलाई ब्यूरोका अधिकारीहरुले भनेअनुसार उपकरण नभएको र सम्झौताअनुसारका प्रावधान पूरा नभएकाले कम्पनीलाई कालोसूचीमा राख्न सुझाउँदा समेत त्यस विषयमा बेवास्ता गरेका थिए ।
ठेक्काका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी र छानबिनलाई समेत प्रभावमा पारेर खरिद भएको उपकरण दर्जनौं पटकको प्रयासपछि नचलेको हो ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट उपकरण खरिदका लागि प्राप्त साढे नौ करोढ रुपैयाँ अर्पयाप्त हुने ब्यूरोका प्राविधिकहरुको सल्लाह नमान्दै एआईजी थापाले यसअघि यसप्रकारको काम नै नगरेको नियोटेरिकलाई ठेक्का दिने निर्णय गराएका थिए ।
ठेक्का अनुसार ठेकेदार कम्पनीले उपकरणको जडान, सञ्चालन र प्राविधिक तालिम समेतको सम्झौता भएको थियो । तर, कोभिड–१९ महामारीका कारण नियमित समयभन्दा धेरै ढिलोगरी उपकरण प्राप्त भएको थियो ।
सीआईबीले ‘रिलेशन र कमिशन’ को लोभमा किनेको सात करोडको सीम लोकेटर चलेन
सीम लोकेटर नेपालमै पहिलो पटक खरिद गरिएको हो । यसले अनुसन्धान र शंकास्पदलाई पक्राउ गर्न सहज हुने भएकाले प्रहरीको महत्वपूर्ण प्रोजेक्ट पनि हो । तर पहिलो पटकको खरिदमा नै नेपाल प्रहरीलाई ठेस लागेको छ ।
ब्युरोका प्रमुख डीआईजी धीरजप्रताप सिंहले उक्त उपकरण हालसम्म सञ्चालनमा नआएको बताए । ‘मेरो कार्यकाल सुरु हुनुअघि नै खरिद गरिएको हो । किनेर ल्याइए पनि हालसम्म सञ्चालन हुन सकेको छैन,’ उनले भने ।
उनका अनुसार सञ्चालनका लागि ठेकेदार कम्पनीलाई अझै १ महिनाको समय बाँकी छ । ‘निर्धारित समयमा उपकरण चलाउन नसकेपछि ठेकेदार कम्पनीलाई म्याद थप गरिएको थियो । त्यो म्याद यही मंसिरमा सकिँदै छ,’ उनले भने ।
डीआईजी सिंहका अनुसार यदि थपिएको समयमा पनि ठेकेदार कम्पनीले मेसिन सञ्चालन गर्न नसकेमा ठेक्का सम्झौता रद्द गरिनेछ । प्रहरीले हालसम्म ठेकेदार कम्पनीलाई भुक्तानी नभइसकेको जनाएको छ ।
के हो सीम लोकेटर ?
विशिष्ट प्रकृतिका घटनाको अनुसन्धान गर्ने ब्यूरोका लागि सीम लोकेटर आवश्यक उपकरणमध्येकै एक हो ।
प्रहरीको अपराध अनुसन्धानको मुख्य हतियार मोबाइल हो । मोबाइलकै माध्यमबाट यो उपकरणले काम गर्छ । यो प्रविधि जडान भएपछि अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सहज हुनेछ ।
यो उपकरणको माध्यमले शंकास्पद व्यक्तिलाई पाँच मिटरको दूरीसम्मको संकेत पत्ता लाउन सक्छ । कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुपरेमा सो क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनीको बिटिएस टावरका आधारमा सम्बन्धित व्यक्ति रहेको स्थान पहिचान गरिन्छ ।
प्रतिक्रिया