गोंगबु हत्याकाण्डः यसरी भएको थियो हत्या, यस्तो थियो अनुसन्धान
करिब एक वर्षअघि काठमाडौंको गोंगबुमा टाउको विनाको शव भेटिएको घटनाको फैसलासँगै यसका भित्री पाटाहरु सार्वजनिक भइरहेका छन् । काठमाडौं जिल्ला अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २५ साउन २०७७ मा भएको उक्त घटनामा अभियुक्त कल्पना मुडभरीले नै कृष्णबहादुर बोहराको हत्या गरेको अदालतले ठहर गरिसकेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले कल्पनालाई आजीवन कारावासको सजाय सुनाएको छ । कल्पनाले मृतक कृष्णबहादुर बोहराले पठाएको ४ लाख ८३ हजार रुपैयाँ फिर्ता गर्न नपरोस् भनेर उनको हत्या गरेको अदालतले ठहर गरेको हो । शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेकी प्रतिवादीकी छोरीले भने अदालतबाट सफाइ पाएकी छन् ।
यसरी भयो अनुसन्धान
गोंगबु हत्याकाण्डका बेला महानगरीय अपराध महाशाखाका प्रमुख थिए एसएसपी दीपक थापा । महाशाखाले उक्त घटनाको दुई दिनमा नै आरोपीलाई पक्राउ गर्न सफल भएको थियो ।
एसएसपी थापाका अनुसार स्थानीयबाट घटनाको जानकारी पाउनासाथ तालिमप्राप्त कुकुरसहित अनुसन्धानमा खटिएको बताए । ‘तत्काल आफ्नो टिमसहित म घटनास्थलमा पुगेको थिएँ,’ उनले भने, ‘तालिमप्राप्त कुकुरसँगै परिसर र महाशाखाको संयुक्त टोली अनुसन्धानमा खटियौं ।’
शवको प्रकृति हेर्दा हालसालै हत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो । तर, शवलाई पहिचान गर्ने त्यहाँ कोही थिएनन् । प्रहरीले कुकुरको माध्यमबाट शवको शरीरका अन्य भाग फेला त पार्यो । तर, पानी परेका कारण कुकुरको माध्यमबाट थप सुराकी पत्ता लगाउन सकिएन ।
‘शवको पहिचान नहुँदा प्रहरीलाई अप्ठ्यारो परेको थियो । त्यसपछि हामीले पहिचानका लागि सूचना जारी गर्यौं । मिडियामा पनि समाचार आए,’ उनले भने, ‘त्यसपछि दाङबाट शवको पहिचानसहितको फोन आयो । त्यसपछि प्रहरीलाई अनुसन्धानमा अझ सहज भयो ।’
शवको पहिचान भइसकेपछि प्रहरीले उनी बस्ने स्थान, काम, कसकसलाई भेट्ने गरेको लगायतका इतिहास खोतल्न थाल्यो । अनुसन्धानकै क्रममा ती व्यक्ति गोंगबु घटनास्थल नजिक बस्ने कल्पना मुडवरी नामको महिलाको कोठामा आउजाउ गर्ने प्रहरीले पत्ता लगायो ।
प्रहरी उनको कोठामा पुग्दाखेरि ताला लगाइएको थियो । घरका अन्य व्यक्तिसँग सोध्दा एम्बुलेन्समा उनीहरु गएको जानकारी प्रहरीले पायो । त्यसपछि उनीहरुलाई चितवनमा पक्राउ गर्न सफल भएको एसएसपी थापाले बताए ।
बोहरा–कल्पना मिलापको सुत्रधार बन्यो फेसबुक
कल्पनाले अदालत समक्ष गरेको बयानमा आफ्नो मृतकसँगको भेट सम्बन्धमा यसरी बताएकी छन् –
कल्पनाले बोहरासँग सामाजिक सञ्जाल फेसबूकमा घटनाभन्दा ४–५ वर्षअगाडि भेट भएको बताएकी छन् । फेसबूकमा सुरुमा दुवै जनाबीच मेसेन्जरमा कुराकानी गर्ने क्रममा परिचय भएको थियो । सुरुमा कुरा गर्दा बोहराले आफू साउदी भन्ने मुलुकमा रहेको बताएका थिए ।
‘यकिन मिति थाहा भएन, गोंगबुमा रहेको थकाली होटलमा बिहान अन्दाजी ११ बजेतिर भेट्न बोलाए । मैले भेटें । मैले पति अफगानिस्तानमा हुनुहुन्छ भनें । उनीसँगै खाना खाएर साढे १२ बजे होटलबाट कोठा फर्किएँ । सामाजिक सञ्जाल ‘इमो’ मा पनि उनीसँग कुराकानी हुने गरेको थियो । कुराकानीका क्रममा बोहराले आफ्ना श्रीमतीहरूले धोका दिएको, विदेशमा कमाएको रकम समेत श्रीमतीले हिनामिना गरेको भन्ने घरायसी कुरा गर्दै आएका थिए,’ उनले बयानमा भनेकी छन् ।
बोहराले एक वर्ष अगाडि ‘घर गयो भने बिहे गर भन्छन्, म मेरो बाबुसँग बोल्न दिन्छु’ भनी बोल्न समेत दिएर ‘तिमी र म राम्रो साथी बन्नुपर्छ’ भन्दै आएका थिए । ‘तिमी बिहे गर्दिनौ, मेरो पनि कोही छैन मसँग बिहे गर्ने हो’ भनिरहन्थे ।
‘मैले ‘सरी ल’ र ‘डिठ्ठा साप’ टेलिसिरियलमा अभिनय गरेकी थिएँ । टेलिसिरियलको भिडिओ हेरेपछि मेरै सुटिङको फोटो राखेर फेसबूकमा ‘कल्पना शाही’ भन्ने फेक आईडी बनाएर मेरा फोटोहरू अपलोड गर्ने, मेरो चिनेजानेका साथीहरूलाई केटी बनेर मेसेज गर्ने गरेको मैले थाहा पाएँ । किन यसो गरेको भन्दा उनले ‘मेरो मर्जी हो, आफूखुशी गर्छु’ भन्दै आएका थिए,’ कल्पनाले भनेकी छन् ।
घटनाको करीब ६–७ महीना अगाडिदेखि बोहराले कल्पनालाई विभिन्न होटलमा बोलाई भेट्ने गरेका थिए । आफूमाथि नराम्रो नजरले हेन थालेपछि रिस उठ्न थालेको र कसरी छुटकारा लिन सकिन्छ भन्ने सोचाइमा रहेको बताएकी छन् ।
यसरी भयो हत्या : कल्पनाको बयान
२४ साउनमा अन्दाजी साढे ४ बजे बोहरा हातमा भोड्काको बोतल लिएर मेरो कोठामा आए । म किचनमा कुखुराको मासु पकाउँदै थिएँ । छोरा र छोरी आफ्नै एट्याच बाथरुम भएको कोठामा गफगाफ गर्दै थिए । बोहरा त्यही कोठाभित्र पसेर भोड्का ग्लासमा हाली पिउन थाले । चिप्स, काँक्रो पनि साथै लिएर आएका थिए ।
मैले बोहरालाई पनि मासु, चिउरा दिए । उनले खाने क्रममा जथाभावी बोलेपछि छोरा खाना लिई टिभी भएको अर्को कोठामा गयो । मैले भाँडा माझ्दै गर्दा बोहरा र छोरीबीच कोठामा अवेलासम्म किन बसेको भनी वादविवाद भएको सुनेपछि छोरीलाई पनि टिभी हेरेर बस्नू भनी अर्को कोठामा जान भनें ।
बोहरालाई मैले केही रकम तिर्न समेत बाँकी थियो ।
म किचन कोठामा गई सोचविचार गरी ‘अब ठीक पार्नुपर्छ, मौका यही हो’ भनी दहीमा ५ वटा स्लीपिङ ट्याब्लेट घोली खान दिएँ । त्यसको अन्दाजी एक घण्टा जति पछि कोठाको भुइँमा उत्तानो परेर खुट्टा सीधा राखेर सुत्दै उनी ‘मेरो मिशन खत्तम भयो’ भन्दै कराउन थाले ।
मैले किचनबाट ह्याम्मर ल्याएर उनी सुतेको कोठामा आएर कपडा बाहिरैबाट अण्डकोष, लिङ्ग नजिक ४÷५ पटक जति प्रहार गरें । अब उनी चलमलाउन छाडेपछि अन्दाजी तीन–चार मिनेटपछि बेडमा भएको कालो रङको सलले निजको घाँटीमा बेस्सरी कसी अठ्याएँ ।
‘अब यो म¥यो, खत्तम भयो’ भन्ने विश्वास भएपछि मैले दुवै हातको कुममा समाई थोरै घिसार्दै कोठामा रहेको एट्याच ट्वाइलेट बाथरुममा तानी आधा जति शरीर बाथरुम भित्र छिराएँ ।
राति अन्दाजी १० बजे टाउको र खुट्टा भएको जेब्रा झोला नवज्योति मार्गमा रहेको खाली जमीनमा फ्याँकी कोठा फिर्ता आएँ । कोठामा केही छिन बसेपछि बाँकी रहेको भोड्का ग्लासमा हालेर खाएँ ।
अन्दाजी ०२ः४५ बजेतिर बाथरुममा सुटकेसमा प्याक गरी राखेको बडी उठाउन खोज्दा नसकेकाले छोरीलाई बोलाई धकेल्न लगाएँ । बोराको नाम्लो प्रयोग गरी बोकें। बाहिर पानी परिरहेकाले छोरीले छाता ओढाई ।
मृतक बोहराको शरीर भएको सुटकेस पश्चिमतर्फ सडक किनारामा फालेर कोठामा आयौं । त्यसपछि मैले हत्या गर्दा प्रयोग गरेको बुट्टे कुर्ता र कालो सुरुवाल खोली कपडा सफा गरी नुहाइधुवाइ गरी बसें ।
मैले ‘अब भाग्नुपर्छ’ भनेर चिनेजानेको एम्बुलेन्स चालकलाई फोन गरें । चालकले यतिवेला आउन सम्भव छैन भन्यो । भोलिपल्ट ती चालकलाई मेरो डेरा अगाडि बोलाई अन्दाजी साढे सात बजेतिर म, छोरी र छोरा चितवन माइतीघरतर्फ गयौं । र, माइतीबाटै २६ साउनमा प्रहरीले पक्राउ गर्यो।
प्रतिक्रिया