यी हुन् पदभारग्रहण लगत्तै नवनियुक्त मन्त्रीले गरेका पहिलो काम
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार थप आठ जनालाई मन्त्री बनाउँदै २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरे ।
जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । यसअघि जेठ २१ गते मन्त्रिमण्डलमा हेरफेर भएको थियो ।
विस्तारित मन्त्रिपरिषद्मा रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले आफै राख्दा गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्री नियुक्त भएका छन् ।
बिहीबार साँझ नै पदभारग्रहणपछि कुन मन्त्रीले के निर्णय गरे?
गृहमन्त्री खगराज अधिकारी
नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिनेगरी काम गर्न निर्देशन दिएका छन् ।
बिहीबार गृहमन्त्रालयमा पदभार ग्रहणपछि गृहमन्त्रालयका अधिकारीहरु सँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले गृह मन्त्रालय मातहतका निकायलाई पारदर्शी रुपमा काम गर्न आवश्यक रहेको बताए ।
गृह प्रशासनभित्र कहीँपनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही गर्ने बताऐ । उनले भने – ‘शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्दछ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँकतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्परमाइज हुँदैन ।’
मन्त्री अधिकारीले विकासमा तिव्रता र सुशासनको खाँचो भएकोले जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रको ढिलासुस्ती, अवरोधमा कठोर भएर उभिन निर्देशन दिए । मन्त्री अधिकारीको पदवहाली कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र विभागीय प्रमुखरुको उपस्थिति रहेको थियो ।
सञ्चारमन्त्री नैनकला थापा
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो को मन्त्री गयो भनेर होइन काममा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिए ।
बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरुको ध्यान जानुपर्ने बताए । सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्वपूर्ण भुमिका रहेको भन्दै मन्त्री थापाले जनतालाई सुचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताए ।
परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध नेपाल सुखि नेपालीको नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफु सधैँ खुल्ला रहेको स्पष्ट पारिन् । मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष थिइन । साथै निवर्तमान गृहमन्त्री रामबहादुर थापाको धर्मपत्नी हुन् ।
राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले औद्योगिक क्षेत्रहरुलाई राज्यसँग जोडेर अभिभावकत्व प्रदान गर्ने बताए ।
बिहीबार मन्त्रीमा नियुक्त हुनुभएका यादवले कार्यभार सम्हाल्दै औद्योगिक क्षेत्रहरु हाल समस्याग्रस्त र चिन्ताग्रस्त अवस्थामा रहेकाले तिनीहरुलाई राज्यसँग जोडेर अभिभावक छ भन्नेकुराको अनुभुति गराउने बताए ।
आफुले चुनौतीलाई अवसरको रुपमा परीणत गर्दै काम गर्ने उहाँले बताउनुभयो । उहाँले भने – ‘औद्योगिक क्षेत्रहरु समस्याग्रस्त, चिन्ताजनक अवस्थामा छन् । तिनीहरुलाई राज्यसँग जोडेर अभिभावक छ भन्ने अनुभुति गराउने । चुनौतिलाई अवसरको रुपमा परिणत गर्ने ।’
मन्त्री यादवले यस मन्त्रालयमा टिमवर्कले काम गरी अरु मन्त्रालयको भन्दा छुट्टै र अरुको भन्दा राम्रो थिती निर्माण गर्न पनि कर्मचारीहरुमा आग्रह गरे ।
गणेशकुमार पहाडी, सामान्य प्रशासन मन्त्री
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशकुमार पहाडीले मन्त्रालयले गर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिए ।
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री पहाडीले बिहीबार कार्यभार सम्हाल्दै कर्मचारीहरु स्थायी सरकार भएकाले मुलुकलाई कस्तो बनाउने, कस्तो सेवा प्रवाह गर्ने र कामको गुणस्तर कस्तो निकाल्ने भन्ने कर्मचारीको हातमा हुने भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिए ।
सरकारले निर्वाचनको घोषणा गरेको सन्दर्भमा कर्मचारीहरुसँग बसेर काम गर्नुपर्ने र संघीयताको प्रभावकारी कार्यान्वयन गर्नु यस मन्त्रालयको जिम्मेवारी रहेको उहाँले बताए ।
उनले भने – ‘सरकारले निर्वाचन घोषणा गरेको अवस्थामा कर्मचारीसँग बसेर काम गर्ने जिम्मेवारी छ । संघीयताको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेछ । सँगसँगै विकास निर्माणको कामपनि जोडिन्छन् । सेवा प्रवाहमा हामीले एकदमै राम्रो ढंगले सेवा दिन सकुँ । हामीले गर्ने कामहरुको गुणस्तरीयता पनि निकाल्नुपर्ने हुन्छ ।’
मन्त्री पहाडीले यस मन्त्रालय अन्र्तगत राष्ट्रिय गौरवका आयोजनाहरु पनि जोडिने भएकाले निर्धारित समयमा काम सम्पन्न गर्ने, लागत बढ्न नदिने र त्यसको गुणस्तरीयता कायम गर्ने कुरामा ध्यान दिए कामको प्रतिफल राम्रो निकाल्न सकिने पनि बताए ।
प्रतिक्रिया