सेनाको बेसमा शरण लिन पुगे श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजापाक्ष
महिन्दा राजापाक्षले श्रीलंकाको प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि श्रीलंकामा प्रदर्शन बढिरहेको छ । यसबीचमा राजापाक्षको परिवारले देश नै छोडेको अडकलबाजी भइरहेको छ ।
तर, मंगलबार राजापाक्षका छोराले उनको परिवार श्रीलंकामा नै रहने र देश छोडेर कतै नभाग्ने जनाएका छन् । राजापाक्षका छोरा तथा खेलकूदमन्त्री नमल राजापाक्षेले समाचार एजेन्सी एएफपीसँग भने, ‘राजापाक्षे परिवारको देश छाडेर जाने कुनै योजना छैन । देश छोड्न लागेको भन्ने अफवाह मात्र हो ।’
हाल राजापाक्ष सेनाको एक अज्ञात वेसमा शरण लिएर बसिरहेको बीबीसीले जनाएको छ । छोरा नमले आफ्नो पिता सुरक्षित रहेको र परिवारको साथमा निरन्तर सम्पर्कमा रहेको जनाएका छन् ।
सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राजापाक्षको आवासलाई प्रदर्शनकारीले घेरेका थिए । त्यसपछि सेनाले उनी र उनको परिवारलाई सुरक्षित साथ निकालेर नौसैनिकको बेसमा पुर्याएका थिए ।
मंगलबार राजापाक्षका समर्थक प्रदर्शनकारीले विरोधी प्रदर्शनकारीमाथि आक्रमण गरेपछि आन्दोलन हिंसात्मक बनेको थियो । आक्रोशित समूहले सरकारका मन्त्रीहरुको आवासमा आक्रमण र आगजनी गरेका थिए । मंगलबार अबेर राति रक्षा मन्त्रालयले हिंसा र आगजनी गर्नेलाई देख्नेबित्तिकै गोली हान्न आदेश दिएको छ ।
प्रतिक्रिया