अपडेट: रुपन्देहीमा सुरक्षाकर्मीको गोली लागेर ४ जनाको मृत्यु
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ।
गोली लागेर घाइते भएकामध्ये ४ जनाको मृत्यु भएको हो । उनीहरुको स्थानिय युनिभर्सल मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो । प्रहरीले अनौपचारिक रुपमा घटनाको पुष्टि गरेको छ । झडपमा घाइते भएका १४ जनाको अस्पतालमा उपचार भइरहेको थियो ।
मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल युसिएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताए । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको हो।
आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पर्दाफासलाई बताए ।
तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको दाबी गरे । तर स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन् ।
बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतित्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिदैं आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो ।
प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरु भत्काउँदै आएको थियो ।
यसअघि चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेपछि कार्यक्रम बिथोलिएको थियो । यही घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा भएको थियो ।
प्रतिक्रिया