Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

निर्वाचन सुरक्षाका लागि यसरी खटिएका छन् सेना, सशस्त्र र प्रहरी

स्थानीय तह निर्वाचनका लागि देशका तीनै सुरक्षा निकायले जनशक्ति खटाउनेदेखि अन्य तयारी पूरा भएको जनाएका छन् । चुनावका लागि स्थान विशेष हेरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा योजना तयार गरेको जनाएका हुन् । 

 

जिल्लामा रहेका निर्वाचन सुरक्षा समितिहरुले मतदानस्थलको अवस्थाअनुसार विशेषगरी तीन तहमा वर्गीकरण गरेका छन् । अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदानस्थलाई विभाजन गरी त्यसैअनुसार सुरक्षा व्यवस्था मिलाइएको हो । 

 

विकट क्षेत्रदेखि सीमावर्ती इलाका र अघिल्लो निर्वाचनमा झडप तथा आपराधिक क्रियाकलाप गरिएका मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । संवेदनशील क्षेत्रमा पनि सुरक्षालाई चनाखो रहेको सुरक्षा निकायहरुको भनाइ छ । 

 

गृह मन्त्रालयका अनुसारस्थानीय तहको निर्वाचनको लागि करीब २ लाख ६० हजारको संख्यामा सुरक्षाकर्मी खटाइएको छ । यस्तै करीब ३ लाखको हाराहारीमा कर्मचारी परिचालन गरिएको छ ।

 

नेपाल प्रहरीका ६२ हजार जनशक्ति र १ लाख म्यादी प्रहरी निर्वाचन सुरक्षाका लागि खटिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए । उनले सुरक्षाकर्मीका लागि आवश्यक हतियार, गाडी लगायत सामग्रीको बन्दोबस्त भइसकेको बताए । 

 

‘प्रत्येक मतदानस्थलको अलग अलग संवेदनशीलतालाई हेरेर त्यसैअनुसार प्रहरी खटिएको छ । उच्च पहाडी, हिमाली भूभागमा मतदानस्थलदेखि मतपत्र हेलिकोप्टर ल्याउन र मतगणनास्थलको सुरक्षालगायतमा खटिनेछौं,’ उनले भने, ‘निर्वाचन भरका लागि १५ दिनसम्म भाडाका सवारीसाधनको पनि व्यवस्था गरेका छौं ।’

 

प्रहरीलाई निर्वाचनका लागि नै भनेर १ अर्ब ४९ करोड रुपैयाँ विनियोजन भएको छ भने म्यादी प्रहरीका लागि ४ अर्ब ४२ करोड बजेट आएको छ । सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाकै लागि ३२ हजार जनशक्ति फिल्डमा खटाइसकेको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विदुर खड्काले जानकारी दिए । यस्तै, मोबाइल टोली, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको सुरक्षाको टोली पनि परिचालन भएको उनले बताए ।

 

‘आकस्मिक परिचालनका लागि भनेर युनिट रिजर्भ फोर्स १११ स्थानमा तैनाथ गरेका छौं,’ डीआईजी खड्काले भने । उनका अनुसार अन्य सुरक्षा निकायसँगको समन्वयमा निर्वाचन पूर्व मतपत्र, निर्वाचन सामग्री ढुवानीमा खटिनुका साथै मतदानपछि मतदानस्थलबाट मतगणना केन्द्रसम्म सुरक्षित साथ ल्याउन पनि जनशक्ति खटाइएको छ । सशस्त्रले निर्वाचनका लागि नयाँ गाडी नकिनेको र ७ दिनका लागि भाडामा लिएको जनाएको छ ।

 

सशस्त्र प्रहरीले स्थानीय तह निर्वाचनका लागि ४४ करोड रुपैयाँ बजेट पाएको छ । त्यसमध्ये पूँजीगततर्फ १० करोड रुपैयाँ छुट्याइएको छ भने चालु खर्च ३४ करोड रुपैयाँ विनियोजन भएको छ । 

 

नेपाली सेनाबाट ७१ हजार जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा खटाइएको छ । त्यसमध्ये आवश्यकताका आधारमा तोकिएका क्षेत्रमा सेना खटिइसकेका र अन्य तयारीमा रहेका नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ । शनिबारदेखि निर्वाचन आयोगमा खडा हुने सेलमा समेत सेना खटिइसकेको छ ।सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालका अनुसार मतपत्र छपाइ स्थलमा सेनाको टोली तैनाथ भइसकेको र मतपत्र ढुवानी तथा मतपेटीका सुरक्षाको जिम्मेवारी पनि सेनाकै रहेको छ ।

 

सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिँदै आएको कारागारलगायत महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा समेत सेना खटिइसकेको छ । पहिले नै सेनाले ३४ कारागारको सुरक्षा जिम्मा लिइसकेको थियो । बाँकीको जिम्मा समेत सेनालाई दिइएको छ । विस्फोटक पदार्थ निस्तेज टोलीसमेत तयारी अवस्थामा रहेको र एकीकृत सुरक्षा योजनाअनुसार तथा जिल्ला सुरक्षासमितिको समन्वयमा फौजसँगै खटिने छ ।

 

जुनसुकै ठाउँमा आवश्यक परेको खण्डमा बढीमा ३० मिनेटभित्रमा सेना आइपुग्ने गरी फोर्स तैनाथ रहन्छन्, सहायक रथि सिलवालले भने । त्यसका अलावा अन्य बाह्य सुरक्षाको जिम्मासमेत सेनाकै छ । उनका अनुसार विभिन्न क्षेत्रमा हेलिकप्टरसहितको टोली तयारी राखिने छ । दुर्गममा मतपत्र, मतपेटीका ल्याउनेरलैजाने काम पनि हेलिकप्टरबाटै हुनेछ ।

 

गृह मन्त्रालयको शुक्रबारको बैठकले निर्वाचनको प्रयोजनार्थ आवश्यक परे निजी हेलिकप्टरको समेत प्रयोग गर्ने निर्णय गरिसकेको छ ।

 

अहिले सेनाले सूचना सङ्कलन, मतदानस्थलको रेखी तथा निरीक्षण अध्ययनसमेत गरिरहेको छ । सेनाले सबै सैनिकलाई मानवअधिकार र मानवीय तालिम प्रदान गरी सबैलाई प्रशिक्षितसमेत गरिसकेको छ । स्थानीय सुरक्षा समितिको समन्वयमा निर्वाचन क्षेत्रमा सैनिक थपघट हुनेछन् । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ ।

 

निर्वाचन प्रयोजनार्थ भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि कार्य क्षेत्रमा खटिइसकेका छन् । उनीहरुलाई नेपाल प्रहरीसँगै रहेर काम गर्ने गरी निर्वाचन सुरक्षामा खटाइएको हो । प्रहरी प्रवक्ता केसीका अनुसार चुनावका बेलामा मतदाताको लाइन मिलाउने, अनावश्यक मान्छे छिर्न नदिने, भिडभाड रोक्ने, नेपाल प्रहरीले लगाए र अह्राएको काम गर्ने जिम्मेवारी म्यादी प्रहरीको हो ।

 

त्यसअघि निर्वाचन पूर्व हुने आवश्यक तयारी, मतदान अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय क्षेत्र तथा आवश्यक निर्वाचनका गतिवधि सञ्चालन हुने ठाउँका सुरक्षामा म्यादी प्रहरी खटाइएको छ । यसका अलावा राजनीतिक दलका गतिविधि हुने ठाउँ तथा तोकिएका सार्वजनिक क्षेत्रको सुरक्षामा समेत सुरक्षा संयन्त्रले निगरानी बढाउन थालिसकेका छन् ।

 

सोमबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था कायम गर्न र निर्वाचन व्यवस्थापनका लागि उक्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।

 

गृह मन्त्रालले पछिल्लो केही दिनयता केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारहरुबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द, विवाद तथा झैझगडाका छिटपुट घटनाहरु घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएको बताएको छ ।   
मन्त्रालयले सूचना जारी गर्दै निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्र रुपले आफ्ना प्रतिनिधि छनौट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानून बमोजिम कारवाहीको भागीदार हुने चेतावनी दिएको छ ।

 

‘निर्वाचनको माध्यमबाट जनप्रतिनिधि छनौट गर्ने पवित्र कार्यमा सहभागी भई सहयोग र सहजीकरण गरी राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलाई आफ्नो कर्तव्य पालनमा साथ दिन आग्रह छ,’ सूचनामा भनिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै