माथिल्लो तामाकोशी : ठेकेदारको अर्बौं मूल्यको सामान हडप्न चलखेल
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत ठेकेदार कम्पनीले काम सकिए पनि आफ्नो अर्बौं मूल्यको सामान लैजान नपाएको बताएका छन् । ठेकेदारको सामान हडप्नका लागि एउटा समूहले स्थानीयलाई प्रयोग गरी अनधिकृत रुपमा ती सामान रोकेको ठेकेदारहरुले बताएका हुन् ।
सामान लैजान नपाउनेमा आयोजनामा कार्यरत नेपाली तथा विदेशी कम्पनीहरु छन् । आयोजनामा प्रयोग हुने उपकरणहरु, एस्क्याभेटरलगायत सामग्रीहरु आफूहरुले ल्याउन नपाएको नेपाली कम्पनीका एक प्रतिनिधिले पर्दाफासलाई बताए ।
उनका अनुसार आयोजनाको काम सकिएपछि अरु आयोजनामा प्रयोगका लागि ती सामानहरु लैजान खोजिएको हो । तर, ती सामानलाई बाटोमा नै रोकिएको छ । स्थानीयलाई प्रयोग गरी ठेकेदारका ती सामान कब्जा गर्ने र बेचेर लाभ लिने षड्यन्त्र भइरहेको उनले बताए ।
‘केही व्यक्तिहरुले आयोजनाका सामान सिंगटीयता आउन दिएका छैनन्, त्यहीँ बगरमा झार्न लगाइएको छ,’ उनले भने, ‘ती सामान लैजान पाउँदैन भने धम्की दिइएको छ । हामीले आफ्नो सामान पनि लैजान नपाउने ? यो त खुल्लमखुल्ला दादागिरी भैगो नि ?’
यसबारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन खोज्दा फोनै उठाएको र प्रहरीले पनि प्रशासनबाट आदेश नआएको भन्दै ‘एक्सन’ नलिएको ती प्रतिनिधिको आरोप छ । ‘हाम्रो सामान लैजान नै नदिएर कब्जा गर्ने षड्यन्त्र हुँदै छ । यसमा केन्द्रसम्मको हात र आदेश रहेको हामीले सुनेका छौं,’ उनले भने ।
यसबारेमा प्रशासन जानकार भए पनि माथिकै आदेशमा मौन रहेको उनले आरोप लगाए । यसमा राजनीतिक दलहरुका प्रतिनिधिहरुको पनि मिलिभगत रहेको उनको दाबी छ ।
आयोजनाको नियमअनुसार त्यहाँ कार्यरत ठेकेदारहरुले आयोजनामा प्रयोग भएका सामग्री अन्यत्र लैजानका लागि अनुमति लिनुपर्ने शर्त हुन्छ । सम्बन्धित आयोजनाले अनुमति दिएपछि मात्र ती सामान ठेकेदारले लैजान पाउँछन् ।
तर त्यसरी अनुमति पाएर लैजान खोज्दा पनि जबर्जस्ती रोकेर गुण्डागर्दी भएको ती प्रतिनिधिले बताए । ‘हाम्रो अर्बौं मूल्यको ती सामान लैजान नदिने र हडप्ने चलखेल भइरहेको छ । तर, सम्बन्धित निकायलाई जानकारी दिँदा चासो नै दिँदैन । यो त राज्य नै नभएको जस्तो महसुस भएको छ ।’
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले ठेकेदार कम्पनीलाई आफ्नो सामान लैजानका लागि सिफारिस दिइसकेको पर्दाफासलाई बताए । ‘उहाँहरुलाई हामीले सामान लैजान सिफारिस दिइसकेका छौं । नियमसंगत रुपमा नै उहाँहरुले लैजान खोज्नुभएको हो,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भेषराज रिजालले सामान रोकिएकोबारे कुनै पनि कम्पनीले आफूहरुलाई जानकारी नदिएको पर्दाफासलाई बताए । ‘हामीलाई अहिलेसम्म सामान लैजान नपाएको भनेर कसैले लिखित रुपमा जानकारी गराएका छैनन् । जिल्ला प्रशासन कार्यालयबाट पनि आधिकारिक रुपमा त्यस्तो जानकारी आएको छैन,’ उनले भने ।
तर, त्यस्ता सामान लिएर जानका लागि अनुमति लगायतका प्रक्रिया आवश्यक पर्ने बताउँदै उनले यसअघि लकडाउनका अवधिमा कवाडी तथा कवाडीजन्य सामग्रीका रुपमा रोकिएको हुनसक्ने बताए । ‘लकडाउनमा अत्यावश्यक सामग्री ढुवानीका लागि मात्र अनुमति दिइएको थियो । त्यस्ता सामग्री अनुमति नपाउँदा रोकिए होलान्,’ उनले भने ।
यदि त्यस्तो समस्या भए प्रशासनबाट जानकारी आउनेबित्तिकै प्रहरीले समाधान गर्ने उनले जानकारी दिए ।
दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले ठेकेदारको सामान रोकिएको बारे आफूलाई जानकारी नआएको पर्दाफासलाई बताए । उनले ‘स्क्रयाब’ सामान लैजानका लागि आयोजनाको अनुमति चाहिने र केही समयअघि जिल्ला सुरक्षा समितिको बैठक बसेर अनुमति लिएर काम गर्न आयोजनालाई पत्राचार गरिएको जानकारी दिए ।
‘आयोजनाको अनुमति लिएर लैजान कुनै समस्या छैन । तर सामान रोकिएको बारे कतैबाट पनि जानकारी आएको छैन,’ उनले भने । ठेकेदार पक्षले भने प्रशासनलाई आइतबार लिखित निवेदन बुझाउने तयारी गरेको छ ।
प्रतिक्रिया