सार्क प्रक्रियालाई अग्रगामी दृष्टिकोणले अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
सार्क स्थापनाको ३७औँ वर्ष प्रवेश अर्थात् सार्क बडापत्र दिवसको अवसरमा सदस्य राष्ट्रका जनता र सरकारलाई आज बधाई तथा शुभकामना दिँदै उनले १९औँ शिखर सम्मेलन चाँडो आह्वान गरेर सङ्गठनलाई नवजीवन दिनुपर्ने बताएका छन् ।
सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको प्रमुख खाका भएको र त्यसबाट दक्षिण एशियाका जनताको हितमा केही उल्लेखनीय प्रगति भएको बताउँदै उनले यद्यपि क्षेत्रीय सद्भाव प्रबर्द्धन, गरिबी र असमानताको अन्त्य, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्ने हाम्रा प्रयासहरूले आवश्यक सामर्थ्य हासिल गर्न बाँकी रहेको यथार्थ प्रस्तुत गरेका छन् ।
उनले कोभिड–१९ महामारीबाट उत्पन्न चुनौती र जोखिमलाई उल्लेख गर्दै उत्थानशील पुनरुत्थान एवं सुदृढ पुनः निर्माणमा केन्द्रित हुँदै क्षेत्रीय समझदारी र ऐक्यबद्धतालाई पुनः आत्मसात गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । साथै उनले दक्षिण एशियाका जनताको बृहत्तर हितका खातिर सार्कलाई सक्षम बनाउन नेपालले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहो-याएका छन् । सहयोग, विश्वास र समझदारीमा आधारित सार्कलाई अझ प्रभावकारी र परिणाममुखी तुल्याउन उनले सदस्य राष्ट्रहरूसँग आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया