सुदूरपश्चिम राजनीति : मुख्यमन्त्रीको ‘कुर्सी’ जोगाउन नेपाल पक्ष र कांग्रेसको साथ
नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।
मुख्यमन्त्री भट्टले आज विश्वासको मत सदनबाट लिने भएपछि एमाले सुदूरपश्चिम प्रदेश कमिटीको निर्णयले असहयोग गर्न भनि दलका सदस्यलाई ह्वीप जारी गरी पत्र पठाएको तर दलको बैठकले पार्टीको निर्णय विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ ।
प्रदेशमा एमालेका २४ जना सदस्य रहेको संसदीय दलको बैठकमा छ जना प्रदेशसभा सदस्य सहभागी भए पनि उपस्थिति भएका थिएनन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्ट, ग्याल्बुसिंह बोहरा, रतन थापा, नेपालु चौधरी र माया लामा तामाङले उपस्थिति नगरेको जनाइएको छ । उनीहरूले सदनमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् ।
५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले एमालेबाट १७ र नेकपा (माओवादी केन्द्र)बाट १३ गरी ३० मत पाउने निश्चित भइसकेको छ ।
कांग्रेस संसदीय दलले पनि भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने भएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनका पक्षमा मतदान गर्ने निर्णय गरेको नेका प्रदेशसभा सदस्य टेकबहादुर रैकाले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का सदस्यले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने भएका छन् । केन्द्रमा भएको सत्ता समिकरणअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरीको भनाइ छ । प्रदेशसभामा जसपाका चौधरी र मालामति राना गरी दुई सदस्य छन् ।
प्रतिक्रिया