Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

नेपाल–भारत सम्बन्धलाई पुनर्ताजगी दिँदै मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसरमा २ जेठमा लुम्बिनी आउँदै छन् । दोस्रोपटक प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण पनि हो । 

 

यद्यपि, उनको राजनीतिक भ्रमण भने होइन, उनी बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ । तर, छिमेकी राष्ट्रका प्रमुखको यो भ्रमण अन्य दृष्टिकोणले भने महत्वपूर्ण देखिन्छ । 

 

नेपाल–भारत सम्बन्धमा समयसमयमा उतारचढाव आउने गर्छ । पछिल्लो समय लिपुलेक, कालापानी र लिम्पियाराधुराका कारण दुवै देशबीचको सम्बन्धमा केही तितोपना आयो । तर, यो विषयमा हाल दुवै पक्ष वार्ता र छलफलबाट समाधानको दिशामा अघि बढिरहेका छन् । 

 

प्रधानमन्त्रीमा शेरबहादुर देउवा आएसँगै सम्बन्ध सुधार आउनुका साथै भारतीय पक्षले नेपालको सम्बन्ध विस्तारमा विशेष जोड दिन थालेको छ । जसको पछिल्लो उदाहरण, मोदीको लुम्बिनी भ्रमण हो । 

 

हालै मात्र प्रधानमन्त्री देउवाले भारत भ्रमण गरे । त्यसक्रममा मोदीले नेपाल–भारतको सम्बन्ध उदाहरणीय रहेको जनाए । त्यसपछि मोदीको यो भ्रमणले दुवै देशको सम्बन्धमा पुनर्ताजगी ल्याउने कूटनीतिक विश्लेषकहरुले विश्वास गरेका छन् । 

 

यस्तो छ कार्यक्रम

 

मोदीले लुम्बिनीमा मायादेवी मन्दिरमा सम्मान प्रकट गर्ने कार्यक्रम छ ।

 

जहाँ प्रधानमन्त्री देउवा पनि सहभागी हुनेछन् । कोरोना महामारीका कारण विगतमा सामान्य रुपमा मनाइँदै आएको बुद्ध पूर्णिमा यसपटक  ३ दिने विशेष कार्यक्रम गरी मनाइन लागेको हो । 

 

लुम्बिनी विकास कोषका अधिकारीका अनुसार दुवै प्रधानमन्त्रीले मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनको कार्यक्रम छ । भारतीय सञ्चारमाध्यम द हिन्दूका अनुसार मोदी आफैले केही समय अघि उद्घाटन गरेको कुशीनगर अन्तर्राष्ट्रिय हवाई अड्डामा अवतरण भएर लुम्बिनी आउनेछन् । कुशीनगरबाट हेलिकोप्टरमा लुम्बिनीमा आउनेछन् । 

 

२५६६ औं बुद्ध जयन्तीका अवसरमा सहभागी हुन लागेका मोदी लागि ४ वटा हेलिप्याड पनि निर्माण थालिएको छ । भारतले अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेडेसन (आईबीसी) मार्फत जर्मन स्तूप उत्तर बिहार बनाउन लागेको छ । यसलाई १ अर्ब भारतीय रुपैयाँमा तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । बिहारको  मोदी र देउवाले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम पनि छ । 

 

सन् २०१९ मा भारतमा फेरि प्रधानमन्त्री चुनिएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हो । उनले सन् २०१८ मा जनकपुर र मुक्तिनाथको यात्रा पनि गरेका थिए । तर, समय नभएका कारण भने लुम्बिनीको यात्रा भने स्थगित भएको थियो । 

 

नेपाल र भारतबीच बेलाबेलामा बुद्ध जन्मस्थलको विवाद आउने गरेको छ । भारतले बुद्ध आफ्नो देशमा जन्मेको बेलाबेलामा जनाउँदै आएको छ । यसले विवाद मात्र होइन, भारतप्रति नेपालीमा नकारात्मकता पनि फैलाउँदै गएको थियो । 

 

यो विवादबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अछूतो छैनन् । उनले पनि केही कार्यक्रममा बुद्धको जन्म भारतमा भएको उल्लेख गरेका थिए । 
गौतम बुद्धको जन्म लुम्बिनीमा भए पनि ज्ञानका लागि भारतमा जानु र जीवनको धेरै समय त्यही नै बिताएकाले पनि भारतले आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । 

 

तर, भारतले अब यसलाई विवादको रुपमा निकाल्नेभन्दा पनि बौद्ध सर्किटका रुपमा नेपाल र भारतमा रहेका बुद्धका महत्वपूर्ण स्थानहरुलाई जोड्ने र त्यसबाट दुवै देशले फाइदा लिनुपर्ने विश्लेषकहरुको भनाइ छ । 

 

र, यसलाई मूर्तरुप दिन सक्नेमा अरु कसैको भन्दा महत्वपूर्ण भूमिका स्वयं मोदीको नै देखिन्छ । नेपाल र भारतबीच बौद्ध सर्किट बनाउनेबारे विभिन्न चरणमा छलफल भए पनि काम भने हुन सकेको देखिँदैन । नेपाल र भारतको बुद्ध धर्म सम्बन्धी ऐतिहासिक स्थान जोड्ने बौद्ध सर्किट बनाउने विषयमा भएको सहमति कार्यान्वयनमा नेपालले पनि जोड दिन र आफ्नो भूमिका निर्वाह गर्न आवश्यक छ । 

 

बौद्ध सर्किट अन्तर्गत भगवान गौतम बुुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ भने उनले ज्ञानप्राप्त, जीवन ब्यतित र  महापरिर्णयसम्म प्राप्त गरेका बोधगया, सारनाथ र कुशीनगर भारतमै पर्छ । 

 

लुम्बिनीमा भारतको बाटो हुँदै पर्यटकहरु आए पनि त्यहाँ करिब एक–दुई घण्टाभन्दा बढी बस्न सक्ने वातावरण नभएको सरोकारवाला बताउँछन् । नेपालले केही पूर्वाधारको विकास गर्न सके सबैभन्दा महत्वपूर्ण बुद्धको जन्मस्थल लुम्बिनीले धेरै पर्यटकलाई तान्नुका साथै उनीहरुको बसाइँ लम्ब्याउन सक्ने सम्भावना प्रशस्त छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै