कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई साउन २५ देखि दोस्रो मात्रा
सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई साउन २५ गतेदेखि दोस्रो मात्रा दिने भएको छ । जापान र भुटानबाट उक्त खोप आएपछि सरकारले दोस्रो मात्रा दिन लागेको हो ।
स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार एस्ट्राजेनका खोप कार्यक्रम साउन २५ र २६ दुुई दिनसम्म चल्नेछ । ६५ बर्षभन्दा माथिका नागरिक र कोभिसिल्ड खोप पहिलो मात्रा लगाएकाले मात्रै लगाउन पाउने कार्यालयले जनाएको छ ।
एस्ट्राजेनका खोप काठमाडौँ महानगरपालिका, चन्द्रागिरी, नागार्जुन, तारेश्वर, दक्षिणकाली, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वर, शंकरापुर, कागेश्वर नगरपालिका, राधस्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लगायतका अस्पतालबाट खोप लगाउन सकिने छ ।
शुक्रबार भुटान सरकारले तीन लाख डोज एस्ट्राजेनका खोप उपलब्ध गराएको थियो भने शनिबार बिहानबाट जापानबाट ५ लाखभन्दा बढी खोप आएको थियो ।
हाल चिनियाँ खोप भेरोसेलको दोस्रो मात्राको अभियान चलिरहेको छ ।
प्रतिक्रिया