नेतृत्व टुंगो नलाग्दा सर्वोच्च अदालतमा रोकियो सुनुवाइ
सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाबाट पेसी तोक्न सुरु गरे पनि नेतृत्वको टुंगो नलाग्दा सुनुवाइ प्रभावित भएको छ । आज पनि नेतृत्वको टुंगो नलाग्दा पेसी सूची नै प्रकाशित हुन सकेको छैन ।
हाल सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएका कारण उपस्थित भएका छैनन् । उनी कोरोना संक्रमण भएर गत सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भर्ना भएका थिए । त्यहीँबाट उनले मंगलबारको इजलास तोके । बुधबार गोला प्रक्रियाबाट पेसी तोकियो । कानुन व्यवसायीले भने प्रधानन्यायाधीशको जिम्मेवारी कसलाई हुने टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् ।
आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसेको सत्ता गठबन्धनको बैठकले भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलका शीर्ष नेताको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको थियो ।
प्रतिक्रिया