Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

युएईको नेशनल डे : यसरी बन्यो अरबको समृद्ध मुलुक

युएईले आज २ डिसेम्बरमा आफ्नो ५० औं राष्ट्रिय दिवस मनाउँदै छ । जुलाई १९७१ मा ६ वटा राज्य (आबुधावी, दुबई, शारजहाँ, फुजेरा, अजमान, उम्म अल क्वैन) ले युएई मातहत रहनेगरी संघीय संविधानमा सहमति गरेका थिए । त्यसयता हरेक वर्षको २ डिसेम्बरमा युएईले स्वतन्त्रता दिवस मनाउँदै आएको छ । 

 

संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन युनेस्कोले पनि भविष्यमा युएईको राष्ट्रिय दिवसलाई अन्तर्राष्ट्रिय भविष्य दिवसको रुपमा मनाइने जनाएको छ । दिवसको अवसरमा शुभकामना दिँदै युएईका शासक शेख मोहम्मद विन राशिद अल मकतुमले आगामी पुस्तालाई अवसर र योजनालाई अघि बढाउने जनाएका छन् । 

 

१९७१ मा एउटै संघमा बस्ने निर्णयपछि शेख जाय विदेशमन्त्रीको रुपमा नियुक्त भएका थिए । त्यसपछि गठन गरिएको हाउस अफ द युनियनमा शेख जायद बिन सुल्तान अल नाहयान संघको पहिलो आधिकारिक अध्यक्ष र शेख राखिद उपाध्यक्ष बने । 

 

युएईको झण्डामा रातो, कालो, हरियो र सेतो रंग छ, जुन अरब एकताको प्रतीकर हो । २ डिसेम्बर १९७१ मा नै यो झण्डालाई वैधानिकता दिइएको थियो । भौगोलिक दृष्टिले युएई अरब प्रायद्वीपको दक्षिणपूर्वमा ओमान र साउदी अरबको सीमामा अवस्थित छ । 

 

 

सन् १९५० को दशकमा जब तेलको खोजी भएको थिएन, तब यो देशको अर्थव्यवस्था मोती उद्योग र माछाको व्यवसायमा निर्भर थियो । सन् १९६२ मा युएईका अधिकांश स्थानमा तेलको खोजी भयो । जसले यो मुलुकको अर्थव्यवस्था र जीवनस्तर नै परिवर्तन गरिदियो । अहिले युएई क्षेत्रीय पर्यटन र व्यापारको केन्द्र बनेको छ । 

 

सन् १९५८ मा सइद विन कमतुम अल मकतुमको मृत्युपछि शेख राशिद बिन सइद अल मकतुम युएईको शासक बने, यस मुलुकको विकासको प्रेरक व्यक्तित्व मानिन्छन् । तेलको खोजीका साथ अन्य विकासमा पनि उनी लागेका थिए ।    

 

राष्ट्रिय दिवसको अवसरमा देशका नेताहरुले मुलुक निर्माणको चुनौती सामना गर्ने अग्रज नेतृत्वहरुलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । दुबईका उपराष्ट्रपति तथा शासक शेख मोहम्मद बिन राशिदले युएई स्थापनाको पहिलो पुस्तालाई याद गरे, जसका कारण यो मुलुकको समृद्धिको जग स्थापना भयो । 

 

शेख मोहम्मदले युएईको सबैभन्दा महत्वपूर्ण सम्पत्ती मानव पुजी भएको बताए । ‘हामी मानव पुँजीलाई वास्तविक पुँजी र हाम्रो धनको महत्वपूर्ण तत्व तथा वैश्विक क्षेत्रमा आफ्नो मुख्य सम्पत्ति मान्छौं । उनीहरुको सहयोग विना यो देशको विकास हुन सम्भव थिएन,’ उनले भने । 

 

 

यस अवसरमा युएईका नेताहरुले नागरिकको अझ राम्रो भविष्यका लागि पछिल्लो ५० वर्षको अनुभवलाई उपयोग गर्ने जनाएका छन् । ‘इतिहासले हामीलाई देश सेवामा झनै समर्पित हुन प्रेरित गर्छ । हामी आफ्नो प्रगति र लक्ष्यलाई जारी राख्छौं र सबै विकास सूचकांकमा एक नम्बर बन्न प्रयास गर्छौं,’ शेख मोहम्मदले भने । 

 

 

उनले युएई धेरै महत्वाकांक्षी अन्वेषण परियोजनाहरुका साथमा आगामी ५ दशकमा प्रवेश गर्नेछ । ‘मंगल ग्रहमा हाम्रो सफल मिसनपछि अब एक अन्तरिक्ष यान लञ्च गर्ने योजना छ, जसले चन्द्रमा शुक्र र क्षुद्रग्रहको बेल्ट पत्ता लगाउने छ,’ उनले भने । उनले परमाणु ऊर्जा उत्पादनमा पनि लागिरहेको जानकारी दिए । ‘यसबाहेक हाम्रो देशको विभिन्न वैश्विक प्रतिस्पर्धाको संकेतमा १ नम्बरमा पुग्नेछौं,’ उनले भने । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै