नेपालबाट भारतको कर्नाटक राज्यका गुम्बामा बालकहरुकाे तस्करी
प्रहरीले पछिल्लो समय काठमाडौंसँग जोडिएका आसपासका जिल्ला र देशभरबाट लामा शिक्षाका लागि भन्दै भारतको कर्नाटक राज्यमा रहेका गुम्बहरुमा लैजाने भन्दै बालबालिकाको तस्करी हुने गरेको तथ्य पत्ता लगाएको छ ।
प्रहरीले हालसम्म सार्वजनिक भएका तीन फरक घटनामा काठमाडौं, झापा, सिन्धुली र सिन्धुपाल्चोकमा भएका यस्ता घटनाका आधारमा देशभरका प्रहरी कार्यालयहरुलाई सचेत रहन परिपत्रको तयारी गरिरहेको छ ।
प्रहरीले मंगलबारमात्र १३ वर्ष मुनिका १६ जना बालकहरुलाई थानकोट नाकामा फेला पारेपछि यस्ता घटनाका बिषयमा गंभिर भएर अनुसन्धान गरिरहेको हो ।
प्रहरीका अनुसार थानकोट नाकामा खटिएको प्रहरी र माईती नेपालको टोलीले कर्नाटकको गुम्बामा लैजाने भन्दै सीमा कटाउने तयारीमा रहेका ती बालकहरुलाई सोधपुछगर्दा उनीहरुमात्र होइन यसअघि पनि धेरै बालबालिकाको गैरकानूनी ओसारपसार भएको खुलेको हो ।
प्रहरीको मानव बेचबिखन ब्यूरोका अनुसार सिन्धुली घर भएका बालबालिकाहरुलाई भारतको कर्नाटकमा रहेको गुम्बामा लामा अध्ययनको लागि लैजाने बहानामा जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका खुर्कोटमा रहेको वडा कार्यालयमा सिफारिस लिन गएको अवस्थामा जिल्ला नवलपुर देउचुली नगरपालिकाका सन्तवीर लामा पक्राउ परेका थिए ।
ब्यूरोका अनुसार उनले परिवारसँग बाटो खर्च भन्दै रकम मागेपछि उनलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको थियो । अनुसन्धानकाक्रममा उनले भारत लैजानका लागी आरुबारी स्थित गुम्बामा ३ जना नाबालकहरुलाई राखेको र यस भन्दा अगाडी पनि पटक पटक गरी थुप्रै बालकहरुलाई भारतको कर्नाटकमा रहेको गुम्बामा लैजाने गरेको खुल्न आएको थियो ।
यस्तै झापाको काँकडभिट्टा नाका तथा काठमाण्डौको थानकोट नाकाको प्रयोग गरी नेपालका विभिन्न जिल्लाहरुका बालबालिकालाई लामा पढाउने बाहानामा भारतमा लैजादै गरेको अबस्थामा झापाको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले ८ जना बालबालिकाको उद्धार गरिसकेको छ ।
प्रहरीले बालबालिकालाई नेपालको एक स्थानबाट अर्को स्थानमा वा अन्य देशमा लैजादा स्थानीय बाल अधिकार समिति वा राष्ट्रिय बाल अधिकार परिषदको अनिवार्य सिफारिसमा मात्र लैजान मिल्ने व्यवस्था रहेको हुँदा सम्बन्धित निकायको अनुमती विना बालबालिकालाई ओसारपसार गर्ने कार्य नियन्त्रणको लागि अनुगमन र अनुसन्धान गर्ने तर्फ थप सक्रियता बढाई आवश्यक कारवाही गर्न जरुरी देखिएको जनाएको छ ।
प्रहरीले यस्ता कार्यमा स्थानिय जनप्रतिनिधी समेतकाे अप्रत्यक्ष सलग्नता समेत रहने गरेकाे जनाएकाे छ ।
मानव बेचबिखन ब्यूरोले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागलाई पत्र लेख्दै त्यस्ता अपराधहरु हुनसक्ने सम्भावित स्थानहरुमा उच्च निगरानी बढाउने ,भरपर्दो सूचना संकलन गर्ने र स्थानीय सरोकारवाला संघ संस्थाहरु सँगको समन्वयमा अनुगमन गरि यस किसिमको अपराध भए गरेको पाईएमा अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि कानुनी कारवाही गर्ने तथा पीडितको उद्धार र पुनर्स्थापनको व्यवस्था मिलाउने तर्फ मातहत प्रहरी कार्यालयहरुमा आवश्यक निर्देशन प्रदान गर्नका लागी महानगरीय प्रहरी कार्यालय र सबै प्रदेश प्रहरी कार्यालयहरुमा परिपत्र गरिदिन अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया