षड्यन्त्र र काटमारपछि कीर्ति मन्दिर यसरी बन्यो नारायणहिटी दरबार
काठमाडौंस्थित नारायणहिटी दरबार नेपालका राजाहरुको निवास स्थान हो । मुलुकमा गणतन्त्र स्थापनासँगै पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले छाडेपछि यो दरबार अहिले संग्रहालयमा परिणत भएको छ ।
यद्यपि, यो दरबारबाट थुप्रै राजाहरुले नेपालमा शासन चलाएका छन् । नेपालको प्रमुख इतिहासको केन्द्र नारायणहिटी दरबारकै इतिहास के छ त ? कसरी यो दरबारको निर्माण भयो ?
यसबारेमा नेपाली सेनाका अवकाशप्राप्त कर्णेल प्रेमसिंह बस्न्यातले सार्वजनिक गरेको केही तथ्य यस्ता छन् :
पहिले यो क्षेत्र खेत थियो । त्यसबेला हालको दरबार मार्ग, जय नेपाल सिनेमा घर, हात्तीसारसमेत प्रधानसेनापति काजी शिवरामसिंह बस्न्यातको सन्तानको देखिन्छ । उनका कान्छा छोरा काजी (मन्त्री) धौकल (धोकल) सिंह बस्न्यातले श्री ५ महाराजधिराजबाट अनुमति लिएर आफ्नो निवास बनाए ।
यो विशाल र सुन्दर पनि थियो । विसं. १८५० को वसन्त पञ्चमीको दिनमा बसोबास सुरु गरेको यस निवासको नाम ‘कीर्ति मन्दिर’ थियो ।
मन्त्री धौकलकी माता सुरप्रभा नारायणको भक्त थिइन् । कीर्ति मन्दिरको साथमा नारायण मन्दिर पनि निर्माण भयो । ज्योतिषको सुझावअनुसार त्यस मन्दिरमा राख्ने नारायणको मूर्ति सिन्धुली खुर्कोट इलाकामा बनाई ल्याउनू भन्ने भएकोले उतै बनाइयो ।
खुर्कोट इलाकाबाट ७ जना भरिया लगाई नारायणको मूर्ति काठमाडौं ल्याउने सिलसिलामा हाल काभ्रेको तिमाल कोटको डाँडोमा बास पर्यो । भोलिपल्ट भरियाहरुले मूर्ति बोकेर हिंड्न लाग्दा बोक्नै नसकिने गह्रौं भयो र हुरी बतास पनि आएर ल्याउन सकिएन ।
त्यसै रातमा सुर प्रभालाई सपनामा नारायण भगवानले ‘मलाई यसै स्थानमा मन्दिर बनाई स्थापना गरिदेऊ’ वाणी भएपछि उनले त्यसै स्थानमा मन्दिर बनाई नारायण भगवानको पूजा गरिन् । अनि ठूलो गुठी जग्गा पनि राखिदिइन् ।
त्यसैले तिमाल कोटको नारायण मन्दिर बडावीर सेनापति शिवराम सिंह बस्न्यातको धर्मपत्नी सुरप्रभाले बनाएको हो ।
कीर्ति मन्दिरको लागि भने ज्योतिषको अर्को सुझावअनुसार काठमाडौंको पूर्वी–दक्षिण पर्ने नजिकैको क्षेत्रबाट अर्को नारायणको मूर्ति बनाई स्थापना गरी पूजा गरियो । तसर्थ हाल नारायणहिटी दरबारमा रहेको मन्दिर र मूर्ति मन्त्री धौकल सिंह बस्न्यातले बनाएका हुन् । पछि त्यस मन्दिरको सुधार हुँदै गयो ।
त्यस नारायण मन्दिरको अगाडि परापूर्व कालदेखिको धारा अर्थात् ‘हिटी’ छ । मेरो अनुमानमा यही नारायण मन्दिर र त्यो हिटीको संयुक्त नामबाट नै पछि यो क्षेत्रको नाम ‘नारायणहिटी’ भयो ।
वि.सं. १८५७ मा धौकललाई गडवालको मुख्य प्रशासक बनाई पठाइयो । अर्को वर्ष अर्थात् १८५८ सालमा कुनै षड्यन्त्रले आफ्नै सेनाबाट उनको हत्या गरियो । उनको मृत्युपछि कुनै कारणविना नै सो कीर्तिमन्दिर प्रधान सेनापति भीमसेन थापाले राज्यमार्फत जफत गराए ।
अनि धौकलको परिवारको बिल्लीबाठ बनाइदिए । सो निवास भीमसेनले आफ्न भाई काजी बख्तावर सिंह थापालाई दिए । भीमसेन थापाको मृत्युपछि सो निवास चौतारिया फत्तेजङ शाहको सन्तानले पाए ।
नारायणहिटी दरबारको प्रवेशद्वार र रणोदीप राणाको दरबार पुनर्निर्माण गरिँदै
कोत पर्वमा फत्तेजङहरु मारिएपछि जङ्गबहादुरले सो निवास उनको भाई रणोदीप राणालाई दिए । पछि रणोदीप राणा श्री ३ बनेपछि हनुमान ढोकामा रानीहरुको षड्यन्त्रबाट बालक श्री ५ राजालाई मार्लान् भनी उनीसँगै नारायणहिटीमा लगेर सँगै राखे ।
धीर शमशेर राणाका छोराहरुले काका श्री ३ रणोदीपको हत्या गरी वीरशमशेर श्री ३ बनेपछि धौकलसिंहको कीर्ति मन्दिर भत्काई अर्कै दरबार बनाए । सायद अब मात्र यो दरबारको नाम ‘नारायण हिटी’ भएको पनि हुन सक्छ ।
त्यसपछि भने हनुमान ढोका दरबारबाट श्री ५ महाराजधिराजहरुलाई यही दरबारमा सारियो । हाल लाल दरबार भएको ठाउँ पनि मन्त्री धौकलको अर्को घर थियो । कोत पर्वपछि धीर शमशेरले सो घर र जग्गा पाएका थिए ।
यो नारायण हिटी दरबार मन्त्री धौकलसिंहको हो । उनको सन्तानलाई कुनै शोधभर्ना नदिईकनै यो निवास हरण गरिएको थियो । हाल असनबाट इन्द्रचोक जाने बाटोमा रहेको ‘पल्टन घर’ अर्थात् ‘तिलङा घर’ पनि धौकलका साँहिला दाई प्रधान सेनापति अभिमानसिंह बस्न्यातले वि.सं. १८३३ मा बनाएका थिए, जसको वास्तविक नाम ‘मान मन्दिर’ हो ।
–यो आलेख हामीले नेपाली सेनाका अवकाशप्राप्त महासेनानी प्रेमसिंह बस्न्यातको फेसबुक पोस्टबाट साभार गरेका हौं ।
प्रतिक्रिया