राष्ट्रपति निवासबाहिर हिंसात्मक प्रदर्शनपछि श्रीलंकामा आपतकाल घोषणा
श्रीलंकामा राष्ट्रपतिको निवासबाहिर बिहीबार हिंसात्मक विरोध प्रदर्शनपछि देशभर आपतकाल घोषणा गरिएको छ । उक्त दिन प्रदर्शनकारीले कोलम्बोस्थित राष्ट्रपति गोदाबाया राजापाक्षेको निजी निवासअघि निषेधित क्षेत्र तोड्नुका साथै सवारीसाधनमा आगो लगाएका थिए ।
घटनापछि सेना तैनाथ गरिएको थियो । सेनालाई विना वारेन्ट संदिग्धलाई पक्राउ गर्ने अधिकार दिइएको छ । सुरुमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरिएको विरोधमा संलग्नहरुको भनाइ छ । जब प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा हान्न थाले त्यसपछि प्रदर्शन हिंसात्मक भएको हो । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा गरेका थिए ।
श्रीलंका एक अधिकारीले झडपको क्रममा कम्तीमा पनि दुई दर्जन प्रहरी घाइते भएको बताएको रोयटर्सले जनाएको छ । समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार शुक्रबार ५३ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । पाँच जना फोटोग्राफरलाई हिरासतमा राखिएको छ ।
श्रीलंकाले स्वतन्त्रतापछिको सबैभन्दा गम्भीर आर्थिक संकट व्यहोरिरहेको छ । उपभोग्य सामग्रीको मूल्यवृद्धि र अभावका कारण जनजीवन कष्टकर भएको छ ।
प्रतिक्रिया