कान्तिपुर र नागरिक कम्युनिटी अस्पतालमा नक्कली पीसीआरको धन्दा, सञ्चालक फरार
प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका कर्मचारी तथा बिचौलियालाई पक्राउ गरेको छ । अस्पतालका ल्याबका सञ्चालक भने फरार छन् ।
भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालि कर्मचारी र बिचौलिया पक्राउ परेका हुन् ।
महानगरीय अपराध महाशाखाका अनुसार उनीहरुले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई बनाउँदै आएका थिए ।
पक्राउ पर्नेमा नागरिक कम्युनिटीका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रसन्न कुमार झा पक्राउ परेका छन् । यस्तै, कान्तिपुर अस्पतालका कर्मचारी नागेन्द्रकुमार यादव, अस्पतालको ल्याबका कर्मचारी माधव मैनाली छन् ।
छिट्टानको साथबाट ८ थान र यादवको साथबाट १७ थान नक्कली पिसीआर रिपोर्ट फेला परेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए ।
महाशाखाको प्रहरी टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट उत्पादन गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै, दुवै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास भइरहेको महाशाखाले जनाएको छ ।
कान्तिपुर र नागरिक कम्युनिट अस्पतालका ल्याबहरु
दुवै अस्पतालका पीसीआर ल्याबहरु सिल गरी पीसीआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको महाशाखाले जनाएको छ ।
ती अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ पीसीआर रिपोर्ट दिने गरेको, ल्याबमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल सिग्नेचर प्रयोग गरी रिपोर्ट दिने गरेको, कतिपय पीसीआर पोजेटिभ देखिएका नमूनाहरुको सीटी भ्याल्यु तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
यस्तै, ती अस्पतालहरुले केही बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनी परिचयपत्र समेत बनाई दिई सामूहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको र उनीहरुले प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म असुल गरेको भेटिएको छ ।
क्युआर कोडबाट स्क्यान गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै रिपोर्ट बनाउने गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया