Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

करोडौं रकम हिनामिनाको आरोपमा प्राइम लाइफ इन्स्योरेन्समाथि छानबिन सुरु

बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्समाथि छानबिन थालेको छ । नक्कली कर्मचारी खडा गरेर करोडौं रकम अपचलन गरेको आरोप लागेपछि इन्स्योरेन्समाथि समितिले छानबिन थालेको हो । 

 

समितिका प्रवक्ता राजुरमण पौडेलले निरीक्षण टोली पठाएर इन्स्योरेन्सको कागजात नियन्त्रणमा लिइएको र छानबिन थालेको पर्दाफासलाई जानकारी दिए । ‘इन्स्योरेन्समाथि नक्कली कर्मचारी खडा गरेर रकम अपचनल गरेको आरोप लागेपछि हामीले निरीक्षण टोली पठाएका थियौं,’ उनले भने, ‘टोलीले काम थालिसकेको छ ।’ 

 

पौडेलका अनुसार टोलीले छानबिनपछि बुझाउने प्रतिवेदनका आधारमा मात्र कारबाही हुने नहुने टुंगो लाग्नेछ । ‘हामी यो घटनामा निकै संवेदनशील छौं,’ उनले भने, ‘छानबिनपछि मात्र अपचलन भए नभएको टुंगो लाग्नेछ भने त्यसपछि मात्र कारबाहीको कुरा आउनेछ ।’

 

इन्स्योरेन्सलाई ३३ जना नक्कली कर्मचारी खडा गरेर उनीहरुको नाममा रकम भुक्तानी गरेको आरोप लागेको हो । पर्दाफासलाई प्राप्त काजगपत्रमा ती कर्मचारीलाई सन् २०१९ जनवरीमा ४ करोड ३५ लाख रुपैयाँ भुक्तानी भएको पाइएको छ । इन्स्योरेन्स स्रोतका अनुसार ती व्यक्तिहरु कुनै समय इन्स्योरेन्समा जागिरका लागि अन्तर्वार्ता दिन पुगेका थिए । 

 

त्यस क्रममा उनीहरुले बुझाएको नागरिकता लगायत कागजपत्र र फोटोको दुरुपयोग गरी सिद्धार्थ बैंकमा खाता खोली इन्स्योरेन्सकै उच्च अधिकारीहरुले रकम हिनामिना गरेको आरोप लागेको हो । 

 

इन्स्योरेन्स स्रोतका अनुसार उक्त रकम निकासा भएका व्यक्तिलाई यसबारे जानकारी नै थिएन । ‘उनीहरुले अहिले खाता बन्द गर्न खोजे पनि प्राविधिक कारणहरुले अप्ठ्यारो परिरहेको छ,’ स्रोतले भन्यो ।

 

इन्स्योरेन्सका पदाधिकारीले भने यो विषयमा बीमा समितिले छानबिन सुरु गरिसकेको र त्यसैबाट यथार्थ बाहिर आउने भन्दै पर्दाफाससँग कम्पनीको धारणा राख्न मानेनन् । ‘यो पुरानो कुरा हो, हामीले कुनै मिडियामा पनि आफ्नो आधिकारिक धारणा प्रस्तुत गरेका छैनौं,’ कम्पनीका एक पदाधिकारीले भने, ‘बीमा समितिले छानबिन थालिसकेको छ । त्यसपछि तथ्य बाहिर आउला ।’

 

ती पदाधिकारीले उक्त रकम प्रवाह भएको विवरणको कागजात भने सही रहेको पर्दाफासलाई बताए । ग्यालेक्सी फोरके टिभीले यसबारे पहिलोपटक रिपोर्ट प्रसारण गरेपछि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

यी निष्ठुरी आमा जसले दुई नवजात शिशुको हत्या गरेर फोहरसँगै फालिन

दक्षिण क्यारोलिनाकी एक ३२ वर्षे आमालाई दुई फरक घटनामा आफ्ना नवजात शिशुको हत्या गरेर फोहरको कन्टेनरमा फालेको प्रमाणित भएपछि स्थानिय अदालतले ४० वर्षको जेल सजाय सुनाएको छ । 

मङ्सिर १५, २०७८