Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

सर्वोच्च अदालतमा लागू हुन लागेको गोला प्रक्रिया के हो ? केके छ फाइदा ?

सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा प्रक्रियाबाट पेसी हुने भएको छ । अब हरेक दिन कार्यालय समयको सुरुवातमा सबै न्यायाधीशले गोला तानेर इजलास गठन गरिन्छ । त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइ हुनेछ । 

 

यसअघि भने प्रधानन्यायाधीशले इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने गर्दै आएका थिए । तर, त्यसो गर्दा प्रधानन्यायाधीशले आफूखुसी र सेटिङमा मुद्दाको लागि न्यायाधीश र इजलास तोकेको आरोप लागेको छ ।

 

त्यसैले पनि अल्पकालीन रुपमा गोलाप्रथा सुरु गर्नुपर्ने र दीर्घकालीन रुपमा स्वचालित पेसी प्रक्रिया अपनाउनुपर्ने सुझाव सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्कीले साउनमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ । हाल आन्दोलनरत कानुन व्यवसायीहरुको विभिन्न मागहरुमध्ये यो पनि एउटा हो ।

 

संविधानमा व्यवस्था भएअनुसार सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुन्छन् । तर, एक जना न्यायाधीशको पद खाली हुँदा हाल २० जना मात्रै छन् । प्रधानन्यायाधीश बाहेक अन्य न्यायाधीशहरुको वरियताअनुसार नम्बरमा रोलक्रम हुन्छ । 

 

उनीहरुले अब हरेक दिन एउटा हलमा जम्मा भएर गोला तान्नुपर्नेछ, जहाँ चारवटा थैली हुनेछ । पहिलो थैलीमा बृहत पूर्ण र पूर्ण इजलासहरु गठनका लागि १ देखि २१ नम्बरका गोटी राखिन्छ । दोस्रो थैलीमा ‘अ’ र ‘आ’ लेखेका दुईटा गोटी र न्यायाधीशको संख्या अनुसारमा अरु खाली गोटी राखिन्छ, जसबाट एकल इजलासको टुंगो लगाइन्छ । 

 

तेस्रो थैलीमा संयुक्त इजलासको संख्या अनुसारको संकेत रहेका गोटीहरु हुन्छन् भने चौथो थैलीमा ‘क’, ‘ख’, ‘ग’ लेखेका मुद्दाको समूह जनाउने गोटी राखिएको हो । इजलास गठन भएपछि न्यायाधीशहरुमध्ये हरेक इजलासका एकजनाले गोटी तानेर त्यस समूहको मुद्दा कसले हेर्ने भन्ने टुंगो लगाइन्छ । 

 

कार्की नेतृत्वको अध्ययन समितिले न्याय सम्पादनको क्रममा हुने बेथिति र अनियमितता रोक्न भन्दै यस्तो प्रक्रियाको सुझाव दिएको हो । नेपाल एसोसिएसन बारले पनि गोला प्रक्रियामा जानुपर्ने भनी माग गर्दै आएको थियो । 

 

यो प्रक्रियाबाट अब प्रधानन्यायाधीशले आफू अनुकूलको इजलास गठन गर्न नपाउने र अनियमितता घट्ने अपेक्षा गरिएको छ । यस्तै, अब कुनै न्यायाधीश अर्को न्यायाधीशसँग पर्ने टुंगो नलाग्दा मुद्दामा चलखेल हुने सम्भावना पनि घट्ने न्याय निरुपणमा बद्मासी हुन नदिने विश्वास गरिएको छ ।   
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै