यी स्थानमा भारी हिमपात हुँदै, सचेत रहन सरकारको आग्रह
देशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार सूचना जारी गर्दै आजदेखि हिमपातको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ । ती प्रदेशहरुका पहाडी तथा तराईका केही भूभागहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
‘मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपाउन हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रमका कारण मौसम बदली हुन लागेको हो । शुक्रबारदेखि यो प्रणाली विस्तारै कमजोर हुँदै जाने महाशाखाले सूचनामा उल्लेख गरेको छ ।
प्रतिक्रिया