‘ओभरस्पीड’मा सवारी चलाउनहुन्छ ? ट्राफिक प्रहरीको फन्दामा पर्नुहोला है
के तपाईं राति तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा होसियार हुनुहोला ।
किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ सुरु गरेको छ ।
विशेष गरी कोटेश्वर–सूूर्यविनायक सडक, रिङरोड र चौडा सडकहरुमा तीव्रगतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरी तीव्रगति नियन्त्रणको अभियान सुरु गर्दै आएको छ ।
दैनिक रुपमा दिउँसो हुने चेकिङमा तीव्र गतिमा सवारी चलाउने ३५/४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
‘अब भने राति समेत ओभरस्पिड चेकिङ गरी गति नियन्त्रण गर्ने अभियान पहिलो पटक सुरु गरेका छौं । तीव्र गतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराइएको छ,’ भट्टराईले भने ।
उनले मंगलबार रातिदेखि नाइट भिजन लेजर स्पीड गनको प्रयोग सुरु गरेको र यसले तीव्र गति नियन्त्रणका साथै राति हुने दुर्घटना न्यूनीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाइट स्पीड चेकिङलाई कडाइका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ ।
प्रतिक्रिया