महामारीमा सामाजिक सञ्जाल बन्यो ठगीको औजार
पत्रकार ओम शर्मा, कलाकार सरोज खनाल र दीपाश्री निरौला त देखिएका पात्र भए । यतिबेला सामाजिक सञ्जाल मार्फत कोभिडलाई कारण बनाएर ठग्ने गिरोह सक्रिय छ । यसको औजार बनेको छ सामाजिक सञ्जाल ।
रातोपाटी डटकमका सञ्चालक ओम शर्मा केही दिनअघि कोरोना संक्रमण भएर सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत थिए । त्यही बेला एक गिरोह भने उनको नक्कली फेसबुक एकाउन्ट खोलेर ठगी कार्यमा संलग्न भयो ।
पत्रकार शर्माको सक्कली फेसबुक एकाउन्टको दुरुस्तै नक्कल गरिएको त्यस आइडीबाट शर्माका निकटस्थहरुसँग पैसा माग्न थालियो । शर्माको नक्कली फेसबुकबाट उनका नजिकका व्यक्तिहरुसँग मेसेन्जरमार्फत कुराकानी गरिएको थियो ।
त्यसक्रममा सञ्चोबिसञ्चो सोधिएपछि ‘तपाईंसँग फोन पे छ ? म अप्ठ्यारोमा परे सहयोग चाहियो’ भन्ने व्योहोराको म्यासेज गरिएको थियो । नक्कली आइडीबाट १५ हजार रुपैयाँसम्म मागिएको थियो र रकम पठाउनका लागि एकाउण्ट नम्बर पनि पठाइएको थियो ।
नक्कली फेसबुक आइडी बनाएर रकम माग्ने प्रवृत्तिको शिकार वाग्मती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठ पनि भएका छन् । उनको दुरुस्तै नक्कली फेसबुक आइडी बनाएर नजिकका साथीहरुबाट रकम मागिएको छ ।
गत चैतमा कलाकार तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक एकाउन्ट ह्याक भयो । ह्याकरले निरौलाका नजिकका व्यक्तिसँग सहयोग चाहिएको भन्दै रकम माग्न थालेपछि यो घटना बाहिर आयो । दीपाको फेसबुकबाट ह्याकरले उनको भान्जा सुमन गिरीसँग अप्ठेरो परेको भन्दै एक लाख मागेका थिए ।
‘मेरो नामबाट सुमन भान्जासँग एक लाख मागेको रहेछ,’ दीपाले भनिन्, ‘एकाउन्ट नम्बर पनि पठाएको रहेछ । पछि त्यो अर्कैको भन्ने थाहा पाइयो ।’ त्यसपछि उनी उजुरी दिन प्रहरीकोमा पुगेकी थिइन् ।
यसैगरी, अभिनेता सरोज खनालको समेत फेसबुक ह्याक भएको थियो । उनको एकाउन्टबाट ह्याकरले म्यासेज गर्दै पैसा माग्न थालेको थियो । बेलायतमा बस्ने इशा गुरुङले सरोजको एकाउन्टबाट मेसेज गरेर आफूसँग पैसा मागिएको जानकारी दिएकी थिइन् ।
उनीहरुको फेसबुक ह्याक भएपछि कलाकार दीपकराज गिरीले सबैलाई सजग गराउने उद्देश्यले स्टाटस लेखेका थिए । ‘दीपाजीको फेसबुक ह्याक भएको छ । सरोज खनाल दाइको पनि ह्याक भएको छ । ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ । अत सजग हुनुहोला !’
पछिल्लो समय अनलाइन तथा सामाजिक सञ्जालको दुरुपयोग गरेर भइरहेको ठगी घटनाका यी केही प्रतिनिधि उदाहरण हुन् । नेपाल प्रहरीले अनलाइनमार्फत हुने यस्ता घटनाको अनुसन्धान तथा कारबाहीका लागि छुट्टै साइबर ब्युरो नै खडा गरेको छ । ब्युरोले पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोगको घटना बढेपछि सूचना नै सार्वजनिक गरेर सजग रहन आग्रह गरेको छ ।
यसै क्रममा प्रहरीले कलाकारहरुको फेसबुक ह्याक गर्ने, एकाउन्टबाट उनीहरुका साथीहरुसँग रकम माग गरेको आरोपमा पर्सा बहुदरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय नाबालकलाई पक्राउ गरेको थियो ।
ब्युरोका प्रवक्ता एसएसपी नवीन्द अर्यालले फेसबुक ह्याक गरेर रकम माग्ने प्रवृत्ति पछिल्लो समय बढेको पर्दाफासलाई जानकारी दिए । उनका अनुसार ह्याकरले ती व्यक्तिको नजिकका साथीहरुलाई अप्ठ्यारो पर्यो, सहयोग चाहियो भन्दै रकम माग्ने गरेको पाइएको छ ।
‘विगत ३÷४ वर्षदेखि चिठ्ठा परेको भन्दै फेसबुक, ह्वाट्सएप, भाइबर, इमो लगायतबाट ठग्ने प्रवृत्ति थियो । पछिल्लो समय भने सामाजिक सञ्जालबाट ह्याकिङ र अनैतिक क्रियाकलाप गरेर ठग्ने प्रवृत्ति देखिएको छ,’ उनले भने ।
ब्लाकमेलिङका लागि उनीहरुले सर्वप्रथम फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउने गरेका छन् । त्यसपछि राम्रा कुराहरु गर्ने साथी बनाउने गर्छन् । अनि म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो लगायतबाट सम्पर्क गर्दै अपरिचित व्यक्ति आफैले अश्लील क्रियाकलाप देखाई सम्बन्धित व्यक्तिलाई पनि उक्साई अनैतिक कुराकानी तथा अश्लील क्रियाकलापमा संलग्न गराउने गरेको पाइएको छ ।
पछि त्यही भिडियो कलको रेकर्ड गरी साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिने गरेका छन् । उनीहरुले धम्की दिएर बारम्बार रकम माग गर्ने गरेका घटनाहरु बढ्दै गएको एसएसपी अर्यालले बताए ।
ब्युरोले त्यस्ता क्रियाकलापप्रति सजग रहन तथा आपराधिक व्यक्ति तथा समूहको शिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारले भिडियोकल भ्वाइसकल नगर्न पनि सूचित गरेको उनले जानकारी दिए ।
‘यस्तो घटनाहरुको शिकार बालबालिका, महिलादेखि अहिले त पुरुषसमेत भएका छन्,’ उनले भने, ‘निषेधाज्ञाका कारण अहिले अनलाइनबाट उजुरी लिने र कारबाही गर्दै आएका छौं ।’
उनका अनुसार सातामा १०–१५ वटा यस्ता समस्या लिएर फोन कलहरु ब्युरोमा आउने गरेका छन् । यस्तो ठगी कार्यमा देशदेखि विदेशमा बस्नेहरु पनि संलग्न रहेको पाइएको छ ।
ब्युरोका प्रमुख डीआईजी रामकृपाल साहले सामाजिक सञ्जाल दुरुपयोगका घटना बढेपछि सूचना जारीसँगै उजुरी आएका घटनामा तत्काल कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘अनलाइनका साथै देशभरका प्रहरी कार्यालयबाट पनि उजुरी लिएर कारबाही गर्दै आएका छौं,’ उनले भने ।
प्रतिक्रिया