Archive for the ‘CIB’ Category

केन्द्रीय अनुसन्धान ब्युराेले पक्राउ गरेका गुम्बे ।

काठमाडौं– प्रहरीले रुपन्देही र काठमाडौंमा भएका दुई फरक घटनामा गोली प्रहारगर्ने मुख्य आरोपीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले रुपन्देहीका नेकपा एमालेका कार्यकर्ता दुर्गा तिवारी र निर्माण ब्यवसायी शरदकुमार गौचन उपर गोली प्रहारगर्ने बाघमारे भन्ने श्यामबहादुर गोम्बीलाई पक्राउ गरेको हो । गोम्बी मनोज पुन भन्ने मनोज बुढामगरका मुख्य सहयोगी हुन ।
ब्युरोका अनुसार असोज २३ गते निर्माण ब्यबसायी महासंघका अध्यक्ष गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटनामा गोम्बी प्रत्यक्ष संलग्न रहेका थिए । बाराका गोम्बी चितवनमा डेरागरि बस्थे ।
यस्तै गोम्बी गत वर्ष पुस ४ मा रुपन्देही, देवदह खैरहनीमा तिवारीलाई गोली प्रहार गरी हत्या गरेको घटनामा समेत प्रत्यक्ष संलग्न रहेका थिए ।
पक्राउ आरोपीलाई ब्युरोले थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

 

काठमाडौं– देवदहका बलु भन्ने बसन्त पौडेलको हत्यामा भारतको बिहारबाट भित्रिएको मोटरसाईकल, इटालियन नाईन एमएम क्यालिबर पेस्तोल र मनोज पुन भन्ने मनोज बुढामगरकको लगानी र ब्यवस्थापनमा भएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रदेश प्रहरीले गरेको संयुक्त अनुसन्धानमा पुस २१ गते हत्या गरिएका बलुको हत्यामा संलग्न पटके अपराधीलाई मनोज र उनका सहयोगी सोमबहादुर आलेले निर्देशन दिएको तथ्य खुलेको हो ।
घटनामा प्रत्यक्ष संलग्न दुईजनालाई केन्द्रीय अनुसन्धान ब्युरो र संघिय प्रहरी इकाई कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।
रुपन्देही देवदह नगरपालिका खैरेनी चोक बस्ने बलु भन्ने बसन्त पौडेललाई ढेकार स्थित आफ्नै काठ फर्निचर मिलमा मोटरसाईकलमा आएका दुइजनाले गोली प्रहार गरि हत्या गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेका नवलपरासीका पदम चौधरी र सुनसरीका महेन्द्र भन्ने महिनारायण चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पदम २०७४ साल बैशाखमा कारागारबाट अपहरण तथा शरिर बन्धक मुद्दामा सजाय भुक्तान गरि छुटेको र महिनारायाण् २०७४ साल जेष्ठ १५ गते कारागारबाट हातहतियार खरखजना मुद्दामा सजाय भुक्तान गरि छुटेका पटके अपराधी हुन ।
दुबैले मनोज पुन भन्ने मनोज बुढा मगर र सोमबहादुर आले लगायतको सम्पर्कमा रहि घटना घटाउन मोटरसाईकल सुरक्षित राख्ने, मृतकको घर तथा कारखाना अवलोकन गर्ने, मोटरसाईकल चालकको व्यवस्थापन गर्ने, मनोजले पठाएको हातहतियार गोलीगठ्ठा सुरक्षित राख्ने, घटना पश्चात सुटर तथा मोटरसाइकल चालकलाई भाग्नको लागी सुरक्षित बाटो देखाउने र गोली हान्दा प्रयोग गरेको पेस्तोल, कट्टा तथा बाँकि गोलीहरु सुरक्षित राख्ने काम गरेका हुन ।
महिनारायणले घटनाको दिन पेस्तोल लिई सुटरसँगै घटनास्थल गई हतियार ताकी गोली हान्न सघाएको, गोली हाने पश्चात सुटरलाई उक्त मोटरसाइकलमा राखी भागेको, घटना पश्चात आफ्नो साथमा रहेको हतियार तथा सुटरको साथमा रहेको हतियार जङ्गलमा सुरक्षित राख्ने काम गरेका थिए ।

प्रहरीले अपराधमा प्रयोग गरिएको लु ४ प १४ नम्बर लेखिएको ग्ल्यामर मोटरसाईकल भारत बिहारको भवानपुर भैसाली बस्ने बिनय कुमारको नाममा रहेको तथ्य पत्ता लगाएको हो ।
बलुको हत्या लगत्तै व्यूरोबाट प्रहरी वरिष्ठ उपरिक्षक घनश्याम अर्याल र नायव उपरिक्षक भिष्म हुँमागाइ सहितकाे अनुसन्धान टोली खटाएको थियो । यस्तै संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाबाट प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीको कमाण्ड घटनाको अनुसन्धानमा खटिएको थियो। टोलीले जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक श्यामलाल ज्ञवालीको प्रत्यक्ष सम्पर्क तथा संलग्नतामा अनुसन्धान कार्य गरेको हो ।

बरामद अाखेटाेपहार सहित पक्राउ अाराेपीलार्इ सार्वजनिक गर्दै प्रदेश ४ प्रहरी

काठमाडौं– दुर्लभ तथा संरक्षित बन्यजन्तुको अवैध चोरीशिकारी र आखेटोपहारको अवैध कारोबार बिरुद्धको अप्रेशनमा प्रहरीले ठुलो सफलता पाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ प्रहरीको सहयोगमा गरेको अप्रेशनमा ठुलो परिमाणमा दुर्लभ ध्वाँसे चितुवाको छाला र हड्डी सहित कारोबारीलाई पक्राउ गरेको हो ।

राजमार्गमा ब्युराे र स्थानिय प्रहरीकाे कारवाही

प्रहरीले आबुखैरेनी गाउँपालिका–४ पुलजिपस्थित पृथ्वी राजमार्गबाट नुवाकोटको शिवपुरी गाउँपालिका बस्ने २८ वर्षीय भिमबहादुर तामाङ र गोरखाको सुलीकोट–२ बस्ने ३५ वर्षीय ईतबहादुर घलेलाई चितुवाको छाला ३ थान, सोको हड्डी ५ केजी ५ सय ५० ग्राम सहित मंगलबार पक्रेको हो ।
ब्युरोका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१५ च ७४५६ नम्बरको स्कारपियो गाडीलाई केन्द्रीय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय आबुखैरेनीको संयुक्त टोलीले खानतलासी गर्दा गाडीमा सवार तामाङ र घलेलाई उक्त वस्तु सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको छ ।

काठमाडौं– प्रहरीले काठमाडौंकै प्रतिष्ठितमध्ये एक मानिएको शालिमार ज्वैलर्सका संचालकलाई सुन तस्करीको आरोपमा पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत पुस २१ मा बरामद साढे ३३ किलो सुन तस्करीको घटनामा प्रतिवादी बनाईएका शालिमार ज्वैलर्सका संचालक राहुल गोयललाई पक्रेको हो । ब्युरोले दुबईबाट तस्करी गरि भित्राएको साढे ३३ किलो सुन विमानस्थल बाहिरबाट बरामद गरेको थियो
ब्युरोले अनुसन्धानको क्रममा १२ जना प्रतिवादीहरु पक्राउ गरी ३३ जना प्रतिवादीहरु बिरुद्द संगठित अपराध अन्तर्गत अनुसन्धान गरी जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौ मार्फत मिति चैत्रमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा बुझाएको थियो ।
संगठित अपराध मुद्दामा संलग्न भई फरार रहेका भारत राजस्थान गंगानगर स्थायी ठेगाना भएका राहुललाई पुस २६ मा ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौं– गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा पुस ४ मा भएको आगलागी प्रमाण नष्टगर्ने उद्देश्यबाट योजना बनाएर गरिएको निश्कर्ष सहित अनुसन्धानको जिम्मेबारी केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको छ ।
सशस्त्रको स्टोर रुममा पुस ४ गते एकाबिहानै आगलागी भएको थियो । घटनामा २०६१ पछिका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका थिए । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले एकजना सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिती पुस ५ मा गठन गरेको थियो ।
मन्त्रालयका अनुसार छानबिन समितीले पुस २३ मा बुझाएको प्रतिवेदनमा सुनियोजित तरिकाले श्रेष्ता तथा कागजपत्र जलाउने उद्देश्यले आगलागी भएको निश्कर्ष निकालेको हो ।
छानबिन समितीले सशस्त्र प्रहरीको आर्थिक प्रशासन निर्देशनालय र सो मातहत रहेका शाखा कर्मचारीलाई तत्काल हटाएर अनुसन्धानको जिम्मेबारी सिआईबीलाई दिन भनेको हो ।
घटनाको प्रारम्भीक अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले यसअघि नै सशस्त्रका नायब निरीक्षक र हवल्दारलाई पक्राउ गरेर कारवाही गरिरहेको छ ।
नेपालको सुरक्षा इतिहासमा पहिलो पटक एउटा सुरक्षा संगठनले भ्रष्टाचार ढाकछोपगर्न आफ्नै मुख्यालयमा आगलागी गराएको हो ।

हेर्नुहोस गृह मन्त्रालयको प्रतिवेदन सक्षिप्त विवरण

Home Ministry Report

काठमाडौं – प्रहरीले दाङमा सातवर्ष अघि भएको दोहोरो हत्याका मुख्य आरोपीलाई कोहलपुरबाट पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सातवर्षअघि दाङको तत्कालिन गंगा परस्पुर गाबिस हाल गढवा नगरपालिकाका मणीराम कुमाल चौधरी र आशू कुमारी कुमाल चौधरीको हत्यामा संलग्न मुख्य अभियुक्त नरेश कुमाल चौधरीलाई पक्रेको हो ।
ब्युरोका अनुसार २०६७ जेठ २३ मा घरमा सुतिरहेका कुमाल दम्पत्तीलाई नातेदार नरेशले धारिलो हतियार प्रहारगरि मारेका थिए । घटनापछि भागेर भारत गएका नरेश माघि मनाउन नेपाल आएका बेला ब्युरोले कोहलपुर नयाँ सडकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका नरेशलाई आवश्यक कारवाहीका लागि ब्युरोले दाङ प्रहरीको जिम्मा लगाएको जनाएको छ ।

Photo From RAW Official Web Site

काठमाडाैं– भारतीय गुप्तचर संस्था अनुसन्धान औंर बिश्लेषण विङ (रिसर्च एण्ड एनालाइसिस विङ ‘र’) को नाममा तीनय बढि युवा ठगिएका छन । ठगीमा संलग्न आरोपीले नेपालस्थित भारतीय दुतावासको लेटर प्याड र ‘र’ कै लोगो समेत प्रयोगगरि नक्कली नियुक्ती पत्र समेत तयार पारेर युवाहरुलाई रोजगारीका नाममा ठगेका हुन ।
महानगरीय अपराध महाशाखाले सप्तरीका रमाकान्त नोनियालाई आइतबार कलंकीबाट पक्रेको हो। रमाकान्तले केही महिनादेखि २ सय २० जनाभन्दा बढी मानिसलाई ‘र’ मा जागिर लगाइदिने भन्दै रकम लिने गरेका थिए।
खाडी देशबाट केही समय अघि फर्किएका रमाकान्तले युवालाई नियुक्ती पत्र दिनुका साथै सूचना संकलनका लागि आधार क्षेत्र समेत बाँडेका थिए । उनले मासिक ५० हजार भारतीय रुपैयाँ तलब तथा सुविधा र परिचय सधै गोप्य राख्न भन्दै विभिन्न नम्बर उपलब्ध गराएका थिए ।

तर नियुक्ति पत्र पाएको लामो समयसम्म पनि जागिरको टुङगो नलागेपछि नक्कली नियुक्ती पत्र बोकेर युवाहरुको एउटा समुह प्रहरीसम्म पुगेको थियो । तर यसअघि भारतीय दुतावासले घटनाक्रमको सूचना प्रहरी प्रधान कार्यालयलाई दिएर आवश्यक अनुसन्धानका लागि आग्रह गरेको थियो ।
भारतको अन्तर्राष्ट्रिय गुप्तचर संस्था ‘र’ को जागिरको प्रलोभनमा पर्ने युवाले रमाकान्तले आफुलाई भारतीय दुतावासको खास मान्छे भन्दै परिचय दिने गरेका थिए ।

वरिष्ठ पत्रकार किशाेर श्रेष्ठले सामाजिक सञ्जालमा राखेकाे तस्बिर

काठमाडौं– यौनका लागि नेपाली युवती पाइन्छ भन्दै भारतमा सार्वजनिक बिज्ञापन गरिएको तस्बिर फेला परेको छ । सामाजिक सञ्जालमा रहेको उक्त तस्बिरमा भारतका सबै प्रदेशमा मोजमस्ती तथा यौन सम्पर्कका लागि एक महिलाको नाम र नम्बर समेत उपलब्ध गराइएको छ । जसमा भनिएको छ ‘हामीसँग बंगलादेशी र नेपाली युवतीहरु उपलब्ध छन’ ।
सामाजिक सञ्जालमा सो तस्बिर राख्दै नेपाल प्रेस काउन्सीलका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले भनेका छन – दिल्लीस्थित दूतावासमा बस्ने साथीहरु के गर्दै र हेर्दै दिन कटाउनुहुन्छ ? मौजमस्ती और सेक्स मार्केट खुलेर नेपाली लड्की उपलब्ध हुने बिज्ञापन यसरी हाकाहाकी निक्लँदा देशको हुर्मत लिइँदा खोजवीन,छानबिन,कार्वाही हुनुपर्दैन ?
केही युवतीहरुको तस्बिर समेत राखिएको उक्त पोस्टरमा यसरी देशको नाम जोडेर प्रचारप्रसार गरिनु दण्डनिय अन्र्तदेशिय अपराध मान्निछ ।
पत्रकार श्रेष्ठकाे पाेस्टपछि दिल्लीस्थित नेपाली दुतावासका राजनीतिक कन्सुलर हरी अाेडारीले पत्र लेख्दै घटनाका बिषयमा दिल्ली प्रहरीलार्इ घटनाका बिषयमा जानकारी गराएकाे बताएका छन । अाेडारीले लेखेका छन ‘बिषयकाे जानकारीका लागि धन्यबाद, यस सम्बन्धमा हामीले दिल्ली प्रहरीलार्इ हेर्न भनेका छाैं’, ।

काल्पनिक तस्बिर

काठमाडौं– काठमाडौं नयाँ बसपार्क क्षेत्रबाट रोकिराखेको ट्याक्सी चोरी भएको छ । यस्तै ढल्कुस्थित एउटा घर र पकनाजोलमा रहेको कार्गो अफिसको ताला फोडेर चोरी भएको हो ।
काठमाडौंको तार्केश्वर नगरपालिका–८ बस्ने प्रदिप खत्रीको बा.१ ज २१५० नम्बरको ट्याक्सी गएराति चोरी भएको हो ।
तनहुँको बन्दीपुर नगरपालिका–१० बस्ने चन्द्रकुमार गुरुङ्गले चलाइराखेको उक्त ट्याक्सी लक गरी काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगर मैपी पुल नजिक सडकमा पार्किङ्ग गरी राखेको अवस्थामा अज्ञात व्यक्तिले ट्याक्सी चोरी लगेको बताइएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१६ ढल्कुस्थित शारदा पौडेलको घरबाट मुलढोकाको ताल्चा फोडेर दराजमा रहेको नगद १ लाख र विभिन्न सुनका गरगहना समेत गरी करीव ३ लाख ६ हजार रुपैयाँ बरावरको धनमाल बिहीबार चोरी भएको छ ।
यस्तै काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित सानु श्रेष्ठको घरमा रहेको कार्गो कार्यालयबाट ताल्चा फोडेर करीव १ लाख ४० हजार रुपैयाँ मुल्य बरावरको २ थान ल्यापटप बिहीबार चोरी भएको छ ।
ट्याक्सी लगायतका धनमाल तथा चोरहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेके प्रहरीले जनाएकोछ ।

मकवानपुरमा रहेकाे भिमफेदी मध्य क्षेत्रिय कारागार र इन्सेटमा चाइनिज भनिने रमेश लामा

काठमाडौं– कारागारमा आफु बिरुद्ध बोल्ने ६ जनालाई गंभिर घाईते हुनेगरि कुटपिटमा संलग्न रहेका एकजना कैदी कारागार ब्यवस्था विभागका केही भ्रष्ट कर्मचारीको आडमा जेल प्रशासनलाई उल्टो थर्काउन थालेको खबर प्राप्त भएको छ ।
विभागले कानुन मिचेर मध्य क्षेत्रिय कारागार भिमफेदीको नयाँ बल्कका चौकिदार बनाएका चाइनिज भनिने रमेश लामाको समुहले पुस १३ गते ६ जनालाई गंभिर घाइते हुनेगरि कुटपिट गरेको थियो । घाइतेमध्ये एक दिब्यकुमार श्रेष्ठ अझै हेटौडामा रहेको चुरेहिल अस्पतालमा उपचाररत रहेका छन ।
कारागारको आन्तरिक प्रशासन अन्र्तगत रहेका टेलिफोन सेवा, किराना पसल र भेटघाट सुविधा नियमभन्दा दोब्बर दररेट गरेको र कैदीबन्दीलाई लगातार दुब्र्यवहार भएपछि केही कैदी बन्दीले हिम्मत गरेर आवाज उठाएका थिए । तर आफु बिरुद्ध बोलेको भन्दै चौकिदार लामा र उनको समुहले निर्घात कुटपिट गरेको हो ।
कारागारमा सरुवा भएर केही समयअघि मात्र कार्यभार सम्हालेका चिरञ्जिबी थापाले कुटपिटमा संलग्न समुहका कारण आन्तरिक सुरक्षा खतरामा रहेको जानकारी विभागमा गराएपनि उनी बिरुद्ध कारवाहीको साटो उल्टो थापालाई नै सरुवागर्ने प्रपञ्चमा विभाग लागेको छ ।
जेल प्रशासनको नियम अनुसार झडपगर्ने समुहलाई तत्काल जेल सरुवा गरेर सुरक्षा ब्यवस्था मिलाउने गरिन्छ । तर किर्ते कागजपत्र बनाएर कैदी भगाएको आरोप लागेर तारेखमा रहेका रमेश लामाले पैसाको आडमा विभागबाट सहुलियत पाउदै आएका छन ।
भिमफेदी कारागारमा आफ्नो एकक्षत्र राज चल्ने भन्दै लामा समुह दमनमा उत्रिएपछि कैदीबन्दीले विभाग, गृह मन्त्रालय र अख्तियारमा हारगुहार गरेपछि विभागले निर्देशक कृष्णप्रसाद आर्चायको नेतृत्वमा छानबिन समिती बनाएको छ । विभाग स्रोतका अनुसार आर्चायको छानबिन समितीले रमेश लामा भन्दापनि त्यहाँका जेलर थापालाई हटाएर अर्का विवादास्पद जेलर मात्रिका दाहाललाई पठाउने प्रपञ्च अनुसारको प्रतिवेदन बनाउने तयारी गरेका छन ।
यता, कारागारका कैदीबन्दीले बुधबार मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग र नेपाल पत्रकार महासँघलाई पत्र लेखेर आफुहरु बिरुद्ध दमन भै रहेको जानकारी गराउने तयारी थालेका छन ।
‘जेलर थापाले न्यायका पक्षमा बोलेका छन, दमनगर्ने समुहले पैसाको सेटिङ मिलिसक्यो, विभाग हाम्रो हो भन्दै थर्काउदै छन, हामी न्यायका लागि हारगुहार गरिरहेका छौं,’ एकजना कैदीले टेलफोनमा पर्दाफासलाई भने ।