साढे २ वर्षका आर्यन (समिरकुमार साह) लाई २३ बैशाखको अपरान्हसम्म गाउँलेहरुले घरकै आँगनमा खेलिरहेको देखेका थिए।
मिथिला नगरपालिका–६, धनुषाका उनी त्यही दिन घरबाट हराए।
बुवा शम्भुकुमार साहले गाउँलेलाई खबर गरे। ईलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी अधिकृत खटिए। रातीसम्म आर्यनको खोजी भयो। उनी भेटिएनन्।
अर्को दिन बिहान आर्यनको शव शम्भुकुमारले आफ्नै घर पछाडि रहेको कृष्णनन्दन महतोको बगैचामा फेला पारे। धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटियो।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक शेखर खनाल आफैँ अनुसन्धानमा खटिए। प्रदेश २ प्रहरी कार्यालयबाट समेत टोली खटियो। इप्रका ढल्केबरले टोली नपुग्दासम्म घटनास्थलमा घेराबन्दी गर्यो। प्रहरीले अनुसन्धानका लागि प्रदेश ३ प्रहरीको सहयोग समेत लियो। प्रदेश ३ प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली पठायो। घटनास्थालको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि जनकपुर पठाइयो।
बालक हराएकै दिन अर्थात् २३ बैशाखकै साँझ प्रहरीले जानकारी पाएको थियो। त्यसपछि सो क्षेत्रमा सक्रिय हजारौं फोनको विवरण प्रहरीले केलायो। आर्यनका बुवाआमासँग दोहोराएर बयान लिइयो। तर घटना भएको २० दिन पुरा हुँदासम्म प्रहरी अनुसन्धान निश्कर्षमा पुग्न सकेन।
‘हामीले घटनापछि ६५ जनालाई नियन्त्रणमै लिएर सोधपुछ गरेका रहेछौं,’ धनुषा प्रहरी प्रमुख एसपी शेखर खनालले भने ‘हत्याको कारण बुधबारमात्र खुल्यो।’
शंकामै नभएका ब्यक्ति हत्यारा
अनुसन्धान अधिकारीहरुले शम्भुकुमारका छिमेकी शत्रुधन महतोसँग सामान्य सोधपुछ गरेर छाडेका थिए। उनी आर्यन बिरामी पर्दा झारफुक गर्थे। उनलाई आर्यनले पच्छयाउँथे। दुवै परिवारबीच राम्रो सम्बन्ध थियो। यही कारण सुरुमा प्रहरीले शत्रुधनसँग कडिकडाउ गरेर सोधपुछ समेत गरेन।
‘सोधपुछ गरिएकामध्ये केही गाउँलेले बालक खेलिरहेको र शत्रुधनले इनारमा पानी भरिरहेको देखेका थिए,’ एसपी खनालले भने ‘बुधबार उनलाई झिकाएर सोधपुछगर्दा घटनाको खुलासा भएको हो।’ सत्रुधन छिमेकी भएर पनि बालक हराएका दिन खोजीमा संलग्न थिएनन्। अर्को दिन शव फेलापर्दा समेत उनी घटनास्थलमा देखिएनन्।
प्रहरी बयानमा सुरूमा उनले झुठो विवरण दिएका थिए। प्रहरीले कडिकडाउ गरेपछि उनले बालकको बली दिएको सत्यता स्वीकारे।
घरको आँगनमा बालकको बली
अनुसन्धान अधिकारीहरुका अनुसार २३ बैशाखमा शत्रुधन इनारमा पानी लिन आएका थिए। उनको घरको धारा बिग्रिएको थियो। उनी आउँदा बालक आँगनमा खेलिरहेका थिए। बालकका बुवा शम्भुकुमार कामले बाहिर थिए। आमा रेणुदेबी घाँस काट्न गएकी थिइन्।
झारफुक र तन्त्रविद्याका अनुयायी शत्रुधन पानी भरेर घर गए। श्रीमती र छोरा बिरामी छोरी भेट्न काठमाडौं आएका थिए। घरमा उनी एक्लै थिए।
शक्तिकी देबी चमेनी माइका भक्त बताउने शत्रुधनले बालकलाई एक्लै देखे। त्यसबखत त्यहाँ छरछिमेकी समेत कोही थिएनन्। उनी शम्भुकुमारको घरमा गए। बालकसँग परिचित उनलाई खेलाउदै घरमा ल्याए। घरमा आएपछि केहीबेर उनी आर्यनसँग खेले। अनि भैँसी दुहेर दुध खान दिए।
‘अभियुक्तले बालकको खोजी तीब्र भएपछि बालक र आफू केही पर झाडीमा लुकेको बयान दिएका छन्,’ एसपी खनालले भने ‘खोजी टोली गएपछि उनी घरमा आएका हुन्।’ प्रहरीका अनुसार शत्रुधनले २४ बैशाखको बिहान २ बजे घरको बीच भागमा रहेको आगँनमा पुजा सामाग्री तयार गरे। चमेनी माईको पूजा आरधना थाले।
‘बालकको बली दिए अद्भुत शक्ति आर्जन हुने अन्धविश्वासमा घाटी रेटेर हत्या गरेका हुन्,’ एसपी खनाल भन्छन्, ‘त्यही बिहाननै शव गम्छामा राखेर शम्भुकुमारकै घर पछाडि फ्याकेको अनुसन्धानले देखाएको छ।’
प्रहरी हिरासतमा रहेका शत्रुधनले बयानमा बालकको हत्यापछि घर, हतियार र रगत लागेको कपडा धोएर सफा गरेको बताएका छन्। प्रहरीले घटनामा शत्रुधन एक्लै थिए वा अन्यको पनि संलग्नता हो अनुसन्धान गरिरहेको छ।
आर्यनका हजुरबुवा पिताम्बर साह हलुवाईले दिएको किटानी जाहेरीपछि प्रहरीले अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यान सम्बन्धी कसूरमा मुद्दा अघि बढाएको छ। धनुषा जिल्ला अदालतबाट प्रहरीले ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।
समाचार सांभारः दीपक खरेल/नेपालखबर डट कम
प्रकाशित १६ जेठ २०७६, बिहिबार | 2019-05-30 19:27:02