Archive for the ‘Security’ Category

साढे २ वर्षका आर्यन (समिरकुमार साह) लाई २३ बैशाखको अपरान्हसम्म गाउँलेहरुले घरकै आँगनमा खेलिरहेको देखेका थिए।

मिथिला नगरपालिका–६, धनुषाका उनी त्यही दिन घरबाट हराए।

बुवा शम्भुकुमार साहले गाउँलेलाई खबर गरे। ईलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी अधिकृत खटिए। रातीसम्म आर्यनको खोजी भयो। उनी भेटिएनन्।

अर्को दिन बिहान आर्यनको शव शम्भुकुमारले आफ्नै घर पछाडि रहेको कृष्णनन्दन महतोको बगैचामा फेला पारे। धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटियो।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षक शेखर खनाल आफैँ अनुसन्धानमा खटिए। प्रदेश २ प्रहरी कार्यालयबाट समेत टोली खटियो। इप्रका ढल्केबरले टोली नपुग्दासम्म घटनास्थलमा घेराबन्दी गर्‍यो। प्रहरीले अनुसन्धानका लागि प्रदेश ३ प्रहरीको सहयोग समेत लियो। प्रदेश ३ प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली पठायो। घटनास्थालको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि जनकपुर पठाइयो।

बालक हराएकै दिन अर्थात् २३ बैशाखकै साँझ प्रहरीले जानकारी पाएको थियो। त्यसपछि सो क्षेत्रमा सक्रिय हजारौं फोनको विवरण प्रहरीले केलायो। आर्यनका बुवाआमासँग दोहोराएर बयान लिइयो। तर घटना भएको २० दिन पुरा हुँदासम्म प्रहरी अनुसन्धान निश्कर्षमा पुग्न सकेन।

‘हामीले घटनापछि ६५ जनालाई नियन्त्रणमै लिएर सोधपुछ गरेका रहेछौं,’ धनुषा प्रहरी प्रमुख एसपी शेखर खनालले भने ‘हत्याको कारण बुधबारमात्र खुल्यो।’

शंकामै नभएका ब्यक्ति हत्यारा
अनुसन्धान अधिकारीहरुले शम्भुकुमारका छिमेकी शत्रुधन महतोसँग सामान्य सोधपुछ गरेर छाडेका थिए। उनी आर्यन बिरामी पर्दा झारफुक गर्थे। उनलाई आर्यनले पच्छयाउँथे। दुवै परिवारबीच राम्रो सम्बन्ध थियो। यही कारण सुरुमा प्रहरीले शत्रुधनसँग कडिकडाउ गरेर सोधपुछ समेत गरेन।

‘सोधपुछ गरिएकामध्ये केही गाउँलेले बालक खेलिरहेको र शत्रुधनले इनारमा पानी भरिरहेको देखेका थिए,’ एसपी खनालले भने ‘बुधबार उनलाई झिकाएर सोधपुछगर्दा घटनाको खुलासा भएको हो।’ सत्रुधन छिमेकी भएर पनि बालक हराएका दिन खोजीमा संलग्न थिएनन्। अर्को दिन शव फेलापर्दा समेत उनी घटनास्थलमा देखिएनन्।

प्रहरी बयानमा सुरूमा उनले झुठो विवरण दिएका थिए। प्रहरीले कडिकडाउ गरेपछि उनले बालकको बली दिएको सत्यता स्वीकारे।

घरको आँगनमा बालकको बली
अनुसन्धान अधिकारीहरुका अनुसार २३ बैशाखमा शत्रुधन इनारमा पानी लिन आएका थिए। उनको घरको धारा बिग्रिएको थियो। उनी आउँदा बालक आँगनमा खेलिरहेका थिए। बालकका बुवा शम्भुकुमार कामले बाहिर थिए। आमा रेणुदेबी घाँस काट्न गएकी थिइन्।

झारफुक र तन्त्रविद्याका अनुयायी शत्रुधन पानी भरेर घर गए। श्रीमती र छोरा बिरामी छोरी भेट्न काठमाडौं आएका थिए। घरमा उनी एक्लै थिए।

शक्तिकी देबी चमेनी माइका भक्त बताउने शत्रुधनले बालकलाई एक्लै देखे। त्यसबखत त्यहाँ छरछिमेकी समेत कोही थिएनन्। उनी शम्भुकुमारको घरमा गए। बालकसँग परिचित उनलाई खेलाउदै घरमा ल्याए। घरमा आएपछि केहीबेर उनी आर्यनसँग खेले। अनि भैँसी दुहेर दुध खान दिए।

‘अभियुक्तले बालकको खोजी तीब्र भएपछि बालक र आफू केही पर झाडीमा लुकेको बयान दिएका छन्,’ एसपी खनालले भने ‘खोजी टोली गएपछि उनी घरमा आएका हुन्।’ प्रहरीका अनुसार शत्रुधनले २४ बैशाखको बिहान २ बजे घरको बीच भागमा रहेको आगँनमा पुजा सामाग्री तयार गरे। चमेनी माईको पूजा आरधना थाले।

‘बालकको बली दिए अद्भुत शक्ति आर्जन हुने अन्धविश्वासमा घाटी रेटेर हत्या गरेका हुन्,’ एसपी खनाल भन्छन्, ‘त्यही बिहाननै शव गम्छामा राखेर शम्भुकुमारकै घर पछाडि फ्याकेको अनुसन्धानले देखाएको छ।’

प्रहरी हिरासतमा रहेका शत्रुधनले बयानमा बालकको हत्यापछि घर, हतियार र रगत लागेको कपडा धोएर सफा गरेको बताएका छन्। प्रहरीले घटनामा शत्रुधन एक्लै थिए वा अन्यको पनि संलग्नता हो अनुसन्धान गरिरहेको छ।

आर्यनका हजुरबुवा पिताम्बर साह हलुवाईले दिएको किटानी जाहेरीपछि प्रहरीले अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यान सम्बन्धी कसूरमा मुद्दा अघि बढाएको छ। धनुषा जिल्ला अदालतबाट प्रहरीले ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।

समाचार सांभारः दीपक खरेल/नेपालखबर डट कम

प्रकाशित १६ जेठ २०७६, बिहिबार | 2019-05-30 19:27:02

केन्द्रीय अनुसन्धान ब्युराेले पक्राउ गरेका गुम्बे ।

काठमाडौं– प्रहरीले रुपन्देही र काठमाडौंमा भएका दुई फरक घटनामा गोली प्रहारगर्ने मुख्य आरोपीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले रुपन्देहीका नेकपा एमालेका कार्यकर्ता दुर्गा तिवारी र निर्माण ब्यवसायी शरदकुमार गौचन उपर गोली प्रहारगर्ने बाघमारे भन्ने श्यामबहादुर गोम्बीलाई पक्राउ गरेको हो । गोम्बी मनोज पुन भन्ने मनोज बुढामगरका मुख्य सहयोगी हुन ।
ब्युरोका अनुसार असोज २३ गते निर्माण ब्यबसायी महासंघका अध्यक्ष गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटनामा गोम्बी प्रत्यक्ष संलग्न रहेका थिए । बाराका गोम्बी चितवनमा डेरागरि बस्थे ।
यस्तै गोम्बी गत वर्ष पुस ४ मा रुपन्देही, देवदह खैरहनीमा तिवारीलाई गोली प्रहार गरी हत्या गरेको घटनामा समेत प्रत्यक्ष संलग्न रहेका थिए ।
पक्राउ आरोपीलाई ब्युरोले थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

 

काठमाडौं– देवदहका बलु भन्ने बसन्त पौडेलको हत्यामा भारतको बिहारबाट भित्रिएको मोटरसाईकल, इटालियन नाईन एमएम क्यालिबर पेस्तोल र मनोज पुन भन्ने मनोज बुढामगरकको लगानी र ब्यवस्थापनमा भएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रदेश प्रहरीले गरेको संयुक्त अनुसन्धानमा पुस २१ गते हत्या गरिएका बलुको हत्यामा संलग्न पटके अपराधीलाई मनोज र उनका सहयोगी सोमबहादुर आलेले निर्देशन दिएको तथ्य खुलेको हो ।
घटनामा प्रत्यक्ष संलग्न दुईजनालाई केन्द्रीय अनुसन्धान ब्युरो र संघिय प्रहरी इकाई कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।
रुपन्देही देवदह नगरपालिका खैरेनी चोक बस्ने बलु भन्ने बसन्त पौडेललाई ढेकार स्थित आफ्नै काठ फर्निचर मिलमा मोटरसाईकलमा आएका दुइजनाले गोली प्रहार गरि हत्या गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेका नवलपरासीका पदम चौधरी र सुनसरीका महेन्द्र भन्ने महिनारायण चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पदम २०७४ साल बैशाखमा कारागारबाट अपहरण तथा शरिर बन्धक मुद्दामा सजाय भुक्तान गरि छुटेको र महिनारायाण् २०७४ साल जेष्ठ १५ गते कारागारबाट हातहतियार खरखजना मुद्दामा सजाय भुक्तान गरि छुटेका पटके अपराधी हुन ।
दुबैले मनोज पुन भन्ने मनोज बुढा मगर र सोमबहादुर आले लगायतको सम्पर्कमा रहि घटना घटाउन मोटरसाईकल सुरक्षित राख्ने, मृतकको घर तथा कारखाना अवलोकन गर्ने, मोटरसाईकल चालकको व्यवस्थापन गर्ने, मनोजले पठाएको हातहतियार गोलीगठ्ठा सुरक्षित राख्ने, घटना पश्चात सुटर तथा मोटरसाइकल चालकलाई भाग्नको लागी सुरक्षित बाटो देखाउने र गोली हान्दा प्रयोग गरेको पेस्तोल, कट्टा तथा बाँकि गोलीहरु सुरक्षित राख्ने काम गरेका हुन ।
महिनारायणले घटनाको दिन पेस्तोल लिई सुटरसँगै घटनास्थल गई हतियार ताकी गोली हान्न सघाएको, गोली हाने पश्चात सुटरलाई उक्त मोटरसाइकलमा राखी भागेको, घटना पश्चात आफ्नो साथमा रहेको हतियार तथा सुटरको साथमा रहेको हतियार जङ्गलमा सुरक्षित राख्ने काम गरेका थिए ।

प्रहरीले अपराधमा प्रयोग गरिएको लु ४ प १४ नम्बर लेखिएको ग्ल्यामर मोटरसाईकल भारत बिहारको भवानपुर भैसाली बस्ने बिनय कुमारको नाममा रहेको तथ्य पत्ता लगाएको हो ।
बलुको हत्या लगत्तै व्यूरोबाट प्रहरी वरिष्ठ उपरिक्षक घनश्याम अर्याल र नायव उपरिक्षक भिष्म हुँमागाइ सहितकाे अनुसन्धान टोली खटाएको थियो । यस्तै संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाबाट प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीको कमाण्ड घटनाको अनुसन्धानमा खटिएको थियो। टोलीले जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक श्यामलाल ज्ञवालीको प्रत्यक्ष सम्पर्क तथा संलग्नतामा अनुसन्धान कार्य गरेको हो ।

काठमाडौं– काठमाडौं उपत्यकामा श्रृंखलावद्ध चोरी र डकैतीमा संलग्न एकजना कुख्यात डाँका सदरखोर डिल्लीबजारको काँडेतार काटेर भागेका छन ।
महानगरीय प्रहरीमा दुई दर्जनभन्दा बढि चोरी, लुटपाट र डकैतीमा संलग्न रहेको सूचीमा रहेका टिकाबहादुर थापा मगर नाम भएका टिके डाँका बिहीबार राती कारागारको सुरक्षा प्रवन्धलाई चुनौती दिदै भागेका हुन ।
महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले टिकाबहादुर फरार भएको पुष्टिगर्दै खोजी कार्य जारी रहेको पर्दाफासलाई बताए । उनका अनुसार कारागारभित्र रहेको कारखानाको काँडेतार काँटेर उनी फरार भएका हुन ।
प्रहरी उच्चस्रोतका अनुसार काराखानामा नियमित गन्तीगर्ने सुरक्षा अधिकारीको लापरवाहीका कारण टिकाबहादुर भागेका हुन । सुरक्षा अधिकारीले गन्तीमा छुटाएका टिकाबहादुर त्यही मौकामा राती भागेका हुन । उनका साथ भागेका अन्य एक कैदी तत्काल पक्राउ परेपनि उनी भाग्न सफल भएका हुन ।
‘एकजना चोरी मुद्दाका बन्दी कारागारबाट फरार भएका छन, फरारको खोजी र सुरक्षाका बिषयमा आन्तरिक छानबिन भै रहेको छ’ एअाइजी चन्दले भने ।

को हुन टिके डाँका 
सागर बोलाउने, नागरिकताको नाम टिकाबहादुर थापा मगर तर प्रहरीका लागि ‘टिके डाँका’। टिकेका बिषयमा जति प्रहरी र अड्डा अदालतलाई जानकारी छ, त्यही अनुपातमा टिके पनि प्रहरी र अड्डा अदालतका बिषयमा जानकारी राख्दछन् । २०६४ पछि पटक–पटक गरि पाँच वर्षसम्म सुधार गृह९कारागार० बसेका टिके पछिल्लो पटक गत असार ७ मा पक्राउ परि २६ लाख रुपैयाँ बुझाएर छुटेका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेका टिके बारम्बार सुधारका लागि सुधार गृहमा राखिएपनि पुरानै पेशामा फर्कने अभियुक्तमध्ये एक हुन । काठमाडौं उपत्यकालाई कार्य क्षेत्र बनाएका टिके १५ घटनामा संलग्न रहेको प्रहरीसँग अनुसन्धान प्रमाण छ । बाँकी एक दर्जन बढि घटनामा उनको संलग्नता हुनसक्ने आशंकामा महाशाखाले अनुसन्धान गरिरहेको छ ।

‘काठमाडौंमा नगद लुटपाट भए शंकाको पहिलो घेरामा पर्ने अभियुक्तमध्ये एक हुन, यसपटक दशीप्रमाण सहित नियन्त्रणमा लिएका छौ,’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने । उनका अनुसार टिके काठमाडौंमा रहेको सूचना पाएपछि पच्छ्याई रहेको टोलीलाई समेत आक्रमण गरेर उनी भाग्न खोजेका थिए । महाशाखाले टिकेलाई मनहरा क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो ।

भक्तपुर कौशलटारमा रहेको एनआईसी एशिया बैंकबाट नगद निकाली गठ्ठाघर जादै गरेकी मन्दिरा अधिकारीको लेडिज ब्याग खोसेर भागेका अज्ञात ब्यक्तीको खोजीमा जुटेको प्रहरीले टिकेलाई पक्रेको हो । अधिकारीले बैंकबाट रकम निकालेपछि टिकेले लुटेका थिए । प्रहरीले अधिकारीबाट लुटपाट भएको ६ लाखमध्ये तीनलाख उनको कोठाबाट बरामद गरेको छ। प्रहरीले टिकेको कोठाबाट अधिकारीको नाममा जारी भएको सवारी चालक अनुमति पत्र , एमकला भन्डारीको नागरिता प्रमाण पत्र , ढाका को लेडिज ब्याग , एम कला भन्डारिको ग्लोबल आईएमई बैंकको चेक बुक तथा लुटपाट गर्दा प्रयोग गरेको ज्याकेट जुत्ता समेत फेला पारेको हो ।

महाशाखाका अनुसार टिकेलाई पहिलो पटक २०६४ बैशाख ६ मा डाँका घटनामा पक्राउ गरिएको हो । दोस्रो पटक २०६५ जेठ ५ मा पक्राउ परेका टिके त्यसको तीनवर्षपछि २०६८ असार ३४ मा मोटर साइकल चोरी घटनामा पक्राउ परेका थिए । सो वर्ष कारागार गएका टिके चैत ५ मा छुटेका हुन । यस्तै पुनः २०६९ साउन ३ मा पक्राउ परेका टिके धरौटीमा रिहा भएका हुन। पछिल्लो पटक उनी गत वर्ष असारमा २६ लाख धरौटी बुझाएर छुटेपछि पुनः लुटपाट र चोरीमा संलग्न हुदै आएका थिए ।

महिला र नगद पहिलो निशाना

प्रहरी अनुसन्धानमा टिकेको समुह संलग्न अधिकांश घटनाका पीडित महिला रहेका छन । यस्तै टिकेको समुहले वित्तिय संस्थाबाट रकम निकालेर निस्किएका महिलालाई पहिलो निशाना बनाउने गरेको अनुसन्धानमा खुलेको हो ।

महाशाखाका अनुसार यस वर्ष असोज देखि पुससम्म भएका पाँच घटनामा चार घटनाका पीडित महिला रहेका छन । यस्तै घटनामा टिके समुहले आफैले चोरी गरेका मोटरसाईकल प्रयोगगर्दै आएको थियो ।

टिकेको समुहले पुस २२ गते मन्दिरा अधिकारीको ६ लाख, मंसिर १९ गते यमकला भण्डारीको तीनलाख ६० हजार, मंसिर ५ गते सुस्मिता सुवेदीको करिब ७५ हजार लुटपाट गरेको हो । भक्तपुर कटुन्जेमा रहेका इस्ट इन्टरनेशनल मनि ट्रान्सफरबाट रकम निकालेकी सुबेदी, भन्डारीले सहकारी बाट निकालेको रकम लुटपाट भएको थियो । यसै वर्ष असोज १४ मा भक्तपुर राधे राधे मन्दिर नजिकबाट मायादेबी उप्रेतीको साथमा रहेको ९३ हजार रुपैयाँ, असोज ५ मा काभ्रेको बनेपा तरकारी बजारमा कन्ट्री डेभलपमेन्ट बैकमा जम्मा गर्न लगिरहेको तीन लाख ७० हजार लुटपाटको प्रयासमा टिके समुह असफल भएका थिए ।

महाशाखाका अनुसार टिके समुहले २०७२ बैशाख २७ मा वाफलस्थित कोहिनुर हाउजिङको नजिकै सिता श्रेष्ठको २ तोलाको सुनको सिक्री लुटेका थिए । यस्तै सोही दिन बुद्धनगरमा उर्मिला कडेलको ३ तोलाको सुनको सिक्री लुटेर टिके समुह फरार रहेको थियो ।

महाशाखाका अनुसार २०७१ माघ २१ मा नयाँ बानेश्वर ह्वाईट हाउस कलेज नजिकबाट ग्लोबल आईएमई बैंकबाट निकालेको सरस्वती आचार्यको १८ लाख ८५ हजार र सोही वर्ष पुसमा सुमित्रा अधिकारीको साथमा रहेको ७० हजार तथा कात्तिकमा शनी इन्टरप्राइजेज कपनवाट रकम निकालेर पैदल हिडिरहेको अवस्थामा प्रेरणा राईको एकलाख ५५ हजार लुटपाटको घटनामा यही समुह संलग्न रहेको थियो ।

मोटरसाईकल र गाडी चोरी

नगद नभए महिलाले लगाएका सुनका गरगहना समेत लुछेर भाग्ने टिके समुहले एउटा बलेरो गाडी र तीनवटा मोटरसाईकल समेत चोरी गरेको महाशाखाले जनाएको छ । पछिल्लो पटक जेठ एकमा टिके समुहले महाराजगन्जस्थित शिक्षण अस्पतालको पार्कीङबाट राम थापाको बा।७४ प।३६३२ नम्बरको निलो रंगको मोटर साईकल चोरी गरेको हो ।

यस्तै गत वर्ष जेठ २१ गते बौद्ध भाटभटेनीमा पार्किङ गरेको राम काजी श्रेष्ठको मोटरसाईकल टिके र तेजवहादुर तामाङले चोरी गरेका थिए । सोही वर्ष जेठ मसान्तमा सोही स्थानबाट विष्णुवहादुर गुरुङगको बा।६ च ७६९८ नम्बरको बोलेरो गाडी चोरी गरी मकवानपुर पदमपोखरीमा लगि लुकाई छिपाई राखेका थिए । प्रहरीले गाडी बरामद गरि सम्बन्धीत धनीलाई बुझाएको थियो । यस्तै गत जेठ २० मा पुरानो बानेश्वरबाट जीवन शर्माको बा।६८ प। ९०१८ नम्बरको पल्सर मोटरसाईकल, २०७१ चैतमा ओम अस्पताल चाबहिलबाट राम श्रेष्ठको बा।६७ प। ८४६८ नम्बरको निलो कालो रंङको पल्सर मोटरसाईकल चोरी गरेको अनुसन्धानमा खुलेको छ ।

महाशाखाका अनुसार चोरी गरेको मोटरसाईलको प्रयोगगर्दै नक्कली नम्बर राखेर लुटपाटका घटना गर्ने गरेको थियो । प्रहरीका अनुसार ८९५७ र ९०६३ नम्बरको प्लेट राखेर लुटपाट भएको हो ।

( नागरिक दैनिककाे अनलार्इन संस्करणमा प्रकाशित पुरानाे अालेख) 

टिके डाँकाको राम कहानी नागरिक दैनिकमा दीपक खरेलको कलमबाट ः

कुख्यात ‘टिके डाँका’ पक्राउ

बरामद अाखेटाेपहार सहित पक्राउ अाराेपीलार्इ सार्वजनिक गर्दै प्रदेश ४ प्रहरी

काठमाडौं– दुर्लभ तथा संरक्षित बन्यजन्तुको अवैध चोरीशिकारी र आखेटोपहारको अवैध कारोबार बिरुद्धको अप्रेशनमा प्रहरीले ठुलो सफलता पाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ प्रहरीको सहयोगमा गरेको अप्रेशनमा ठुलो परिमाणमा दुर्लभ ध्वाँसे चितुवाको छाला र हड्डी सहित कारोबारीलाई पक्राउ गरेको हो ।

राजमार्गमा ब्युराे र स्थानिय प्रहरीकाे कारवाही

प्रहरीले आबुखैरेनी गाउँपालिका–४ पुलजिपस्थित पृथ्वी राजमार्गबाट नुवाकोटको शिवपुरी गाउँपालिका बस्ने २८ वर्षीय भिमबहादुर तामाङ र गोरखाको सुलीकोट–२ बस्ने ३५ वर्षीय ईतबहादुर घलेलाई चितुवाको छाला ३ थान, सोको हड्डी ५ केजी ५ सय ५० ग्राम सहित मंगलबार पक्रेको हो ।
ब्युरोका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१५ च ७४५६ नम्बरको स्कारपियो गाडीलाई केन्द्रीय अनुसन्धान ब्युरो र ईलाका प्रहरी कार्यालय आबुखैरेनीको संयुक्त टोलीले खानतलासी गर्दा गाडीमा सवार तामाङ र घलेलाई उक्त वस्तु सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको छ ।

काठमाडौं– प्रहरीले काठमाडौंकै प्रतिष्ठितमध्ये एक मानिएको शालिमार ज्वैलर्सका संचालकलाई सुन तस्करीको आरोपमा पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत पुस २१ मा बरामद साढे ३३ किलो सुन तस्करीको घटनामा प्रतिवादी बनाईएका शालिमार ज्वैलर्सका संचालक राहुल गोयललाई पक्रेको हो । ब्युरोले दुबईबाट तस्करी गरि भित्राएको साढे ३३ किलो सुन विमानस्थल बाहिरबाट बरामद गरेको थियो
ब्युरोले अनुसन्धानको क्रममा १२ जना प्रतिवादीहरु पक्राउ गरी ३३ जना प्रतिवादीहरु बिरुद्द संगठित अपराध अन्तर्गत अनुसन्धान गरी जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौ मार्फत मिति चैत्रमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा बुझाएको थियो ।
संगठित अपराध मुद्दामा संलग्न भई फरार रहेका भारत राजस्थान गंगानगर स्थायी ठेगाना भएका राहुललाई पुस २६ मा ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौं– गृह मन्त्रालयले सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा पुस ४ मा भएको आगलागी प्रमाण नष्टगर्ने उद्देश्यबाट योजना बनाएर गरिएको निश्कर्ष सहित अनुसन्धानको जिम्मेबारी केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको छ ।
सशस्त्रको स्टोर रुममा पुस ४ गते एकाबिहानै आगलागी भएको थियो । घटनामा २०६१ पछिका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका थिए । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले एकजना सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिती पुस ५ मा गठन गरेको थियो ।
मन्त्रालयका अनुसार छानबिन समितीले पुस २३ मा बुझाएको प्रतिवेदनमा सुनियोजित तरिकाले श्रेष्ता तथा कागजपत्र जलाउने उद्देश्यले आगलागी भएको निश्कर्ष निकालेको हो ।
छानबिन समितीले सशस्त्र प्रहरीको आर्थिक प्रशासन निर्देशनालय र सो मातहत रहेका शाखा कर्मचारीलाई तत्काल हटाएर अनुसन्धानको जिम्मेबारी सिआईबीलाई दिन भनेको हो ।
घटनाको प्रारम्भीक अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले यसअघि नै सशस्त्रका नायब निरीक्षक र हवल्दारलाई पक्राउ गरेर कारवाही गरिरहेको छ ।
नेपालको सुरक्षा इतिहासमा पहिलो पटक एउटा सुरक्षा संगठनले भ्रष्टाचार ढाकछोपगर्न आफ्नै मुख्यालयमा आगलागी गराएको हो ।

हेर्नुहोस गृह मन्त्रालयको प्रतिवेदन सक्षिप्त विवरण

Home Ministry Report