Archive for the ‘By Deepak Kharel’ Category

यसरी ल्याएका थिए ३२ लाख

काटमाडौं– उनको अनुहार र हात खुट्टाभन्दा शारिरीक बनोट अलि फरक थियो । उनी बारम्बार आफुले लगाएको ज्याकेट मिलाउथे । उनको हुलिया नै शंकास्पद थियो ।
रौतहटबाट काठमाडौं आएका ती युवा महानगरीय प्रहरी वृत्त नागढुङाका प्रहरीको चेकजाँचमा हडबडाए । प्रहरीले शंका लागेर उनको सरसामान चेकजाँच गर्दा केही भेटिएन । प्रहरीले उनको शरिर जाँच गर्दा उनले शरिरमा लुकाएका हजार र पाँचसय दरका नोटको बण्डल भेटियो ।
‘हामीले शरिरमा लुकाएर ल्याएको ३२ लाख रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाएका छौं,’ प्रभाग प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले पर्दाफाससँग भने । उनका अनुसार पक्राउ परेका भारतको बिहार सितामणी जिल्लाका सोनुकुमार चौधरीले आफु हार्डवेयरको कर्मचारी रहेको बताएका छन ।
प्रनी भट्टले यसरी शरिरमा बिशेष प्रकारको लुगामा लुकाएर पैसा ल्याउनु र सो रकमको प्रयोजनका बिषयमा थप अनुसन्धान भै रहेको बताए ।

जिल्ला कृषि विकास कार्यालय बाराकाे पत्र

काठमाडौं – संविधानले सूचनाको हक सम्बन्धी अधिकार सुरक्षित गरेपनि अभियन्तालाई हतास बनाउन सरकारी कार्यालय र कर्मचारी कतिसम्म गर्न सक्छन? त्यसको पछिल्लो उदाहरण बाराको एक सरकारी कार्यालयमा भेटिएको छ ।
जिल्ला कृषि कार्यालयमा भएको कामकारवाहीमा अनियमितता भएको आशंकामा सूचनाको हक सम्बन्धी अधिकार प्रयोगगर्दै अभियन्ता सर्फुल्लाह अन्सारीले मागेको सूचना दिनुभन्दा कार्यालयले उल्टो ३० हजार माग गरेको छ ।
पर्दाफासलाई प्राप्त पत्र अनुसार पछिल्लो तीन महिनादेखि सूचनाका लागि कार्यालयको सम्पर्कमा रहेका अन्सारीलाई मंगलबार वरिष्ठ कृषि विकास अधिकारी शिवरत्न साहले ३० हजार राजस्व बुझाउने पत्र थमाएका हुन । पत्रमा उनले सूचना ६ हजारप्रति रहेको र प्रति पेज पाँच रुपैयाका दरले हुने ३० हजार रुपैयाँ कार्यालयको राजस्व खातामा बुझाउन भनेका छन ।
राष्ट्रिय सूचना आयोग, कृषि मन्त्रालय, कृषि विभाग र क्षेत्रिय निर्देशनालय समेत बोर्धाथ गरिएको उक्त पत्रमा सूचना लुकाउन रचिएको प्रपञ्च प्रष्ट हुन्छ ।
अभियन्ता अन्सारी बारा निवासी हुन । उनले बारा कृषि कार्यालयले यहाँका कृषकका लागि ल्याएका परियोजना र कार्यक्रमको जानकारी मागेका थिए । तर लगातार आलटाल गरेपछि उनले सूचनाको हक सम्बन्धी अधिकारको प्रयोगगर्दै निवेदन दिएपनि कार्यालयले सूचना दिन ३० हजार माग गरेको हो । सूचनाको हक सम्बन्धी अधिकार अनुसारको एउटा बुँदा टेकेर कार्यालयले अन्सारीलाई होइन संविधानलाई नै गिज्जयाएको घटनाले प्रष्ट पारेको छ ।

काठमाडाैं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या कुनै समय उनकै इसारामा हिँड्ने एकजना टोले गुण्डाको योजनामा भयो । प्रहरी अनुसन्धान भन्छ, गौचन र गुण्डा नाइकेहरु बीचको सम्बन्ध बाक्लो थियो । गौचनले ठूला ठेक्काको कार्टेलिङका लागि प्रहरी सूचीमा रहेका सबै गुण्डालाई समय–समयमा प्रयोग गरेका छन् ।
अनुसन्धान प्रतिवेदनअनुसार २०७१ असोजमा तत्कालीन महासचिव रहेका गौचन र अर्का तत्कालीन सभासद तथा ठेकेदार कान्छाराम तामाङविरुद्ध महानगरीय प्रहरी महाशाखामा उजुरी परेको थियो । पीडित ठेकेदारहरुको समूहले दिएको उजुरीमा गौचन र तामाङको समूहले भूमिगत रहेका रमेश बाहुन र कुमार घैंटे समूहमार्फत अन्य ठेकेदारसँग रकम असुल्न धम्काएको आरोप लगाइएको थियो ।
त्यसबेला महाशाखा प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक पुष्कर कार्की (तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक) ले दुवै समूहलाई तत्कालीन महासंघका अध्यक्ष जयराम लामिछानेको रोहबरमा छलफल गराएका थिए । यस्तै डिआइजी कार्कीले गौचन र तामाङलाई गुण्डाहरुको भरोसा गर्दा भोलि उनैबाट खतरा हुने भन्दै सम्झाउनुका साथै गुण्डा नाइकेको प्रयोग गरेको भेटिए कार्बाही चलाउने भन्दै चेतावनी दिएका थिए ।
‘हो, त्यतिबेला महाशाखामा घटनाको उजुरी भएको थियो, मैले चेतावनी दिएर छाडेको थिएँ, आखिर भनेजस्तै भयो,’ डिआइजी कार्कीले शुक्रबारलाई बताए । उनले थपे, ‘राज्य संयन्त्रको विश्वास र भर नपर्दा यस्ता आपराधिक समूहको समाजमा जन्म हुन्छ ।’
प्रहरी स्रोतका अनुसार त्यसबेला गौचन र तामाङको समूहले १५ प्रतिशत गुण्डा समूहलाई दिने गरी ५० लाख असुल्न धम्काएका थिए । जसमा घैंटे समूहबाट समीरमान सिंह बस्नेत प्रयोग भएका थिए ।
गौचन हत्याकाण्डको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले बनाएको समितिका सदस्य रहेका महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी गुण्डा र ठेक्कापट्टा व्यवसायीको सम्बन्ध अन्योन्याश्रित रहेको स्वीकार्छन् । उनले अनुसन्धानमा धेरै गुण्डा नाइके आफैँ ठेकेदार भएको र धेरै ठेकेदारले गुण्डा नाइकेको सहयोगमा ठेक्का हत्याउने र ठेक्काको कार्टेलिङ (मिलमतोमा ठेक्का पाउने) गरेको बताउँछन् ।
उनले भने, ‘नेपालको निर्माण व्यवसायमा शुद्धीकरणको आवश्यकता देखिएको छ, यो अवस्थाले गुण्डाहरुलाई आर्थिक रुपमा सबल बनाउनेबाहेक अन्य उपलब्धि हुने देखिन्न ।’ एसएसपी लोहनीले ठेक्काका लागि गुण्डा प्रयोग गर्ने ठेकेदारको सूची रहेको बताए पनि नाम भने खुलाउन चाहेनन् । लोहनीले थपे, ‘धेरै छन्, हामी अनुसन्धान गर्ने र उहाँहरुलाई भन्ने गरिरहेका छौं, भोलि उहाँहरुलाई नै अप्ठेरो पर्ने विषय हो ।’
महाशाखाका अनुसार प्रहरी सूचीमा रहेका अधिकांश गुण्डाहरु देशभर हुने ठेक्कापट्टामा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न रहने गरेका छन् । एउटा ठेकेदारको निर्देशनमा अर्को ठेकेदारलाई धम्काउने र ठेक्का हत्याउने खेल सामान्य भइदिँदा गुण्डाको आर्थिक पक्ष सबल र मजबुत हुँदै गएको महाशाखाको अनुसन्धानमा देखिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र उपत्यका हेर्ने महानगरीय अपराध महाशाखाले बनाएका फरक–फरक सूचीमा करिब ४० जना यस्ता व्यक्तिको नाम छ, जसको धन्दा भनेकै ठेक्का हत्याउने, ठेकेदार धम्काउने र निर्माण क्षेत्रमा असुली गर्ने रहेको छ ।

CIB police team make public Accused of Sarad Gauchan’s murder Samirman Singh Basnet in Kathmandu on Sunday, December 3, 2017.
Photo: Nagarik/Republica

कन्स्ट्रक्सनले जन्माएका कन्ट्रयाक्ट किलर
समीरमानसिंह बस्नेत । अपराध– हत्या, अपहरण, फिरौती, धाकधम्की र ज्यानमार्ने उद्योग । उमेर– ३४ वर्ष ।
काठमाडौं बाफलमा बिग्रिएको एउटा तन्नेरी आइतबार केन्द्रीय अनुसन्धान ब्युरोमा सबैका लागि आर्कषण जस्तै बनेको थियो । दर्जनौं क्यामराका लेन्स उसतर्फ सोझिएका थिए । ऊ पनि मुखमा मास्क लगाएर कर्के आँखाले सबैलाई हेर्दै थियो ।
दुई जना व्यक्तिको हत्या, एक जनाउपर गोली प्रहारजस्तो गम्भीर घटनाका मुख्य आरोपी समीरमानसिंह बस्नेत प्रहरीको करिब डेढ वर्ष लामो प्रयासपछि पक्राउ परेका हुन् । रुपन्देही एमालेका कार्यकर्ता तथा स्थानीय व्यवसायी दुर्गा तिवारीको हत्यापछि समीरमानको खोजीमा प्रहरी जुटेको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयअन्तर्गत रहेको विशेष टोली चार पटकसम्म बेग्लाबेग्लै टोली बनाएर भारतका मुख्य सहरमा चहारे पनि समीरमान फेला परेका थिएनन् । उनको अपराध कर्मले भने निरन्तरता पाइरहेको थियो । यसबीच प्रहरी महानिरीक्षक प्रकाश अर्याल र पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको अनुमतिमा आधा दर्जन प्रहरी अधिकारी मनोज पुन र समीरमानको खोजीमा सक्रिय रहेको थियो ।
असोजको अन्तिम साता भने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै हत्यापछि समीरमान र उनको समूहलाई कठघरामा उभ्याउनु प्रहरीका लागि चुनौती बनेको थियो । ब्युरोले शनिबार त्यो सफलता पायो र एकजना मोस्ट वान्टेड प्रहरी फन्दामा परे ।
ब्युरोले समीरमानलाई त पक्राउ गरेको छ तर काठमाडौं र देशभर बग्रेल्ती संचालनमा रहेका ठेक्का र अपराधीको सञ्जालबारे प्रहरी अधिकारीहरू चिन्ता प्रकट गर्दछन् । एकजना वरिष्ठ प्रहरी अधिकारी भन्छन्, ‘समीरमानहरुका जन्मदाता नेपालको ठेक्कापट्टा व्यवसाय र व्यवसायी हुन् ।’
ब्युरोमा समीरमानले दिएको प्रारम्भिक बयानमा समेत शरदकुमार गौचनसँगको ठेक्कापट्टाकै लेनदेनको विषय घटनाको प्रमुख कारण थियो ।
घैंटेका सहयोगी समीरमान
समीरमान प्रहरी मुठभेडमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेका मुख्य सहयोगीमध्ये एक हुन् । सुरुवातमा कलंकी क्षेत्रमा सक्रिय रहेका विश्वक्रान्ति सिंह (हाल कारागारमा) सँग निकट रहेका समीरमान मितेरी यातायातका संचालक शेखर गुरागाईंको अपहरणपछि फरार भएका थिए । घटनामा संलग्न सिंह, समीरमान र राजु बोगटीको समूह त्यसबेला छिन्नभिन्न भयो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको सूचीमा पटके अपराधीको सूचीमा रहेका समीरमान २०६६ भदौ १५ पछि लामो समय फरार रहे । त्यसपछि उनी घैंटेको निकट भएर झुल्किन थाले । अपहरण मुद्दामा मतियार बनाइएका उनले घटना साम्य भएपछि बालुवा र अवैध असुलीलाई पेसा बनाए ।
घैंटेका लागि समूह परिचालनको जिम्मेवारी पाएका समीरमानलाई उनैले शरदकुमार गौचनसँग परिचय गराएका थिए । त्यसपछि घैंटेको इसारामा समीरमानले ठेकेदार समूहका लागि ठूला ठेक्का कार्टेलिङ गर्न थाले । जसको कमिसन निश्चित प्रतिशतमा हुन्थ्यो । यसबाहेक रात्रीकालिन व्यवसाय र बालुवा खानी तथा रोडाढुङ्गाको व्यवसायसमेत चम्कदै थियो ।
यसैबीच प्रहरी मुठभेडमा घैंटे मारिए । समीरमानका नातेदार एकजना प्रहरी अधिकारीको सल्लाहमा उनी भूमिगत भए । काठमाडौंबाट भागेर देशका विभिन्न सहरमा भौँतारिइरहेका समीरमान र मनोज पुनको भेटले नयाँ योजना र अपराध कर्मलाई जन्म दियो । नतिजा शरदकुमार गौचन हत्याकाण्ड हुन पुग्यो ।

गुण्डाको पेसामा अधिकांशको ठेक्कापट्टा
केन्द्रीय अनुसन्धान ब्युरोको स्थापनापछि प्रहरीले एउटा समूह बनाएर देशभर सक्रिय रहेका पुराना र नयाँ गुण्डाहरुको सूची तयार गरेको थियो । त्यसबेला बनेकै सूचीमा प्रहरीले रातो चिह्नमा राखेका गुण्डा नाइकेदेखि टोले गुण्डासम्मको आय आर्जन र पेसामा ठेक्कापट्टा र बालुवा तथा रोडाढुङ्गा खानी रहेको देखिन्छ ।
उक्त सूचीमा सुरुवातमा अवैध असुली र रात्रिकालीन व्यवसायमा सक्रिय रहेका पुराना गुण्डा नाइके काजी शेर्पा, रमेश बाहुन (हाल कारागार), गणेश लामा, दीपक मनाङे, मिलन चक्रे, बाघबहादुर लामा, मिलन श्रेष्ठ सेक्सी र मीनकृष्ण महर्जन लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निर्माण व्यवसाय र व्यवसायीसँग जोडिएका छन् ।
प्रहरीले काठमाडौं उपत्यकालाई जिल्लागत र क्षेत्रगत विभाजन गरेर बनाएको गुण्डाहरुको सूचीमा जिल्लाका लागि खोलिने ठेक्कामा सोही जिल्लामा सक्रिय गुण्डा नाइके र क्षेत्रमा हुने निर्माण कार्यमा सोही क्षेत्रका गुण्डाको हालीमुहाली हुने गरेको छ ।
प्रहरी स्रोत भन्छ, ‘घैंटे जिउदै रहँदासम्म र हाल पनि उसको क्षेत्रमा भएका सबै निर्माणमा उसकै निर्माण कम्पनी वा साझेदारीमा काम भएको रेकर्डले गुण्डाहरुको ठेक्कामा बर्चस्व देखाउँछ ।’

Courtesy : शुक्रबार साप्ताहिक  कन्स्ट्रक्सनले जन्माएका कन्ट्र्याक्ट किलर 

काठमाडौं – कृषि विकास बैंक ठगी प्रकरणमा नेपाली सेनाका सहायक रथीको समेत संलग्नताको आशंका प्रहरीले गरेको छ । बैंकका कर्मचारीको मिलेमतोमा कृषि विकास बैंक लिमिटेड काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट ठगी गरिएको रकम नेपाली सेनाका सहायक रथीको खातामा भेटिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले घटना अनुसन्धानको क्रममा ठगी गरिएकोमध्ये करीब ७० लाख रुपैयाँ सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत सहायक रथी डा. रमेश बिष्टको बैंक खातामा जम्मा भएको देखिएको हो ।
अन्तरशाखा कारोबार हिसाब ‘क्लियरिङ’को रकम ‘पेण्डिङ’ भएको देखाई बैंकको रकम एकआपसमा मिलेमतो गरी बैंकलाई हानि नोक्सानी पु¥याएको आरोपमा ब्युरोले बैंक कर्मचारी सहित तीनजनालाई हिरासतमा लिएपछि सहायक रथीको समेत संल्गनता देखिएको हो।
बैंकको मौज्दात रकम करिब रू. ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न कृषि विकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दीपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रको जाहेरीको आधारमा ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट रेग्मीसहित ३ जनालाई पक्राउ गरेपछि उक्त रहस्यको पर्दाफास भएको हो ।
रेग्मीसहित पक्राउ परेका कृषि विकास बैंक न्यूरोड शाखामै कार्यरत उनका सहयोगी (अर्दली) रमेशकुमार थापा र दुर्गा ज्वेलर्स बालाजुका सञ्चालक प्रकाश घतानीलाइ बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उच्च अदालत पाटनबाट पाँच दिनको म्याद लिई अनुसन्धान शुरु गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
सीआईबी स्रोतका अनुसार पक्राउ परेकी रेग्मीले विभिन्न व्यक्ति वा संस्थाले विभिन्न बैंकको चेकमार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रिक चेक क्लियरेन्स (ईसीसी) मार्फत सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिइसकेपछि उक्त भुक्तानी गरेबापत ‘जेनेरेट’ गरेको रिपोर्टलाई इडिट गरी सोही चेकलाई प्रयोग गरी पुनः ईसीसीमार्फत कृषि विकास बैंकमा रहेको सहायक रथी बिष्टलगायत आफू निकटस्थहरुको खातामा जम्मा गर्ने गरेको र सो रकम सुनचाँदीलगायतका अन्य सामग्री किन्न प्रयोग गरेको अनुसन्धानमा खुल्न आएको छ । अभियुक्त रेग्मीले सहायक रथी डा. बिष्टलाई मामा भनेर सम्बोधन गर्ने गरेको र बिष्टले पनि उनलाई भाञ्जी भन्ने गरेको र उनीहरुबीच बाक्लो उठबस र सम्पर्क रहेको अनुसन्धानमा खुल्न आएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
बैंकिङ ठगीमा संलग्नता देखिएपछि सीआईबीको टोलीले बिष्टलाई गत हप्ता नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछको क्रममा उनी नेपाली सेनाको सहायक रथी रहेको खुल्न आएपछि सीआईबीले कागज गराएर उनलाई नियन्त्रणमुक्त गरेको थियो । फौजदारी कसुर कर्तव्यज्यान र जबरजस्ती करणीबाहेकका कसुरमा संलग्नताको आरोप लागेका नेपाली सेनाका कर्मचारीलाई सैनिक ऐन २०६३ अनुसार नेपाली सेनाले आफैँ कोर्टमार्शल गर्ने गर्दछ । सोही कारण सीआईबीले अनुसन्धानपश्चात् नेपाली सेनाको सैनिक प्रहरीलाई पत्र लेख्ने गरी नियन्त्रणमुक्त गरेको खुल्न आएको छ ।
बैंकिङ कसुरजस्तो अपराधमा सेनाका उच्च अधिकारीको संलग्नता देखिएपछि सीआइबीले उक्त घटना सम्बन्धमा गम्भीरताका साथ अनुसन्धान सुरु गरेको छ । ‘पक्राउ परेका अभियुक्तहरूको विवरण सार्वजनिक गरिसकेका छौं, अन्यको संलग्नताको विषयमा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ,’ सीआईबीका निर्देशक डीआईजी पुष्कर कार्कीले भने । उनले घटनाको बिस्तृत अनुसन्धान हुने बताउदैं आरोप पुष्टि भएमा पद, ओहदा र संस्थाको आधारमा बचाउ नहुने स्पष्ट पारे।
बैंककी सहायक टेलर रेग्मीको मुख्य योजनामा बैंकलाई हानिनोक्सानी भएको रू. ४ करोड ९१ लाख रुपैयाँमध्ये केही रकम प्रकाश घतानीको कृषि विकास बैंकको खातामा समेत जम्मा हुने गरेको र सोबापत प्रकाश घतानीले रेग्मीलाई सुनका गरगहना दिने गरेको अनुसन्धानमा खुल्न आएको छ। यस्तै कार्यालय सहयोगी (अर्दली) पदमा कार्यरत रमेशकुमार थापाले रेग्मीको सहयोगीको रुपमा काम गरेको खुल्न आएको सीआईबीले जनाएको छ ।

 

काठमाडौं–प्रहरीले कृषि बिकास बैंक लिमिटेडको मुख्य कार्यालयबाटै पाँच करोड रुपैयाँ घोटाला गरेको आरोपमा एकजना कर्मचारी सहित तीनजनालाई पक्रेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी) ले काठमाण्डौको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब मिलानगर्दा रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी दिपिका रेग्मी सहित तीनजनालाई पक्रेको हो।
ब्युरोका अनुसार अन्तर शाखा कारोबारमा हिसाब मिलान भएको रकम मौज्दात रहेको देखाएर बैंकबाट चार करोड ९१ लाख रुपैयाँ हिनामिना गरिएको हो । अनुसन्धानमा रकम घोटालागर्न बैंकका न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मिको मुख्य संलग्नता देखिएको छ ।
ब्युरोलाई नेपाल राष्ट्र बैंकले थप अनुसन्धानको जिम्मेबारी दिएपछि आर्थिक अपराध हेर्ने पिलर २ ले अनुसन्धान थालेको हो । ब्युरोका अनुसार पक्राउपर्नेमा रेग्मी सहित तेह्थुमका प्रकाश घतानी र दोलखाका रमेशकुमार थापा रहेका छन।
ब्युरोले पक्राउ तीनै जना बिरुद्ध उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

काठमाडाैं– अछाम जिल्लाको बान्नीगडी जयगढ गाउँपालिका वडा नं. ४ तिमिल्सेनमा सेनाको ट्रक दुर्घटना हुँदा १४ जना सैनिक घाईते भएका छन् ।
नेपाली सेनाका अधिृकत सहित जवानहरुलाई बोकेर बाजुराबाट दुर्गाबक्स गण अछामका लागि आउँदै गरेको लु १ ग २७८ नम्बरको ट्रक आज साँझ साँफेबगर–मंगलसेन सडक खण्ड अन्तरगत तिमिल्सेनको घुम्तिमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएका सबै १४ जनाको बयलपाटा अस्पताल अछाममा उपचार भैरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए। घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको समेत डिएसपी न्यौपानेले बताएका छन ।
उनका अनुसार बाजुराबाट निर्वाचनको काम सकेर अछाम फर्किन लागेका नेपाली सेनाका अधिृकत सहित जवानहरु ट्रकमा सवार थिए । ब्रेक फेल भएर ट्रक दुर्घटना भएको न्यौपानेले जानकारी दिए । उनका अनुसार घाईतेको परिचय खुलेको छैन । ट्रकमा सेनानी सह–सञ्जय भण्डारी नेतृत्वको टोलीका साथ उनि सहित ३३ जना सैनिक जवान सवार थिए ।

  • ५३ कारागार र २३ विमानस्थल सेना मातहत,
  • ३३ स्थानमा बम फेला,
  • ६४ हजार सैनिक निर्वाचन सुरक्षामा

 

काठमाडौं– नेपाली सेनाले दुई सातामा देशका ३३ स्थानमा राखिएका बम र बिस्फोटक पर्दाथ निश्क्रिय पारेको छ । सेनाले देशभर निर्वाचन र उम्मेदवार लक्षित बम तथा बिस्फोटक पर्दाथ निश्क्रिय पारेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा रहेका २३ वटा विमानस्थल आफ्नो जिम्मामा लिएको जनाएको छ । ती विमानस्थलमा खटिएका प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचनका लागि क्षेत्रमा खटाएर सुरक्षा जिम्मेबारी सेनाले आफु मातहत लिएको हो ।
निर्देशनालयका अनुसार देशभरका ५३ प्रमुख कारागारको सुरक्षा समेत सेनाले आफ्नो जिम्मामा लिएको छ । निर्वाचन अवधीभर कारागार सुरक्षा सेनाको मातहत रहने छ ।
सेनाले आसन्न प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली सेनाबाट ६४ हजार २० जना सैन्य फौज परिचालन गरेको छ ।
निर्वाचन सुरक्षामा खटिएको फौजले मतपत्र छपाई सुरक्षा, निर्वाचन सामाग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षा लगायत निर्वाचन सुरक्षाको लागि तेस्रो घेरामा रहि आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको छ ।

निर्देशनालयका अनुसार ब्यारेक बाहिर निस्किएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनको लागि आवश्यक मतपत्र छपाईमा सुरक्षा प्रदान गर्नुको साथै पहिलो चरणको निर्वाचनको लागि नेपाली सेनालाई तोकिएका स्थानहरुमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको छ । यस्तै दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरु मध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न भै सकेको सेनाले जनाएको हो।

 

बम कहाँ–कहाँ भेटिए

निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन आसन्न निर्वाचनमा सुरक्षाको तेस्रो घेराको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भए अनुसार संवेदनशीलतालाई दृष्टिगत गरी गुल्म तथा सैनिक मुख्यालय स्तरको बेश स्थापना गरी सुरक्षा प्रदान गर्ने कार्यमा नेपाली सेना खट्टिईरहेको छ ।
सोही क्रममा देशका विभिन्न भागमा शंकास्पद वस्तु तथा बमहरु फेला परेका घटनाहरुमा तदारुकताकासाथ सैनिक व्यक्तिहरु खट्टिई त्यस्ता शंकास्पद वस्तुहरुलाई सुरक्षितसाथ निस्क्रिय गर्ने कार्य समेत गरिरहेको छ ।
सोही क्रममा मिति २०७४ कार्तिक २२ गतेदेखि मिति २०७४ मंसिर ०८ गतेसम्म पाँचथर जिल्लाको फिदिम, फाकफोकथुम र हिलिहाङ्ग, जाजरकोट जिल्लाको चौरजहारी, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र बाह्रविसे, रोल्पा जिल्लाको भदौरे, रामेछाप जिल्लाको खाडाँदेवी, ओखलढुङ्गा जिल्लाको मोलुङ, लम्जुङ्ग जिल्लाको वेसिशहर, पर्वत जिल्लाको कुश्मा, धादिङ्ग जिल्लाको निलकण्ठ, गजुरी, गल्छी र घाटबेशी, बाग्लुङ्ग जिल्लाको बढीगाउँ र निशिखोला, अछाम जिल्लाको साँफेबगर, संखुवासभा जिल्लाको धर्मदेवी, रुपन्देही जिल्लाको बुटवल, रौतहट जिल्लाको गुजरा र कटानी, रसुवा जिल्लाको उत्तरगया, चितवन जिल्लाको भरतपुर, खोटाङ्ग जिल्लाको हलेसी, गोर्खा जिल्लाको गण्डकी र सिरानुचोक, नुवाकोट जिल्लाको शिवपुरी र विदुर, दाङ्ग जिल्लाको शान्तिनगर, कालिकोट जिल्लाको छाती, नवलपरासी जिल्लाको देवचुली एवं दोलखा जिल्लाको भिमेश्वर नगरपालिका गरी जम्मा ३३ स्थानहरुमा फेला परेका शंकास्पद वस्तु, बम तथा आई.ई.डी.हरु सुरक्षितसाथ डिस्पोज गरेको छ ।