इजरायलमा हमास आक्रमणले नेपाललाई पुगेको क्षतिको घाउ अझै पुरिएको छैन : एनपी साउद

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहले गरेको आक्रमणमा नेपाललाई पुगेको क्षतिको घाउ अझै पनि पुरिन बाँकी रहेको बताएका छन्।

हमास आक्रमणको एक वर्ष पुगेको दिनको सम्झनामा सोमबार इजरायली दूतावासले काठमाडौंमा आयोजना गरेको समारोहमा पूर्वमन्त्री साउदले यस्तो बताएका हुन्।

इजरायलमाथि हमासले गरेको आक्रमणमा परेर ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणकै दिन हमासले अपहरण गरी बन्धक बनाएका कञ्चनपुरका विद्यार्थी विपिन जोशी अझै पनि बेपत्ता रहेको प्रसंग उल्लेख गर्दै साउदले आक्रमणको घाउ पुरिन बाँकी रहेको बताएका हुन्।

२१ असोज ०८० मा इजरायलमा हमास समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। जोशीलाई भने हमास समूहले अपहरण गरी बन्धक बनाएको भिडियो इजरायली सेनाले सार्वजनिक गरेको भए पनि अझैसम्म पनि उनलाई फर्काउन सकिएको छैन।

आक्रमणमा १२ सयभन्दा बढी मानिसको ज्यान गएको थियो। आक्रमणमा परेर थुप्रै घाइते र अंगभंग भएका थिए। नेपाल सरकारले हमास आक्रमणको कडा शब्दमा भन्र्सना गरेको थियो । त्यसवेला साउद नै परराष्ट्रमन्त्री थिए। उनी आफैं इजरायल पुगेर नेपालीहरूलाई उद्धार गरी ल्याएका थिए।

‘यो भयावह घटनाको सामना गर्दै त्यतिवेला चुनौतीपूर्ण र पीडादायी अवस्थामा काम गर्नुपरेको थियो। इजरायल सरकारको सहयोगमा नेपाली नागरिकहरूको सुरक्षित उद्धार र मृतकको शव नेपाल ल्याउन सकियो,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘घाइते विद्यार्थीहरूको इजरायलमै उपचार भएको थियो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *