सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्र बनाउँछौं : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले सात वटै प्रदेशमा अटिजम भएका बालबालिकाहरुको लागि तालिम दिने केन्द्रहरु बनाउने तयारी गरिरहेको बताएका छन् ।

गर्भवती र सुत्केरी महिला आमाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अटिजमको समस्या भएका बालबालिकाहरु धेरै रहेकाले उनीहरुको लागि सात वटै प्रदेशमा तालिम दिने र सीप सिकाउने केन्द्रहरुको निर्माण गर्ने तयारीका लागि मन्त्रालयले समिति बनाउने पहल गरिरहेको बताए ।

उनले जन्मिएको शिशुलाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निस्कर्ष निकाल्ने स्थिति नेपालमा हुनुपर्ने बताए । उनले कुनै समस्या भए स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति निर्माण गर्न जरुरी रहेको बताए ।

बालबालिकाहरुमा उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरुको पहिचान गरेरे शुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्ने बताए ।

मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा थप सेवाहरु उपलब्ध गराउने, स्वास्थ्य क्षेत्रलाई पूर्णता दिने र सेवा प्रभावकारी बनाउने बारेमा गम्भीर रुपमा छलफल गरिरहेको बताए ।

मन्त्री पौडेलले नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने न्यु बर्न स्क्र्यानिङ टेस्टको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा सेवा शुभारम्भ गरे ।

यो जाँच गर्दा शिशुको कुरकुच्चामा प्रिक गरी थोरै मात्रामा रगत निकाले विशेष प्रकारको फिल्टर पेपरमा राखि मेसिनमा जाँच गरिन्छ । उक्त जाँचबाट मेटाबोलिक डिजेज पत्ता लगाउन सकिन्छ । मेटाबोलिक डिजेज एउटा वंशाणुगत रोग हो ।

जसले गर्दा बच्चा जन्मिदा सामान्य देखिए पनि केही दिनपछि शिशुमा समस्याहरु देखापर्दै जाने र अन्त्यमा मृत्यु हने भएकाले समयमा नै परीक्षण गराइ रोगको पहिचान गर्नसके मृत्युबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् ।

परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा २०७८ साल मंसिरदेखि २०७९ साल वैशाखसम्म (६ महिना) ८ सय नवजात शिशुहरुमा गरिएको सर्वेक्षणमा १३ जना शिशुहरुमा विभिन्न किसिमको वंशाणुगत रोगहरु देखिएको निर्देशक अधिकारीले बताए ।

२०८१ साउनदेखि अस्पतालमा हालसम्म २०५ जना शिशुहरुको परीक्षण गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर