सरकारले विमान परिचारक/परिचारिकाको उमेर हद ५० वर्ष पुर्‍यायो

सरकारले विमान परिचारक/परिचारिकाको ४५ वर्षे उमेर हदलाई ५० वर्ष पुर्याउने भएको छ ।

शनिवार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रु सदस्यहरूसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरहरूले आफूहरूमाथि भेदभाव भएको, आफूहरूलाई विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरूको सुनुवाइ नभएको विषय राखेकोमा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए ।

उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको बताए । उनले नेपालका सन्दर्भमा अहिले औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेर हद ५० वर्ष पुर्याउँदा फाइदा हुने बताए ।

मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारक/परिचारिकाहरू आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिविद्धतासहित फर्किनुभएको मन्त्री पाण्डेले बताए ।

उनले भने ‘क्याबिन क्रु मेम्बरहरूले आफूहरूमाथि भेदभाव भएको, आफूहरूलाई विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरूको सुनुवाइ नभएको विषय राख्नुभएको थियो । उमेर हद ४५ वर्ष कायम गरिएको छ विनियमावलीमा । त्यसले मर्कामा परेको, त्यसपछि के गर्ने भन्ने समस्यामा परेको भन्नेकुरा राख्नुभयो । आजबाट हामीले केही कुरा सम्बोधन गर्ने भन्ने निष्कर्षमा पुगेर निगमलाई यो बाटो जानुस् भनेका छौँ । अदालतमा उहाँहरूको मुद्दाका विषयमा केही अन्तरिम आदेशहरू आएका छन्, त्यसको स्पष्टताका लागि उहाँहरूको भनाइ एउटा छ, निगमको भनाइ एउटा छ, स्पष्टताका लागि मन्त्रालय हुँदै महान्यायाधिवक्ता कार्यालयसँग राय लिने । ४५ वर्षको उमेर हदलाई ५० वर्ष पुर्याउने कुरामा कुनै समस्या हुँदैन, किनभने नेपालका सन्दर्भमा हाम्रो औसत आयु पनि बढेको अवस्था छ । उहाँहरुले विभिन्न अनुभव र तालिम गर्नुभएको हुन्छ, निगममा निगमका विभिन्न तालिमका माध्यमबाट लगानी ठूलो भइसकेको हुन्छ । ५ वर्ष अनुभवी एयरहोस्टेजले सेवा दिँदा देशलाई, निगमलाई राम्रै गर्छ भन्ने निष्कर्ष छ । ४५ को उमेरहदलाई ५० मा पुर्याउने निष्कर्षमा पुगेका छौँ । त्यो गर्नुस् भनेर निगमको व्यवस्थापनलाई भनेका छौँ । सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने र काममा फर्किने जनाउनुभएको छ ।’

क्याबिन क्रुको हड्तालका कारण नेपाल वायुसेवा निगमको शुक्रवार राति साढे ११ बजेको काठमाडौं–दुबई उडान रद्ध भएको थियो । जसकारण ३ सय २८ यात्रु अलपत्र परेका थिए । निगममा कार्यरत परिचारिका÷परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी २०८० पुसमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर