भारतको हरियाणामा विधानसभा चुनावका लागि आज मतदान हुँदै

भारतको हरियाणामा विधानसभा चुनावका लागि आज मतदान भइरहेको छ । राज्यका ९० सिटमा २.०३ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न लागेको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ ।

राज्यभर कुल १०३१ उम्मेदवार चुनावी मैदानमा छन् । आजको यस चुनावको नतिजा जम्मू कश्मीर विधान सभाको नतिजासँगै अक्टोबर ८ मा आउनेछ । हरियाणाको ९० विधानसभा सीटका लागि एकै चरणमा मतदान भइरहेको छ ।

हरियाणा विधानसभा चुनावमा २.०३ करोड भन्दा बढी मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन् । २.०३ करोड मतदातामध्ये १.०७ करोडभन्दा बढी पुरुष मतदाता छन्, जबकि ९५ लाखभन्दा बढी महिला र ४६७ तेस्रोलिङ्गी छन् । यहाँ ५.२४ लाख युवा मतदाता छन्, जसको उमेर १८ देखि १९ वर्षको बीचमा छ ।

प्रदेशमा कुल १ लाख ४९ हजार अपाङ्गता भएका मतदाता छन्, जसमध्ये ९३.५ हजार पुरुष, ५५.५ हजार महिला र छ जना तेस्रोलिङ्गी छन् । ८५ वर्षभन्दा माथिका २.३१ लाख मतदाता छन्, जसमा ८९.९ हजार पुरुष र १ लाख ४१ हजार महिला छन् ।

यसबाहेक १०० वर्षभन्दा माथिका ८ हजार ८२१ मतदाता छन्, जसमा ३ हजार २८३ पुरुष र ५ हजार ५३८ महिला छन्। सेवा मतदाताको कूल संख्या १.०९ लाख छ, जसमा १.०४ लाख पुरुष र ४ हजार ७९१ महिला छन् ।

यसपटकको चुनावमा हरियाणामा कुल २० हजार ६२९ मतदान केन्द्र बनाइएको छ । एउटा मतदान केन्द्रमा औसतमा ९७७ मतदाताले मतदान गर्न सक्ने बताइएको छ । त्यस्तै १२५ मतदान केन्द्रको जिम्मेवारी पूर्ण रुपमा महिला कर्मचारीलाई दिइएको छ । त्यसैगरी ९२ मतदान केन्द्र सञ्चालनको जिम्मेवारी अपाङ्गता भएकालाई दिइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *