गाउँमै डेरा खोज्दै बाढीपहिरोपीडित

सहकारीबाट लिएको ऋणले अटो चलाएर पाँच जनाको परिवारको लालनपालन गर्ने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ का कान्छा खत्रीको घर बाढीले पल्टाएको छ । उनी अटो पनि बगाएपछि पनौती बजार सरेर परिवार पाल्न कोठा खोजी रहेका छन् । असोज ११ गते आफ्नो एक तलाको पक्की घर र गरी खाने अटो पुरिएपछि खत्रीलाई दैनिकी धान्नै समस्या भइरहेको छ ।

उनले असह्य पीडा व्यक्त गर्दै भने, बाढीले पल्टाएको घर अब कहिले बन्ला र १ कति दिनसम्म स्कुलमा बस्नु आफन्तसँग सरसापट गरेको पैसाले केही सामान किनेर डेरा खोज्न लागेका हौँ । स्थानीयवासी नवराज केसी पनि साढे दुई तलाको घर बाढीले भत्काएपछि पनौतीमा डेरा खोज्ने सुरसारमा छन् । उनले भने, खोलाको बिचमा बस्न सकिँदैन । खोपासीतिर पुगेर कोठा खोज्दै छु ।

उनले असोज ११ गतेको बाढी आउँदा आफूसँग भएको एकसरो लुगाबाहेक सबै घरसँगै पुरिएको बताए । उनले बाढी पहिरोपीडित बनेर आफ्नै गाउँमा डेरा खोज्नुपर्ने दिन आएको भन्दै पीडा व्यक्त गरे । उनका अनुसार सडक र खोलाको सबै मापदण्ड छाडेर निर्माण गरेको घर पनि बाढीले पल्टाइदिएको छ ।

असोज ११ यता पनौती–१२, भूमिडाँडाका ४० घर परिवार डेरा खोजेर पनौती बजारमा सरिसकेका छन् । वडासचिव लालबहादुर तामाङका अनुसार केहीको घर पनौती बजारमा रहेको र आफन्तकामा गएर बस्न ४० घरपरिवार स्थानान्तरण भएका छन् ।

रोसीमा आएको बाढीपछि स्थानीय विद्यालयमा बसेका बाढीपहिरोपीडितले सधैँ त्यहाँ बस्न सम्भव नभएको बताउँदै डेरा खोज्न थालेका छन् । प्रारम्भिक तथ्याङ्क अनुसार पनौतीमा मात्रै एक हजार घर बाढी र पहिरोले बस्न अयोग्य भएपछि त्यहाँका स्थानीय विद्यालय र सामुदायिक भवनमा आश्रय लिइरहेका छन् । आफ्नै गाउँमा बाढीपहिरोपीडित भएर डेरा खोज्नु पर्ला भन्ने उनीहरूले सपनामा पनि सोचेका थिएनन् । केही दिनअघिसम्म आफ्नै घर भाडामा लगाएका उनीहरू अहिले डेरा खोज्दै भौँतारिरहेका छन् । गोरखापत्र दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *