कसैले तर्साउन खोजेर हामी तर्सिनेवाला छैनौँ : बार अध्यक्ष घिमिरे

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने बताएका छन् ।

मंगलवार बार परिसरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । उनले सर्वोच्च न्यायपरिषद्ले गरेका कामहरूलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाएर जान नहुने भन्दै अपहेलना मुद्दाको विषय नै नभएका जिकिर गरे ।

उनले न्याय परिषद्ले सोमवार आफूबिरुद्ध खेद प्रस्ताव पास गरेको भन्दै न्याय परिषद् गैर संवैधानिक काम गर्ने र बारलाई खेद प्रकट गर्ने काम भएको बताए । उनले आफू विरुद्ध दर्ता भएको अपहेलनाको मुद्दा लड्ने बताए । उनले अपहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न पनि चेतावनी दिए ।

उनले भने ‘न्याय परिषद्ले हिजो मेरा बिरुद्ध खेद प्रस्ताव पास गरेको रहेछ । उहाँहरू गैरसंवैधानिक काम गर्ने, खेद जति हामीले खाने भएको रहेछ । आज नेपाल बार एशोसिएशनको विरुद्ध सर्वोच्च अदालतमा एउटा अपहेलना मुद्दा दर्ता भएको हामीले हे¥यौँ । यो मुद्दा हामी फेस गर्छौँ । नेपाल बार यो मुद्दा फेस गर्छ । यो मेरो मात्रै मुद्दा होइन, कानुन व्यवसायीको प्रतिष्ठासँग जोडिएको विषय हो । कसैले तर्साउन खोजेर हामी तर्सिनेवाला छैनौँ । यो अपहेलनाको मुद्दा बन्ने विषय नै थिएन । यो अदालतको विषय नै होइन । न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय मान्नु हुँदैन । यसरी हामी संवैधानिक निकायहरूको बीचमा बोल्नै नपाउने हुन थाल्यौँ भने त यो घुमाउरो पारोले हाम्रो अधिकारबाट कुण्ठित गर्ने प्रपञ्च हुँदैछ ।’

उनले संवैधानिक निकायहरूको बीचमा बोल्नै नपाउने कुराले अधिकारबाट कुण्ठित गर्ने प्रपञ्च चलिरहेको अनुमान गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *