सरकारले खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताएका हुन् । त्यसपछि राहत वितरण, घाइतेहरूको उपचार र अवरुद्ध भएका सडक सञ्जालहरू सुचारु गर्नका लागि सरकार क्रियाशील भइरहेको उनले बताए ।

उनले विभिन्न सडक मार्गमा अलपत्र परेका यात्रुहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी गराए । बिरामीहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको उनले बताए । त्यस्तै सडक सञ्जाल मर्मतको काम पनि सबै अवरुद्ध भएका ठाउँहरूमा चलिरहेको उनले उल्लेख गरे । गृहमन्त्री लेखकले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरूलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भएपनि सम्भव नभएको प्रस्ट्याए ।

नख्खु बाढीमा टिनको छानामाथि बसेर गुहार मागिरहेका नागरिकहरूलाई समयमै उद्धार गर्न नसक्दा उनीहरु बगेका थिए । सो कुराको सांसदहरूले आलोचना गरेसँगै उनले त्यहाँ उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेको भएपनि प्रतिकुल मौसमका कारण उद्धार सम्भव नभएको बताए ।

उनले भने – ‘नख्खुमा सरकारको उपस्थिति भएन, सरकार पुग्नै सकेन । सरकारले हेर्नै सकेन भन्ने होइन । हामीले प्रयत्न गरेको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि त्यहाँ गएको छ । प्रहरीले उहाँहरूलाई उद्धार गर्ने प्रयत्न गरेको छ । हेलिकप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो । प्रतिकुल मौसमका कारणले भएन । प्रयत्न गर्दागर्दै पनि उहाँहरू बग्नुभयो । ३ जनाको उद्धार भयो । २ जना बेपत्ता भएको अवस्था छ । सरकारको उपस्थिति नभएको, जाँदै नगएको, हेर्दै नहेरेको होइन । कोसिस गरेको हो । मृतकको परिवारलाई गृह मन्त्रालयले घोषणा गरे अनुरूपको दुई लाख रुपैयाँ ललितपुर जिल्लाले त आजै दिन सक्ने भनेको छ । आवश्यकता भएको जिल्ला व्यवस्थापन समितिहरूमा प्राधिकरणबाट आवश्यक रकम पठाइएको छ । यदि राहतका लागि रकमको अभाव भयो भने तत्काल रकम उपलब्ध गराइने कुरा सबैलाई जानकारी गराइएको छ । त्यसको सुनिश्चितता गरिएको छ । हामी अहिले खोज, उद्धार, राहत, बिरामीहरूको उपचार, घाइतेहरूको उपचार र सडक आवागमनलाई सुचारु गर्ने विषयमा केन्द्रित भएका छौँ । र त्यसमा लाग्छौँ । यसपछि विस्तृत क्षतिको जानकारी लिएर पुर्ननिर्माणका कामहरु, अरु पनि धेरै कामहरु गर्नेछौँ ती कामहरु गर्नेछौँ ।’

गृहमन्त्री लेखकले विपद्मा परी हालसम्म २१८ जनाको मृत्यु भएको जानकारी गराए । त्यसैगरी १४३ जना घाइते र २७ जना बेपत्ता भएको उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्वयंसेवकहरूले ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर